लोसपामा फुट : मोरङमा दुई कार्यसमिति
विराटनगर : लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)को मोरङमा दुईवटा जिल्ला कार्यसमिति गठन भएको छ। केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले कसैसंग सल्लाह नगरी तत्कालिन उनको नेतृत्वमा रहेको तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष मो कादिर अध्यक्ष भएको चिठी पठाएपछि अर्को जिल्ला कार्यसमिति गठन भएको हो।
लोकतान्त्रिक पार्टी भएकोले सबैसंग सल्लाह गरेर जिल्ला अध्यक्ष चयन गर्न पटकपटक असन्तुष्ट नेता तथा अगुवा कार्यकर्ताहरुले केन्द्र कमिटीलाई पत्राचार गरेपनि कुनै जवाफ नआएपछि अर्को जिल्ला कमिटी इनामुल अन्सारीको अध्यक्षमा चयन भएको हो। इनामुल मधेश आन्दोलनका पुराना नेताको रुपमा चिनिन्छन्। २१ सदस्य केन्द्रीय कार्यकारणी समितिमा छलफल नगरी महन्थ ठाकुरले आफूखुशी जिल्ला कार्यसमिति चयन गरेको भन्दै प्रदेश २सहित अन्य प्रदेशमा नेता तथा कार्यकर्ताहरुले विरोध जनाउदै आएका छन्।
विस २०७८ मंसिर २४ गते मो कादिर मोरङ जिल्ला अध्यक्ष भएको चिठी मोरङ आएको थियो। चिठी आएपछि अन्य अगुवा र मोरङबाट नेतृत्व गर्ने केन्द्रीय सदस्यहरुले सबैसंग छलफल गरेर जिल्ला अध्यक्ष चयन गर्ने केन्द्रीय कमिटिलाई दुई पटक पत्र पठाएको थियो।
पत्रको जवाफ नआएपछि ईनामुल अन्सारीको अध्यक्षतामा माघ २४ गते ३१ सदस्य मोरङ जिल्ला कार्यसमिति चयन गरेको हो। यसअघि कादिर ३८ सदस्य जिल्ला कार्यसमिति बनाएको घोषणा गरेको थियो। अन्सारीले माघ २ गते अन्य पदाधिकारीको पदभार बाडिने बताए। पार्टीको आन्तरीक विद्यानमा कतै कल्पना नगरेको परिवेक्षसमेत केन्द्रीय अध्यक्ष ठाकुरले मोरङमा तोकेको छ। मोरङको परिवेक्षकमा अमरेन्द्र साहलाई तोकेको छ।
जिल्लाको सबै क्षेत्रको अगुवा नेता तथा कार्यकर्ताहरुलाई बोलाएर अन्सारी अध्यक्ष बनाएको भन्दै दुई दिन अघि कादिरले प्रदेश १को मुख्यसचिव सत्यनारायण साह, उपाध्यक्ष कामेश्वर रौनियारसहित केन्द्रीय सदस्य एवंम अर्को कार्यसमितिको अध्यक्ष इनामुल अन्सारीलाई कारवाही गरेको जनाएको छ। पार्टी विधान विपरित गतिविधि गरेको भन्दै मो कादिर र परिवेक्षक साहले एक प्रेस विज्ञिप्ती जारी गरेर कारवाही गरेको जनाएको छ। अर्को जिल्ला अध्यक्ष अन्सारी जिल्ला अध्यक्षले प्रदेशका मुख्य सचिव एवंम केन्द्रीय सदस्यहरुलाई कारवाही गरेको अधिकार नभएको बताएका छन्। उनले भने–‘जिल्ला अध्यक्षले केन्द्रीय सदस्य र प्रदेशको मुख्य सचिवलाई कारवाही गर्नु लजास्पद हो।‘
यसअघि पनि कादिर तत्कालिन राजपाले अपनाएको चक्रिय प्रणाली अनुसार दुईदुई महिनामा अध्यक्ष बनेर जिल्ला कमिटी चलाउने केन्द्रीय कमिटीको निर्णयलाई बेवास्ता गर्दै आफूनै अध्यक्ष रहेको भन्दै कार्यभार कसैलाई नदिदा ठूलो विवाद उत्पन्न भएको थियो। त्यतीखेर पनि दुई जिल्ला कार्यसमिति चयन भएको थियो। पछिल्लो पटक समाजवादी पार्टी र राजपा एकिकरण भएर बनेको जसपाको नेतृत्व नपाउँदा कादिरले समान्तर अर्को समिति गठन गरेका थिए।