मोदीले एकैदिन ११ वटा नयाँ मेडिकल कलेजको उद्घाटन गर्दै

मोदीले एकैदिन ११ वटा नयाँ मेडिकल कलेजको उद्घाटन गर्दै

नयाँ दिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकैदिन ११ वटा नयाँ सरकारी मेडिकल कलेज उद्घाटन गर्ने भएका छन्। मोदीले भिडियो सम्मेलनमार्फत् आगामी बुधबार तामिलनाडुमा सो संख्यामा नयाँ सरकारी मेडिकल कलेज उद्घाटन गर्ने भएका हुन्।

हिन्दूस्तान टाइम्सकाअनुसार विद्यार्थीहरुलाई सस्तो र सुलभ मेडिकल शिक्षा उपलब्ध गराउने उद्देश्यले प्रधानमन्त्री मोदीले तामिलनाडु राज्यका विभिन्न स्थानमा नयाँ मेडिकल कलेज उद्घाटन गर्न लागेका हुन्। प्रत्येक कलेजहरु क्रिब १४५० सिट क्षमताका हुने बताइएको छ।

नयाँ कलेजहरु तमिलनाडुको विरुद्धानगर, नामक्क, दी निल्गिरि, तिरुपुर, थिरुभाल्लुर, नागापट्टिनाम, दिनदिगु, कल्लाकुरिची, एरियालुर, रामानाथापुरम र क्रिष्नगिरि क्षेत्रमा नयाँ मेडिकल कलेज स्थापना हुने बताइएको छ।

अमेरिकाले पुटिनलाई भन्यो, ‘विरोध र वार्तामध्ये एउटा बाटो रोज्नु’

वासिङ्टनः संयुक्त राज्य अमेरिकाले रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनलाई दुईमध्ये एउटा बाटो रोज्नुपर्ने बताएको छ। अमेरिकाले युक्रेनको सम्बन्धमा पुटिनलाई टकराव अर्थात् विरोध र वार्तामध्ये एउटा बाटो रोज्नुपर्ने बताएको हो।

रुसी उप विदेशमन्त्री सेर्गेई र्याब्कोभ र वरिष्ठ अमेरिकी कूटनीतिज्ञ र सैन्य अधिकारीहरुबीच आइतबार राती स्विजरल्याण्डको जेनेभामा कूटनीतिक डिनर कार्यक्रम आयोजना गरिएको थियो। सो कार्यक्रममा रुसी पक्षमार्फत् अमेरिकाले पुटिनलाई सो विकल्प दिएको गार्जियनमा खबर छ। रुसी पक्षको मागअनुसार सोमबारको वार्ता आह्वान गरिएको बताइएको छ।

अमेरिकाले दिएको विकल्प कठिन र विजनेस सम्झौताजस्तो भएको सेर्गेइले बताएका छन्। अमेरिकी विदेश सचिव एन्टोनी ब्लिंकनका अनुसार रुसले युक्रेन नजिकै आफ्नो सीमा क्षेत्रमा करिब १ लाख सैन्य फौज खडा गरेको छ। यसबारे रुसी राष्ट्रपति पुटिनले सत्य बोल्नुपर्ने र टकराव र वार्तामध्ये एउटा बाटो अंगाल्नुपर्ने ब्लिंकनले बताएका छन्।

पाकिस्तानमा हिउँ खेल्न गएका पर्यटकहरुको मृत्युबारे छानबिन समिति गठन

कराचीः हिउँ खेल्न गएका पर्यटकहरुको मृत्युबारे अनुसन्धानका गर्न पाकिस्तान सरकारले छानविन समिति गठन गरेको छ। मृत्युको कारणबारे अनुसन्धानका लागि पाकिस्तानको प्रान्तीय पञ्जाब सरकारले पाँच सदस्यी छानबिन समिति गठन गरेको हो।

शुक्रबार राति उत्तरी हिमाली क्षेत्र मुरीमा हिउँ खेल्न गएका करिब २१ पर्यटकको हिमआँधीमा परी मृत्यु भएको थियो। भारी हिमपातका कारण सो क्षेत्रमा हिउँ खेल्न गएका अन्य सयौ आन्तरिक पर्यटक हिउँमा फसेका थिए। हिमपातका कारण हजारौं सवारीसाधन सो क्षेत्रमा अलपत्र परेका थिए।

हिमपातबारे पूर्व सूचना नदिएका कारण र अर्थात् पर्यटकहरु स्वयम्कै गल्तीका कारण उनीहरुको मृत्यु भएको हुनसक्ने भन्दै अनुसन्धान अघि बढाइने पञ्जाब सरकारले जनाएको छ।

काजकिस्तान सुरक्षा बलद्वारा ८ हजार मानिस पक्राउ

नुर सुल्तानः काजकिस्तानको सुरक्षा बलले करिब ८ हजार मानिस पक्राउ गरेको छ। गत हप्ताको हिंसात्मक प्रदर्शनपछि सुरक्षा बलले सोमबारसम्म करिब ८ हजार मानिस पक्राउ गरेको हो।

काजकिस्तानको आन्तरिक मामला मन्त्रालयले सो जानकारी दिएको हो। तेलको धनी मानिने मध्ये एसियाली मुलुक काजकिस्तानमा गत हप्ता प्रदर्शन चर्केको थियो।

इन्धनको मूल्य वृद्धिविरुद्ध सरकारको विरोधमा प्रदर्शनकारीहरुले विभिन्न सहर कब्जा गरी त्यहाँका सरकारी कार्यालय र अन्य सवारी साधनमा आगजनी गरेपछि प्रदर्शन हिंसामा परिणत भएको थियो। रुसी र स्थानीय मिडियाका अनुसार सो प्रदर्शनमा सुरक्षाकर्मी, प्रहरी र प्रदर्शनकारी गरी १६४ जनाले ज्यान गुमाएका थिए भने अन्य हजारौं मानिस घाइते भएका थिए।

