बस्ती छिर्दै वन्यजन्तु

बस्ती छिर्दै वन्यजन्तु

गुलरिया : एक साताअघि जंगली हात्तीको आक्रमणबाट ५४ वर्षीया भुसिया थारूले ज्यान गुमाइन्। राजापुर नगरपालिका–९ की थारू नेपाल–भारत सीमा नजिकै बाख्रा चराउन गएका बेला जंगली हात्तीको आक्रमणमा परेकी हुन्। राजापुर क्षेत्रमा जंगली हात्ती, बाघलगायतको त्रास पनि उक्तिकै छ।

बर्दिया राष्ट्रिय निकुञ्जको संवेदनशील क्षेत्र बघौरा फाँटामा ठाकुरबाबा नगरपालिका–७ की ६२ वर्षीया डल्ली रावत निउरो टिप्न गएकी थिइन्। उनलाई गत चैत पहिलो साता पाटे बाघले झम्टियो। 

उनीसँगै गएका साथीहरूले नेपाली सेनालाई खबर गरेपछि तत्कालै खोजी गर्दा बाघले खाएको अवस्थामा शव भेटिएको थियो।

बर्दिया राष्ट्रिय निकुञ्जमा भेटिएका गैंडा ।  तस्बिर सौजन्य : राष्ट्रिय प्राकृतिक संरक्षण कोष बर्दिया

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वन्यजन्तुबाट ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ राहत दिने प्रावधान छ। तर, डल्ली रावतका परिवारले अहिलेसम्म राहत पाउन सकेको छैन। ‘निकुञ्जले वन्यजन्तुबाट ज्यान गुमाउनेका सबै परिवारलाई राहत दिएको छ। तर, रावत निकुञ्जको निषेधित क्षेत्रमा निउरो टिप्न गएको भन्दै उनका परिवारले राहत पाएनन्’, हात्ती आक्रमणमा बाबु गुमाएका ठाकुरबाबा नगरपालिका–९ निवासी हेमन्त आचार्यले भने। उनी चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष पनि हुन्।

रावत निकुञ्जको निषेधित क्षेत्रमा प्रवेश गरेकाले उनको परिवारलाई राहत दिन कठिन भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए। ‘बघौरा फाँटा निकुञ्जको संवेदनशील निषेधित क्षेत्र भएकाले निकुञ्ज ऐन तथा राहत सहयोग निर्देशिका अनुसार राहत दिन नमिलेको हो’, श्रेष्ठले भने। यसैगरी सीमापारी भएका आक्रमणबाट ज्यान गुमाउनेहरूका लागि पनि ऐन र निर्देशिकाले राहतको अनुमति दिँदैन। ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र राहत सहयोग निर्देशिका २०६९ अनुसार कुनै पनि वन्यजन्तुको आक्रमणमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई एकमुष्ठ १० लाख रुपैयाँ राहत सहयोग उपलब्ध गराइने प्रावधान छ। तर, अहिलेसम्म रावतका परिवार बाहेक राहत पाएनौं भनेर कोही पनि हामीकहाँ आएका छैनन्’, श्रेष्ठ भन्छन्। निर्देशिकाको मापदण्डअनुसार नै आफूहरूले राहत वितरण गर्दै आएको उनले बताए। मध्यवर्ती क्षेत्रका स्थानीयको हकमा ५० हजार रुपैयाँ थप राहत दिने व्यवस्था छ। ‘वन्यजन्तुको आक्रमणमा ज्यान गुमाएका व्यक्तिका एकल महिलालाई मासिक १५ सय रुपैयाँ भत्ता हामीले उपलब्ध गराउँदै आएका छौं’, श्रेष्ठले भने,  ‘बर्दियामा २८ एकल महिलाले मासिक रूपमा भत्ता लिँदै आएका छन्।’ निकुञ्जले एकल महिला कोष खडा गरेर जीविकोपार्जनका लागि सहुलियतपूर्ण ऋणसमेत उपलब्ध गराउँदै आएको छ।

