५० शैयाको सरुवा रोग अस्पताल बन्दै
सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकास्थित छिन्चुमा ५० शैयाको सरुवा रोग अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया सुरु भएको छ। संघीय सरकारको योजना अनुसार कर्णाली प्रदेश सरकारले प्रक्रिया थालेको हो। प्रदेश सरकारको आग्रहपछि भेरीगंगा नगरपालिकाले जग्गाको व्यवस्थापन गर्न लागेको छ।
नगरपालिकाले छिन्चुमा सरुवा रोग अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाइएको जनाएको छ। अस्पतालका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको मेयर भूपेन्द्रबहादुर चन्दले बताए। ‘नगरपालिका कार्यालय नजिकै खुला चौर छ, त्यही ठाउँमा अस्पताल निर्माणको योजनामा छौँ’ चन्दले भने,‘अस्पतालका लागि जग्गा नगरपालिकाको नाममा ल्याउने प्रक्रिया सुरु भयो।’
आठ विगाह क्षेत्रफलमा अस्पताल निर्माण हुने उनले बताए। अस्पताल निर्माणका लागि जग्गा नगरपालिकाको नाममा पास गरिदिनका लागि डिभिजन वन कार्यालय सुर्खेतलाई अनुरोध गरिएको छ। अस्पतालका लागि प्रस्तावित क्षेत्र छिन्चु–जाजरकोट सडक खण्डसँग जोडिएको छ। सडकको सहज पहुँच भएका कारण प्रस्तावित क्षेत्र अस्पताल निर्माणका लागि उपयुक्त हुने नगरपालिकाको दाबी छ। ‘अस्पताल निर्माण गर्ने भनिएको ठाउँ ठूलो र सडकसँग जोडिएको छ’ मेयर चन्दले भने, ‘वनले जग्गा दिएको खण्डमा यही बर्षभित्र नै भौतिक संरचना निर्माणका काम सुरु हुन्छन्।’
वन कार्यालयले अस्पताल बनाउने अनुमति दिएको खण्डमा छिट्टै डीपीआर लगायतका कामहरु सुरु गर्ने नगरपालिकाको तयारी गरेको छ। जग्गाको टुंगो लाग्नेवित्तिकै भौतिक संरचना निर्माणको लागि रकम उपलब्ध गराउने प्रदेश सरकारले प्रतिबद्धता दिएको छ। केही दिनअघि मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थलगत अनुगमन गर्दै अस्पताल निर्माणका लागि प्रदेश सरकारले बजेटको व्यवस्था गर्ने बचन दिएका हुन्। छिटो जग्गाको टुंगो लगाउन र चालु आर्थिक वर्षमै भौतिक पूर्वाधार निर्माणका कामहरु अगाडि बनाउन मुख्यमन्त्रीले नगरपालिकालाई निर्देशन दिएका छन्।
यस्तै छिन्चुमै ट्रमा सेन्टर स्थापनाका लागि पनि प्रस्ताव गरिएको छ। नगरपालिकाले सरुवा रोग अस्पतालसँगै सोही क्षेत्रमा ट्रमा सेन्टर स्थापनाको प्रस्ताव गरेको हो। वडा नं. १२को स्वास्थ्यचौकीलाई संरचना थप गरेर ट्रमा सेन्टरको रुपमा विकास गर्न प्रस्ताव गरिएको नगरपालिकाले जनाएको छ। ‘प्रदेश सरकारले सरुवा रोग अस्पतालको प्रस्ताव ल्याएको छ, हामीले त्यही ठाउँमा ट्रमा सेन्टर पनि बनाऔं भने प्रस्ताव गरेका छौँ’ चन्दले भने, ‘तत्काललाई वडा स्वास्थ्यचौकीलाई नै स्तरोन्नति गरेर ट्रमा सेन्टर सञ्चालन गर्ने र सरुवा रोग अस्पताल बनेपछि ट्रमा सेन्टर पनि सञ्चालन गर्न प्रस्ताव गरेका छौँ।’ छिन्चु–जाजरकोट सडक खण्डमा हुने दुर्घटनाका घाइतेलाई तत्काल उपचार गर्न सहज हुने भन्दै नगरपालिकाले ट्रमा सेन्टरको स्थापनाको प्रस्ताव गरेको हो।