करिब एक सातासम्म अशान्त बनेको काजकिस्तानमा रुसी शान्ति सेना खटाइएको थियो। एक हप्तालामो हिंसात्मक प्रदर्शनपछि त्यहाँको अवस्था सामान्य बनेको बताइएको छ।

ऋण घटाइ दिन चीनलाई श्रीलंकाको अपिल

कोलम्बोः श्रीलंका सरकारले ऋण घटाइदिन चीनसमक्ष अपिल गरेको छ। पछिल्लो समय चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले चीनसमक्ष ऋण भार घटाइदिन अपिल गरेको हो।

बेल्ट एण्ड रोड पहलबारे छलफल गर्न आइतबार चिनियाँ विदेशमन्त्री वाङ यीको श्रीलंका भ्रमण गरेका थिए। सो भ्रमणको क्रममा वाङले श्रीलंकाका राष्ट्रपति गोतावे राजापाक्ष र त्यहाँका प्रधानमन्त्रीलगायत विभिन्न अधिकारीहरुसँग भेटवार्ता गरेका थिए।

सो भेटको क्रममा श्रीलंकन राष्ट्रपति राजापाक्षले विदेशमन्त्री वाङसमक्ष ऋण घटाइदिन हुन अपिल गरेका हुन्। ‘देशमा आर्थिक संकट चलिरहेको बेला यदि चीनले ऋण घटाइदिएमा हाम्रा लागि ठूलो राहत हुनेछ,’ श्रीलंकन राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

चीन श्रीलंकाको सबैभन्दा ठूलो दुई पक्षीय ऋणदाता मुलुक हो। अन्तर्राष्ट्रिय एजेन्सीहरुले राजापाक्षेको सरकार अझै ठूलो ऋणमा डुब्नसक्ने चेतावनी दिएपछि विदेशमन्त्री वाङ श्रीलंका पुगेको बताइएको छ। यद्यपि सो सम्बन्धमा राजधानी कोलम्बोस्थित चिनियाँ दूतावासले भने कुनै पनि प्रतिक्रिया नजनाएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। पर्यटकीय क्षेत्रको आम्दानीमा निर्भर श्रीलंकामा कोभिड-१९ महामारीका कारण पछिल्लो समय चरम आर्थिक संकट छाइरहेको छ।

युगान्डामा झन्डै २ वर्षपछि विद्यालयहरु पुन सञ्चालनमा

काम्पालाः युगान्डाका विद्यालयहरु झन्डै दुई वर्षपछि पुनः सञ्चालनमा आएका छन्। संसारमा सबैभन्दा लामो समयसम्म विद्यालय बन्द राखेको युगान्डाका विद्यालयहरु सोमबारदेखि पुनः सञ्चालनमा आएका हुन्।

कोभिड-१९ को मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा ल्याइएको र त्यहाँका लाखौं बालबालिकाहरुलाई विद्यालय फर्किन निर्देशन दिइएको त्यहाँका शिक्षा मन्त्री जोन मुयीङगोले बताएका छन्।

संसारमा कोभिड-१९ महामारी सुरु भएलगत्तै अर्थात् सन् २०२० मार्चदेखि युगान्डाका विद्यालयहरु बन्द भएका थिए। जसका कारण त्यहाँका १ करोड ५० लाख बालबालिका दुई वर्षसम्म पढाईबाट वञ्चित रहेको बताइएको छ।

युगान्डामा कोभिड-१९ का कारण ३ हजार ४ सय मानिसले ज्यान गुमाएका छन् भने हालसम्म करिब १ लाख ५४ हजार मानिस संक्रमित भएका छन्।

जापानमा कोरोना संक्रमणदर घट्यो

टोक्योः जापानको राजधानी टोक्योमा पहिलो पटक कोभिड-१९ को नयाँ संक्रमणदर घटेको छ। सोमबार दुई दिनमा १ हजारको दरले नयाँ संक्रमणदर घटेको हो।

त्यहाँको महानगरपालिका सरकारका अनुसार विगत दुई दिनको तुलनामा सोमबार नयाँ संक्रमितको संख्या घटेको छ। विगत २४ घण्टामा त्यहाँ ८ सय नयाँ संक्रमित मात्र फेला परेको महानगरपालिकाले जनाएको छ। केभिड-१९ विरुद्ध कडा प्रतिबन्धलगायतका कारण संक्रमणदर घटेको महानगरपालिकाले जनाएको छ।

शरणार्थी शिविरमा आगलागी, सयौ घर जलेर नष्ट

कोक्स बजारः बंगलादेशको शरणार्थी शिविरमा आगलागी भएको छ। कोक्स बजारस्थित रोहिङ्ग्या शरणार्थी शिविरमा आइतबार साँझ आगलागी भएको हो। आगलागीमा परी एक सयभन्दा बढी घरहरु जलेर नष्ट भएको त्यहाँका अधिकारी र प्रत्यक्षदर्शीहरुले बताएका छन्।

आगलागीको कारण पत्ता नलागेको र आगलागीबाट भएको अन्य क्षतिको विवरण भने प्राप्त नभएको  अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। अग्नियत्रन्त्रकहरुले सो आगलागी नियन्त्रणमा ल्याएको बंगलादेशका सरकारी अधिकारी मोहम्मद शाम्सिद दौजाले बताएका छन्। सो शिविरमा १ लाखभन्दा बढी रोहिङ्ग्या शरणर्थीहरु बसोबास गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.