बर्दियामा मानिसहरू जंगल पसेकै बेलामा वन्यजन्तुको आक्रमणमा पर्ने गरेको तथ्यांकहरू रहेको श्रेष्ठले जानकारी दिए। उनका अनुसार गत वर्ष बाघको आक्रमणबाट बर्दियामा १२ जनाले ज्यान गुमाएका थिए। जंगलभित्र गाईभैंसी, बाख्रा चराउन र प्राकृतिक स्रोत संकलनका लागि जंगल पस्दा वन्यजन्तुसँग जम्काभेट हुने गरेको संरक्षण अधिकृत श्रेष्ठ बताउँछन्। वन्यजन्तुले मानवीय मात्र होइन, खेतीपातीलगायत धनजनमा पनि क्षति पुर्‍याउने गरेको छ। यसबाहेक कहिलेकाहीँ राजमार्गमा भएका जम्काभेटले दुर्घटना निम्त्याउने गरेको छ।

झापाको बिर्तामोड बजारमा केही वर्षअघि देखिएको हात्ती । तस्बिर : सुब्रत न्यौपाने

जलवायु परिवर्तनको असर जैविक विविधतामा 

वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत कृष्णसार जलवायु परिवर्तनको चपेटामा परेको छ। पोथी कृष्णसारको सिङ हुँदैन। जलवायु परिवर्तनको असरले कुनै–कुनै पोथी कृष्णसारको सिङ पलाएको पाइएको छ। कृष्णसार संरक्षण क्षेत्रमा बाढीको डर छैन। तर, जलवायु परिवर्तनका असरले केही वर्षयता खैरापुरस्थित संरक्षण क्षेत्रमा बाढी आउने समस्या पनि बढेको छ। 

जलवायु परिवर्तनको असरले वनस्पतीय विविधतामा मात्र होइन, वन्यजन्तुको प्रजातिमाथि नै असर पर्न थालेको छ। त्यसैले यस विषयमा समयमै सचेत हुनुपर्ने एनटीएनसी बर्दियाका संरक्षण अधिकृत रविन कडरियाले बताए।

उनका अनुसार बाघलगायतका मांसहारी वन्यजन्तुको आहार प्रजातिहरूको पनि लोप हुने खतरा छ। पाटेबाघका ९ उप–प्रजातिमध्ये ३ वटा प्रजातिहरू संसारबाटै लोप भइसकेका छन्। चरण क्षेत्रमा मिचाह प्रजातिको जनावरको घनत्व बढेकाले हात्तीलगायतका शाकाहारी वन्यजन्तुहरू जंगल छाडेर बस्तीमा जान थालेका छन्। यसले मानव र वन्यजन्तुबीचको द्वन्द्व बढेको छ। 

यसैगरी जलवायु परिवर्तनका कारण नदीको मुहान सुक्न थालेको छ। कर्णाली नदीमा हिउँदका बेला जलस्तर घट्दा वन्यजन्तुले पानीको अभाव खेप्नुपर्ने बाध्यता छ। प्राकृतिक पोखरीहरू सुकेका कारण हात्ती, गैंडालगायतका वन्यजन्तुहरू पानीको अभावमा भड्किने गर्छन्। ‘तराईमा पाइने पाटेबाघहरू चुरे क्षेत्रमा पनि देखिनु जलवायु परिवर्तनकै असर मान्न सकिन्छ’, संरक्षण अधिकृत कडरिया भन्छन्। 

आक्रामक बन्दै हात्ती
बर्दिया राष्ट्रिय निकुञ्ज तथा आसपासका मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरूमा ज्यान गुमाउनेहरूको संख्या धेरै छ। त्यस्तै पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारी साधन दुर्घटनाबाट वन्यजन्तुहरू मारिने क्रम पनि उत्तिकै छ। निकुञ्जको तथ्यांकअनुसार ०५६ सालदेखि ०७८ पुस २० गतेसम्मको अवधिमा ७६ जनाले विभिन्न वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएका छन्। वन्यजन्तुको आक्रमणबाट २ सय १४ जना घाइते भएका छन्। वन्यजन्तुहरूमा बढी आक्रामक हात्ती नै देखिन्छ। २२ वर्षको अवधिमा हात्तीको आक्रमणबाट ४५ जनाको मृत्यु भएको र १ सय २० जना घाइते भएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए। गत वर्ष हात्तीको आक्रमणमा परी ४ जनाले ज्यान गुमाएका थिए। पाटेबाघको आक्रमणमा परी सोही अवधिमा २२ जनाले ज्यान गुमाएका छन् भने १९ जना घाइते भएका छन्। बाघको आक्रमणमा गत वर्ष १२ जनाले ज्यान गुमाएका छन्। यस्तै गैंडाको आक्रमणबाट ५ जनाको मृत्यु भएको छ। २८ जना घाइते भएका छन्। चितुवाले ३ जनाको ज्यान लिएको छ भने १४ जना घाइते भएका छन्। अन्य जनावरको आक्रमणमा एक जनाको मृत्यु र ३३ जना घाइते भएको तथ्यांक निकुञ्जसँग छ। पछिल्लो तीन वर्षको अवधिमा मात्र वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ छ।

