स्वर्गको शयन कक्षबाट पृथ्वीका वाणी
‘एकचोटी खाली पैतालाले माटो छोऊ। त्यहो माटो शिरमा लगाऊ। मेरो माटोमा धर्म छ, कर्म छ अनि स्वर्ग छ। चिन्न ढिलो नगर।’
स्थान : स्वर्गको उपल्लो तला समय : पुस २७, बिहान १:५ बजे।
‘तिमी किन आयौ ?’ ‘हजुरलाई भेट्नु थियो, तपाईंले भनेका दिव्य उपदेशहरू बुझ्न गाह्रो भो, अलिकति शंका पनि, त्यही भएर।’ बुढा, खाटको छेउमा बसी बखान्न थाले, ‘तिमीहरू सबै छेउ सुनाई गयाको भया तमरा सन्तानलाई सुनाउला र तमरा सन्तानले हाम्रा सन्तानलाई सुनाउन र यो राजे थामि षानन्।’ जीवन उपयोगको कुण्ठालाई नजिकबाट त्याग गर्दै गर्दा मेरो माटो साक्षी राखी दक्षिण र उत्तरको विशाल ढुंगाको बीचमा ओजस्वी मोतीका बारेमा मेरा दिव्य आत्माले केही बोली छाडेको थिएँ।
‘हजुर सञ्चै हुनुहुन्छ ?’ भन्ने मेरो प्रश्न नसकिँदै खद्दरको लवेदा मिलाउँदै बोल्दै गए– म स्वर्गको उपल्लो कोटरीमा बसी नजिकबाट तिमीले रोपेका फूलका सुगन्धबाट प्रेरित भइरहेको छु। हामीले आज्र्याको माटोमा हुर्किएका सबै फूलप्रति मेरा प्रेम छ। मसँगै रणजित बस्न्यात, मानसिंह रोकाया, वीरभद्र पाठक एउटै घरमा छौं। नजिकै बिसे नगर्ची छिमेकी, भक्ति ‘वा’ तल्लो तलामा छन्, अमर सिंह कहिलेकाहीँ भेट्न आउँछ। विराट थापा मप्रति कहिलेकाहीँ गुनासो पोख्छ। कालु पाण्डे, सुरप्रताप सञ्चै छन्। हाम्रा साथ लागेका, नलागेका सबैसँग भेट भई राख्या छ। यी सबैलाई भेटिरहँदा मलाई मेरो फूलबारी नबिग्रिएको जस्तो लाग्छ। बुढाले आफ्नो सञ्चो बिसञ्चोभन्दा देशको स्वास्थ्यसँगै राखी उत्तर दिए। मैले यो कुरा पहिले भन्न खोजेको थिएँ आउने सज्जनहरूसँग तर कालु पाण्डेले सबै ठिक हुन्छ भन्यो, बिसे नगर्चीले राम्रै हुँदैछ भन्यो मेरो मन मान्यो। आज यी सबै नभएको बेलामा मध्यरातको समय ताकी तिमीलाई भन्दै छु।
रात निष्पट्ट थियो, दाहिने बायाँ दुईतीन जना घुरेका, पल्लो कोठामा बलेको बत्तीको मधुरो प्रकाश काठको फलेकबाट निधारमा ठोक्किइरहेको थियो। थोरै प्रकाशले समेत मेरो कल्पनाका राष्ट्र निर्माताको तेज लोभलाग्दो थियो। उनले थपे, ‘म जन्मँदा कुनै कम्पन थिएन। आमा कौशल्यावती देवीको कोखबाट भाग्य स्वरूप गोरखनाथको आँगनमा झर्ने मौका पाएँ। मैले गोरखकाली डाँडामा नै राज्यको अनि राजाको पाठहरू सिकें। मेरा राज गुरुहरू नगरा बजाउने, पूजा लगाउने, हाम्रा दरबारमा भेटी, तुक चढाउन आउनेहरू नै थिए। साना राज्य हुनुका कारणले आधा पेट खानु परेको अनि त्यही आधा पेट समेत दक्षिणबाट दक्खल हुँदैछ भन्ने ज्ञान मलाई ओठमा रेखी बस्नुपूर्व नै बस्यो।’
