महाधिवेशनपछि नेताहरूमा कोरोना
काठमाडौं : प्रमुख राजनीतिक दलका महाधिवेशनहरू सकिए लगत्तै कोरोनाबाट नेताहरू संक्रमित बन्न थालेका छन्। लाखौंको संख्याका भेला पारेर एमाले, कांग्रेस, माओवादी र राप्रपाले महाधिवेशन गरेका थिए। उनीहरूका महाधिवेशनमा स्वास्थ्य मापदण्डको पूरै बेवास्ता गरिएको थियो।
पार्टी महाधिवेशन सकिए लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा कोरोना पोजेटिभ भेटियो। दाहाललाई पोजेटिभ देखिएकै भोलिपल्ट प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि रूघा र खोकीले समात्यो। उनी १ दिन आइसोलेसनमा बसे। जाँच गराउँदा रिपोर्ट भने नेगेटिभ आयो। प्रधानमन्त्री देउवा माओवादीको महाधिवेशन उद्घाटन सत्रमा सहभागी भएका थिए।
माओवादी केन्द्रकै नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना पोजेटिभ देखिएको छ। उनी महाधिवेशन सकिए लगत्तै बिरामी भएका थिए। अहिले उनी घरमै आराम गरिरहेका छन्। ‘शरीर पूरै गलेको छ,’ श्रेष्ठले भने, ‘आँखा हेर्न पनि गाह्र्रो हुने रै’छ। सुधार हुँदैछ। भेटघाट बन्द गरेको छु।’ माओवादी केन्द्रकै अर्का नेता तथा पूर्वगृहमन्त्री शक्ति बस्नेत र पत्नी सत्या पहाडी पनि कोरोना संक्रमित छन्। महाधिवेशनकै समयमा हातखुट्टा कटकट खाएको बताउँदै बस्नेतले भने, ‘महाधिवेशन तयारीका लागि धपेडी भयो। मलाई देखिएको भोलिपल्टै श्रीमतीलाई पनि पोजेटिभ देखियो,’ उनले अगाडि भने, ‘हल्का ज्वरो आयो। शरीर एकदम दुख्यो। सिटामोल खाएपछि अलिक कम हुँदैछ। हामी घरमै छौं। हस्पिटलनै जानुपर्ने गरी गाह्र्रो भएको छैन।’ पार्टीको महाधिवेशनपछि अरू धेरै नेतामा कोरोना संक्रमण देखिएको बस्नेतले बताए। ‘कोरोना महामारी सुरु हुँदै गर्दा महाधिवेशन गरियो,’ बस्नेतले भने, ‘धेरै साथीहरू बिरामी हुनुहुन्छ भन्ने सुनेको छु। बिरामीको स्वरूप उस्तै भए पनि कोरोना पोजेटिभ भने कमैलाई देखिएको छ। कतिपयले चेकअप नै गराउनुभएको छैन।’
शिक्षामन्त्री देवेन्द्र पौडेललाई पनि माओवादीको महाधिवेशन लगत्तै ज्वरो र रूघाखोकीले समात्यो। उनले भेटघाट कम गरेका छन्। पौडेलको रिपोर्ट भने नेगेटिभ आएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मंगलबार कोरोना पोजेटिभ पुष्टि भएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ। अध्यक्ष नेपाल आफ्नै निवासमा बसेको सचिवालयले जनाएको छ।
कोरोना संक्रमण देशभर बढेको भन्दै सोमबार मात्रै नेता नेपालले अपिल जारी गर्दै पार्टीका बैठक तथा भेलाहरू गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै गर्न निर्देशन दिएका थिए।
कोरोना जोखिम बढेपछि कन्ट्याक ट्रेसिङमा परेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अझै एक साता आइसोलेसनमा बस्ने भएका छन्। कार्कीले आफ्नो कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी गराउँदै एकसाता आइसोलेसनमै बस्ने बताएका छन्।
सञ्चारमन्त्री कार्कीले भने, ‘३,४ दिन अभैm आइसोलेसनमै रहेर दोस्रो परीक्षणको रिपोर्ट पर्खनु उचित ठान्दै सबै भेटघाट स्थगित गरेको छु।’ कन्ट्याक ट्रेसिङमा परेपछि मन्त्री कार्कीले आइतबारदेखि भेटघाट बन्द गरेका थिए। सत्ता गठबन्धनका शीर्ष नेता संलग्न उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा सहभागी नेतामा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री र सञ्चारमन्त्री आइसोलेसनमा बसेका हुन्।