बर्दिया राष्ट्रिय निकुञ्जमा भेटिएका बाघ । तस्बिर सौजन्य : राष्ट्रिय प्राकृतिक संरक्षण कोष बर्दिया 

वन्यजन्तुले मानिसमाथि आक्रमण गर्ने समस्या त छँदैछ। मानिसबाट वन्यजन्तु मारिने क्रम पनि बढ्दो छ। पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्गलगायतका सडक खण्डमा गुड्ने सवारी साधनमा ठोक्किएर पछिल्लो तीन वर्षको अवधिमा १ सय १० वन्यजन्तु मारिएको श्रेष्ठले जानकारी दिए। आर्थिक वर्ष ०७५/७६ मा २७, ०७६/७७ मा ३५ र ०७७/७८ मा ४८ वन्यजन्तुहरूले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। राजमार्गमा वन्यजन्तु मारिने क्रम बढेपछि दुर्घटना रोक्न निकुञ्जले टाइम कार्ड लागू गरेको छ। तर, यसले पनि वन्यजन्तु मारिने क्रम रोकिएको छैन। राजमार्ग क्षेत्रका सडकमा भौतिक संरचना परिवर्तन गर्न सकेमात्र वन्यजन्तुमाथि हुने सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने अधिकृत श्रेष्ठले बताए।

राजमार्गमा बाघको संख्या एकिन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रममार्फत अटोमेटिक क्यामेरा जडान गरी अनुसन्धान गरिएको एनटीएनसीका संरक्षण अधिकृत रविन कडरियाले बताए। ‘हामीले सडकमा वन्यजन्तुको अनुसन्धान गर्दैछौं। नतिजा आएपछि राजमार्गमा कस्तो भौतिक पूर्वाधार निर्माण गर्नुपर्छ भन्ने पत्ता लाग्छ। वन्यजन्तुको घनत्व सडक क्षेत्रमा बढेकाले उनीहरूलाई ओहोरदोहोरलगायत सडक पार गर्न झमेला हुने गरेको पाएका छौं’, कडरिया भन्छन्, ‘अनुसन्धानपछि सबै समस्या हल हुन्छ।’

मानव–वन्यजन्तुबीचको द्वन्द्व डरलाग्दो अवस्थामा पुगिसकेको उनले बताए। ‘वन्यजन्तुका वासस्थान अतिक्रमण गर्ने क्रम रोकिनुपर्छ’, उनले भने, ‘बाघलगायत जंगली जनावरहरूको आनीबानीका बारेमा समुदायलाई सचेत पार्दै राज्यले राहतको प्याकेज ल्याउन सक्नुपर्छ।’

मानवीयसँगै भौतिक क्षति बढ्दो
बर्दियाको राजापुर नगरपालिका–१० ढुण्डीपुरमा वयस्क भाले हात्ती मृत भेटियो। नेपाल–भारत सीमा नजिकै नेपालतर्फको तोरी बारीमा मृत हात्ती फेला परेको हो। वन क्षेत्रअन्र्तगत पर्ने सो स्थानमा करिब ३०–३५ वर्षको वयस्क भाले हात्ती मृत भेटिएको डिभिजनल वन कार्यालय बर्दियाका वन अधिकृत प्रवीण विडारीले बताए। राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रममार्फत पशु चिकित्सकसहितको प्राविधिक टोलीले मृत हात्तीको पोस्टमार्टमसहितको अध्ययन गर्दैछ। घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा बयस्क भाले हात्तीको स्वभाविक मृत्यु नभएको अनुमान गरिएको छ। ‘घटनाका बारेमा सुष्म अनुसन्धान गर्दै छौं। रोगले वा अन्य कारणले मृत्यु भएको हो भनेर थप अनुसन्धान भइरहेको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्नेछ’, विडारीले भने।