हाम्रा राज्यमा चामल कम थिए तर कोटका भित्तामा ठडिएका जंगलमा प्रशस्त जडीबुटी थिए। मैले ‘आफ्नो देशका जिनिस जडीबुटी देश लैजानु पर्छ र नगद ल्याउनु पर्छ’ भन्ने त्यही जंगलमै सिकेको हुँ। हामीलाई एकीकरणका दौरान कैयन रातहरू त्यही जंगलले पालेका छन्। कैयन युद्धका खतहरू त्यही जंगलले मेटाएको छु। अझ, जंगलमा भएका जीवले समेत सिपाहीको काम गरेको छ। नपत्याए, एकचोटी सिन्धुलीको माटोलाई टेकेर सोध। हाम्रा पुर्खा राम शाहले बनाउनु भएको चौतारीबाट नै मैले न्यायको कक्षा सिकेको हुँ। ‘अन्याय मुलुकमा हुन नदिनु। निञा निसाफ बिगार्न्या भन्याका घुस दिने र घुस खान्या हुन्। ईन दुईको ता धन जीव गरी लियाको पनि पाप छैन, ई देशका महा सतुर हुन्। मैले त्यही आँगनमा बोध गरेका सत्य हुन्। उनी झन् निश्चयी देखिए। मलाई महा–चतुर दक्षिणको समुद्रको बादशाहसँग मेरो माटो बचाउनु थियो। आफ्नै घरभित्र लडिरहेका भाइ–भाइबीचको झगडा सदाका लागि अन्त्य गराई एउटै मालामा बाँध्नु थियो। मैले त्यसैका लागि तरबार उठाएँ। मेरा तरबारले धेरैका टाउको छिनिए होलान्। धेरैका घरबार उडे होलान् तर मैले विशाल घर बनाएँ अनि छाडेर आएँ। मैले मेरा कार्य फत्ते गर्न सबै जात, जाति र समूहको घोडामा सवार भए ढिलो तर दरिलो। ढिला नै सही, तर मैले धोका खाइनँ। यत्तिका वर्षसम्म पनि माटोको माया पटक्कै नघटेको देख्दा मलाई ईश्यासँगै गर्व महसुस भइरहेको थियो। दुनियाँ जसरी खुसी÷राजी हुन्छन्, उसैलाई कजाई दिनुपर्छ भन्ने राष्ट्रिय ज्ञानले गर्दा नै मैले सबैको राज्य खोसिन, तिनैलाई फेरि झगडा नगर्ने अनि आफैं दुनियाँ खुसी राख्न छाडिदिए।’
बुढाले एकपटक खुईय काढे अनि आफ्नो निश्चल उद्देश्यलाई थप प्रष्ट्याउन थाले– मेरा देशलाई एउटै मालामा बाँध्ने योजना कुनै क्रूर शासन या मेरो देशको वैभव स्थापित गर्नु थिएन। मैले समयको चापलाई बुझेको हुँ। मेरो उपदेश कुनै दिव्योपदेश वा देवताका वाणी होइनन्। ती त मैले जनजनको मन बुझ्दा, दक्षिणको त्रासदीबाट मेरो फूलबारी जोगाउँदा, जात, समुदाय वा भूगोल आदिलाई आधार मानी विभाजन भएको कयौं राज्यलाई एउटै मालामा गाँसिरहने प्रयास गर्दा पाएका अनुभव, बैरीको रखवाली गर्न लोभ लालचमा फस्न गएका इमान्दार मेरा फूलहरूको पीडाबाट बच्न मैले गरेका प्रयासहरूको निष्कर्ष हो। त्यो न त मैले ढुंगाले लेखेर दिएको छु। आज धेरै भइसक्यो म हिँडेको समय, मेरो माटो, मेरा जनका आकांक्षा, बुझाइ फरक भइसक्यो। म खराउसमेत नलगाई एकताको तरबार डुलाउँथें, आज एउटै कोठाबाट देश–परदेश हल्लाउने प्रविधि विकसित छ। हरेक चिज हरेक परिवेश आफ्नो अनुकूलतामा बुझ्दा भइहाल्छ।
‘घुसले मेरो माटो जर्जर बनेको छ, जोगाइदेऊ। उत्तर र दक्षिणका ढुंगाहरूमा काँडा निस्किएको छ, घोचिरहेका छन्। त्यहाँ तिमीलाई घोच्छन् तर मेरो अनि मसँगै रहेका हरेकका आत्माबाट रगत बग्छ।’
