विद्यालयको जग्गा व्यक्तिका नाममा
जनकपुरधाम : धनुषाको जनकपुरधाम उप– महानगरपालिकाको एक सामुदायिक विद्यालयको ३ बिघा १५ कट्ठा ५ धुर जग्गा व्यक्तिको नाममा दर्ता भएको रहस्य बाहिरिएको छ। वडा–२१ कुर्थास्थित राजर्षि जनक माध्यमिक विद्यालय र विद्यालयको हकभोगमा रहेको सम्पूर्ण सम्पत्ति व्यक्तिका नाममा दर्ता भएको फेला परेको छ।
वि.सं. २०१७ सालमा स्थापना भएको विद्यालय र विद्यालयको हकभोगमा रहेको उक्त जग्गा वडा–२१ बस्ने रामलखन महासेठ, श्यामसुन्दर महासेठ, सुरेन्द्र महासेठ र उपेन्द्र महासेठको नाममा संयुक्त दर्ता भएको फेला परेको हो। उक्त जग्गा र पोखरी व्यक्तिका नाममा पार्न महासेठसहित भू–माफिया र नापीदेखि मालपोत कार्यालयसम्मका गिरोह सक्रिय रहेको स्रोतको भनाइ छ।
साबिकको कुर्था गाविस–८ हाल जनकपुरधाम उपमहानगर–२१ को कित्ता नम्बर ५३ को उक्त जग्गामा विद्यालयको स्थापना काल २०१७ सालदेखि अविच्छिन्न रूपमा विद्यालय भवन रहेको छ। त्यसैगरी खेलमैदान, चौर र पोखरी हकभोगमा रहेको सर्वस्व सम्पत्ति व्यक्तिका नाममा दर्ता भएको पाइएको प्राध्यानाध्यापक वीरेन्द्रप्रसाद यादवले बताए। ‘यो कुरा न स्कुललाई थाहा छ, न त कुनै अगुवालाई नै,’ उनले भने, ‘स्कुलको नाममा भएको जमिन कसरी एकाएक व्यक्तिका नाममा गयो, छक्क छौं।’
प्रअ यादवका अनुसार स्थापनाकालदेखि नै विद्यालयको हकभोग चलनमा रहे पनि प्रधानाध्यापक र तत्कालीन प्रधानपञ्चसमेतले तत्काल दर्ताका लागि तदारुकता देखाएनन्। तर, अहिले आफ्नो नाममा विद्यालयको सम्पत्ति दर्ता गराएर स्कुल खाली गराउने षड्यन्त्र गरेको उनले बताए। उनले भने, ‘२०७५ चैतमा महासेठहरूले जग्गा नापजोख गर्दाको आधार खोज्दा विद्यालयको जग्गा व्यक्तिका नाममा दर्ता रहेको पाइयो। अब उपरान्त यो जग्गा हामी जोतभोग गर्छौं भन्दै बुझ्नका लागि मालपोत कार्यालय गएँ।’ मालपोत कार्यालयबाट स्रेस्ताको नक्कल हेर्दा महासेठका पुर्खाहरू झल्लु महासेठ, संवश महासेठ, मकुन महासेठ र मनी महासेठले पहिल्यै आफ्नो नाममा गैरकानुनी रूपमा दर्ता गराइसकेको उनले बताए।
तर, सामुदायिक विद्यालयको जग्गा धनी भनिएका श्यामसुन्दर महासेठले २०२६ सालको नापनक्साअनुसार आफ्नो पुर्खाहरू झल्लु महासेठसहित चार जनाको नाममा तत्कालीन भूमिसुधार कार्यालयमार्फत आफूहरूको नाममा आएको बताए। उनले भने, ‘२०२६, २०५९ र २०७५ सालमा गरी तीन पुस्ते लालपुर्जा हस्तान्तरण भइसकेको छ। लालपुर्जा बनेको ५१ वर्ष भइसक्यो तर आज आएर स्कुलले अरूको नाममा भएको जग्गा कसरी आफ्नो भन्न सक्छ ?,’
प्रतिप्रश्न गर्दै महासेठले भने, ‘स्कुलको नाममा भएको अन्य ६ बिघा जग्गाहरू सोधखोज नगरेर पुर्खाहरूले अर्जेर गएको सम्पत्ति स्कुलले आज आफ्नो भनेर हुन्छ ?’ उनले प्राध्यानाध्यापक वीरेन्द्र यादवले समेत सामुदायिक विद्यालयको जग्गा कब्जा गरेर खाइरहेको आरोप लगाउँदै प्रध्यानाध्यापकले राजनीतिक षड्यन्त्रमा आफूहरूलाई फसाउन खोजेको आरोप लगाए। उनले भने, ‘अहिले जग्गा कसको हो वा होइन भन्ने कुरा यस्तै हो। अदालतले मुद्दा हेरिरहेको छ। जे फैसला आउँछ हामी स्वीकार गर्छौं।’
कुर्था गाउँका झल्लु महासेठ गाउँका प्रधानपञ्च रहँदा र उनकै नातेदार रामवृक्ष महासेठ प्रअ रहेका बेला निजहरूकै सहयोगमा विद्यालयको जग्गा दर्ता गराउन सफल भएको ७० वर्षीय रामफल पण्डितले बताए। उनले भने, ‘झल्लु महासेठका मृत्युपछि निजका छोराहरू क्रमशः रामलखन महासेठ, जगदीश महासेठ, राजदेव महासेठ र चन्देश्वर महासेठले २०५९ सालमा आफ्नो नाममा नामसारी गराएका हुन्।’
शक्षा ऐन २०२८ को दफा १६ को उपदफा (१) मा सामुदायिक विद्यालयको हकभोगमा रहेको सम्पत्ति सार्वजनिक सम्पत्ति मानिनेछ भन्ने स्पष्ट कानुनी व्यवस्था रहेको छ। यस्तै, मालपोत ऐन २०३४ को दफा २४ को उपदफा (१) मा सरकारी वा सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता वा आवाद गर्नु गराउनु हुँदैन भन्ने उल्लेख छ। ऐनको उपदफा (२) मा कसैले यो दफा प्रारम्भ हुनुअघि वा पछि कुनै सरकारी वा सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी आवाद गरेमा त्यस्तो दर्ता स्वतः बदर हुनेछ भन्ने कानुनी व्यवस्था छ। गत वर्ष वैशाख पहिलो साता मध्यरातमा सडक विस्तारका नाममा डोजर चलाएर विद्यालयको ६ वटा कक्षाकोठा तथा पर्खाल जबरजस्ती भत्काएको थियो।