बर्दिया राष्ट्रिय निकुञ्जले ९ सय ६८ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ। जसमा थप मध्यवर्ती क्षेत्र ५ सय ७ वर्गकिलोमिटर छ। निकुञ्जलगायत आसपासका मध्यवर्ती क्षेत्रहरूमा बर्सेनि ठूलो धनजनको क्षति हुँदै आएको छ। निकुञ्जले वन्यजन्तुका कारण घाइते, मृत्यु, पशुधन, घरगोठ, अन्नबालीलगायतका क्षति बेहोरेका परिवारलाई राहत रकम उपलब्ध गराउँदै आएको छ। आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ मा २ करोड ८८ लाख ७० हजार रुपैयाँ राहत वितरण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए। मृतकका परिवारलाई १ करोड ६० लाख रुपैयाँ उपलब्ध गराइएको छ। यसैगरी अन्नबाली क्षतिबापत ३६ लाख ७० हजार रुपैयाँ समुदायलाई प्रदान गरिएको छ। पछिल्लो दुई वर्षको अवधिमा १५ सय ७४ वटा पशुधन क्षतिबापत ६५ लाख ११ हजार रुपैयाँ भुक्तानी दिइएको छ। यसैगरी १९ जना सख्त घाइतेलाई उपचारका लागि १८ लाख ३० हजार रुपैयाँ उपलब्ध गराइएको श्रेष्ठले जानकारी दिए।

द्वन्द्व रोक्न विभिन्न प्रयास 
पछिल्लो समय बर्दियामा मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि विभिन्न प्रयास गरिए पनि आशातित उपलब्धि हासिल गर्न भने सकिएको छैन। निकुञ्जले गाउँबस्तीमा वन्यजन्तुको प्रवेश रोक्न संवेदनशील क्षेत्रहरूमा जैविक, विद्युतीय कंक्रिट पर्खाल लगाएको छ। त्यसले पनि जंगली हात्तीहरूलाई रोक्न सकेको भने छैन। हात्तीले पटक–पटक तारवारहरू भत्काइ दिने गरेको छ।

बर्दियामा अधिकांश वन्यजन्तुबाट मानवीय आक्रमणको घटना जंगलमै हुने गरेकाले समुदायलाई जंगल क्षेत्रमा जथाभावी प्रवेश गर्न रोक लगाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए। समुदायले सावधानी अपनाइदिए घटनामा कमी आउने उनको दाबी छ। ‘हामीले मानव–वन्यजन्तुबीच सह–अस्तित्व निर्माण गर्न रणनीतिक योजना बनाएर अघि बढेका छौं’, उनले भने। बर्दियाको गेरुवा, राजापुर, मधुवन, ठाकुरबाबा, बारबर्दिया र बाँसगढी नगरपालिका तथा सुर्खेत जिल्लाका केही पालिकाहरू निकुञ्जसँग जोडिएको उनले बताए। उनका अनुसार निकुञ्जसँग जोडिएका मध्यवर्ती क्षेत्रका स्थानीयलाई वन्यजन्तुबाट नोक्सानी नहुने बैकल्पिक खेती प्रबद्र्धनमा जोड दिँदै बिमाको व्यवस्था गरिएको छ। ‘वन्यजन्तु जंगल बाहिर निस्किएको अवस्थामा माइकिङ गर्ने, साइरन बजाउने र एसएमएसबाट सूचना प्रवाह हुने व्यवस्था गरिएको छ’, उनले भने।
संरक्षणमा समुदायको हातेमालो भएका कारण निकुञ्जमा वन्यजन्तुको संख्या बढ्दो क्रममा छ। निकुञ्जमा १ सय २० को हाराहारीमा जंगली हात्ती, राष्ट्रिय गैंडा गणना ०७७ अनुसार ३८ वटा एकसिंगे गैंडा र पछिल्लो बाघ गणनाअनुसार बर्दियामा ८७ वटा पाटेबाघ छन्। वन्यजन्तुबाट हुने आक्रमणबाट समुदायलाई जोगाउन क्यामेरामार्फत निगरानी गरिएको उनले बताए। समुदायमा सचेतना कार्यक्रमअन्तर्गत मानिसको आवागमन हुने क्षेत्रका झाडी, बुट्यानहरू सरसफाइ गर्ने कार्यलाई पनि तीव्रता दिइएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.