बुढा एकछिन रोकिए, म थप सुन्न आतुर थिएँ। म एकपल पनि खेर फाल्न चाहन्थिनँ। बुढाले मेरा मनका कुरा बुझेछन् क्यारे, चिउँडोमा हात राखी गम्भीर भई भन्न थाले– जति गाली गर्नु छ मलाई गर, आज पनि तर मेरो ध्येय सफा थियो। त्यसलाई स्वीकार गर हामी सबै त्यही कुरिरहेका छौं। म आज पनि यही भन्न चाहन्छु– घुसले मेरो माटो जर्जर बनेको छ, त्यसबाट मेरो माटो जोगाइदेऊ। उत्तर र दक्षिणका ढुंगाहरूमा काँडा निस्किएको छ, तिमीलाई केही न केही घोचिरहेका छन्। त्यहाँ तिमीलाई घोच्छन् तर मेरो अनि मसँगै रहेका हरेकका आत्माबाट रगत बग्छ। रगतको पीडा मजस्तो सिपाहीले नबुझे कसले बुझ्छ ? मैले लडाइँमा चुकेन भन्या लोलोपोतो अनेक कलछल हुन्छ भनेको थिएँ, आज मेरा माटो माथि कलछल भइरहेको छ ब्युँझ।
धन्न बुढासँग आजको रात भेट भयो। म त्यही माटोको जन्म लिएकोमा प्रकृति माथि धन्यवाद व्यक्त गरें मनमनै। बुढा गम खाएर फेरि भन्न थाले– मैले मेरो मातृभूमिलाई मजबुत किल्ला भनेको छु। चारै बादशाह आए पनि भेद गर्न नसक्ने। मेरा भारदार पौरखी थिए, तिम्रा भारदार चाप्लुसीमा डुबे, भारदारमा सत्यता भएन भने तरबार चलाउन सक्दैन। मैले जाइकटक नगर्नू नै भनेको छु, कूटनीतिमा बढी जोड दिनू। परेमा तरबारलाई रगत बली दिन पछि नहट्नू। रैतीलाई हात–हात गरी राख्नू। कूटनीतिमा चतुर्याईं गर्नू, भेद आज पनि आवश्यक छ।
वाह ! कति गम्भीर अनि दूरदर्शी। लोभलाग्दो। सुनिरहँदा मेरा मनले पटकपटक ती जनहरूलाई सलाम गरिरह्यो।
‘मैले कुलधर्म नछाड्नु आज पनि भन्छु। कुलधर्म हाम्रो संस्कार हो यसले मानवता अनि मानवीय धर्मको दायरा अझै फराकिलो बनाउँछ। जातविशेष मेरा लागि कर्म गर्ने स्वरूप थियो, अरू कर्म नै धर्म हो। मैले मेरा देशमा विदेशका महाजनलाई रोक्नु भनेको छु, यिनले हामीलाई झन् कंगाल बनाउँछन्। अरूले दिएको मिठोले बानी बिगार्छ। मेरै माटोमा सबैथोक छ, यसैको जगेर्ना गर। आज पनि देशको उन्नति के ले हुन्छ भनी गुमरामै छौं, यो माटो सुनको छ, जडीबुटीलाई ठाउँ देऊ। म पो राजा थिएँ, आज राजकाज तिमीहरूले चलाएका छौं। एक अर्थमा तिमीहरू मेरा ठाउँमा छौ। या भोलि त्यो ठाउँमा आउने बाटो खन्दै छौं। राज्य चलाउनेले बराबर न्याय गर्नुपर्छ। अन्याय हुन दिनु हुँदैन। लोभ र घुसले बिगार्छ।’
बुढा झन् गम्भीर देखिए।
‘मैले अदालतमा जाँची डिष्टा राख्नु भनेको थिएँ। अहिले त सबै बिचारी माथि के–के भाको देख्छु मेरा मन कुडिन्छ। मेरा माटो पानी सबै बिगारेका छौ। पानी भाको ठाउँमा खेती छैन, खेती हुने ठाउँमा घर छ। भनेको मान, एकदिन तिमी खाली हुन्छौ।’ खास्टाको पर्दा उघारी बाहिर हेरें, रातको तेस्रो प्रहर कटिसकेछ। बुढाले बिट मार्न खोजे जस्तो लाग्यो। ‘आधा रात कटेछ, तिम्रा रात पनि मैले बिगारेँ। एकचोटी खाली पैतालाले माटो छोऊ। त्यहो माटो शिरमा लगाऊ। मेरो माटोमा धर्म छ, कर्म छ अनि स्वर्ग छ। चिन्न ढिलो नगर।’
कुखुराको डाँकसँगै राष्ट्रपिता अलप भए तर हामीलाई फेरि ब्युँझाएर गए। अग्रजलाई हामी सम्झिरहने छौं। तिमी थियौ र हामीसँग मेरो माटो अनि ओजस्वी चन्द्र सूर्य छ।