बढ्यो साइबर अपराध, निसानामा बालबालिका

बढ्यो साइबर अपराध, निसानामा बालबालिका

काठमाडौं : इमेल, इन्टरनेटसँगै विकास भएको सामाजिक सञ्जालले नागरिकको दैनिकीलाई सहज बनाएको छ। छिनभरमै विश्वको जुनसुकै कुनामा भएकासँग पनि सहजै कुराकानी हुन्छ। विशाल विश्वलाई खुम्च्याएर एउटा गाउँजस्तो बनाएको छ। तर, यसले सहजता मात्रै दिएन, अपराध पनि बढाउँदै लगेको प्रहरीको तथ्यांकले देखाउँछ। 

प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ९ सय ६ वटा साइबर क्राइम (विद्युतीय अपराध)का मुद्दा दर्ता भए। यीमध्ये २ हजार ३ जना महिला साइबर क्राइमबाट पीडित छन्। १ हजार ४ सय ७१ जना पुरुष निसानामा परे। १८ वर्षमुनिका बालबालिका पनि पीडित बन्नेमा धेरै छन्। यो अवधिमा १ हजार ५२ जना बालिका साइबर क्राइमबाट पीडित बन्दा ५६ जना बालकले पीडा भोगे। 

प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका प्रमुख नवीन्द्र अर्यालका अनुसार साइबर क्राइम बढ्नुमा लोभ लालच र छिटो पैसा कमाउने उद्देश्य देखिन्छ। प्रविधिको सदुपयोग यसमा बढी भएको छ। ‘धेरैले सामान्य ठानेर सोसल मिडिया दुरुपयोग गरिरहेका हुन्छन्। प्रत्यक्ष भेट्न, कुराकानी गर्न नपर्ने हुँदा यस्तो अपराध बढिरहेको हो,’ उनले भने ‘यस्ता उजुरी नआएको दिन हुँदैनन्।’ प्रहरीको अनुसन्धानअनुसार आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ४ सय ५१ जना फेसबुकको माध्यमबाट साइबर क्राइममा परेका छन्। आव २०७८÷०७९ को पहिलो तीन महिनामा नै १ हजार ५ सय ४७ वटा साइबर क्राइमका घटना भए। यो तथ्यले यो आर्थिक वर्षमा यस्ता प्रकृतिको घटना अझै बढ्ने देखिन्छ। पछिल्लो घटनामा १८ वर्षमुनिका ४९ जना बालिका र २५ जना बालक पीडित छन्। 

बालबालिका पनि सामाजिक सञ्जाल र इन्टरनेटको पहुँचमा सहजै पुग्न सक्ने भएकाले उनीहरू बढी पीडित हुन थालेको प्रहरीको दाबी छ। ‘आजकल इन्टरनेटको सुविधा भएको स्थानमा बालबालिकाले सामाजिक सञ्जाल नचलाएको घर हुँदैन,’ साइबर ब्युरोका प्रमुख अर्याल भन्छन्, ‘अञ्जानमा अपराधसम्म पुग्ने बालबालिका धेरै छन्। फेसबुक, भाइबर, इमो, युट्युब, ह्वाट्सअप, ट्विटर, इन्ट्राग्राम, टिकटक, इमेल, ईसेवालगायतका सामाजिक सञ्जालबाट हुने अपराध बढ्दो क्रममा छ। 

ब्युरोका प्रमुख अर्याल साइबर क्राइम बढ्नुमा लोभ लालच र छिटो पैसा कमाउने उद्देश्य पनि मुख्य कारण देखिन्छ। धेरैले सामान्य ठानेर सोसल मिडिया दुरुपयोग गरिरहेका हुन्छन्। नेपालमा प्रयोग भएका सामाजिक सञ्जाल विदेशबाट सञ्चालन हुने हुँदा अपराध गर्ने मानिससम्म सजिलै पुग्न नसकिने अर्यालले बताए। यसका साथै अपराधका घटना भएपछि सम्बन्धित आईडीको डिटेल्स् माग्ने, मुख्य कार्यालयमा पत्राचार गर्ने, जवाफ माग्ने, सहयोग आदानप्रदान गर्ने गरिएको छ। अनुसन्धानका लागि प्रहरीले इन्टरपोलको सहयोग लिएर काम गरिरहेको जानकारी दिँदै अर्यालले कतिपय मुद्दाहरूमा सामाजिक सञ्जालका आधिकारिक निकाय आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको विषय भनेर पन्छिने गरेको अनुभव सुनाए। उनी भन्छन्, ‘साइबर क्राइमका मुद्दाहरू त सबै नै समाधान गरेका छौं।’ अर्यालका अनुसार ७० प्रतिशतभन्दा बढी व्यक्ति अहिले इन्टरनेटको पहुँचमा छन्। इन्टरनेट चलाउनेमध्ये ९५ प्रतिशतले स्मार्ट फोन प्रयोग गर्छन्। प्रविधिको दुरुपयोगले गर्दा पनि अपराध बढको छ।

निसानामा बालबालिका
हेटौंडाकी १४ वर्षीया बालिकाको अनलाइन गेम ‘फ्रिफायर’ खेल्ने क्रममा बागलुङका केसी थरका युवकसँग चिनाजानी भयो। चिनाजानी प्रेममा परिणत भयो। भेटघाट बाक्लिन थाल्यो। भेटघाटका क्रममा फोटा तथा अन्तरंग भिडियो पनि युवकले हात पारे। जब सम्बन्धमा समस्या आउन थाल्यो युवकले बालिकाको फेसबुक ह्याक गरेर उक्त फोटो र भिडियोहरू अपलोड गरिदिए। जाहेरी प्रहरीमा पुग्यो। 

भक्तपुरकी एक बालिकाको भिडियो बनाएर म्यासेन्जरको स्टोरीमा एक युवकले पोस्ट गरे। बालिकाले हटाउन भनिन्, तर युवकले मानेन्। फेसबुक र ह्वाट्सअपमा कुराकानी हुने युवकले नै उनलाई त्यसो गरेका थिए। बालिकाले धेरै आग्रह गर्दा युवकले मान्नुको त परको कुरा धम्की दिन थाले। उनी बाध्य भएर प्रहरीसम्म पुगिन्। यी दुई घटना प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीमा एकै दिन दर्ता भएका हुन्। दैनिक यस्ता उजुरी लिएर अभिभावकको साथमा बालबालिका पनि पुगेकै हुन्छन्। विद्युतीय अपराधमा पर्नेमा बालबालिकाको संख्या बढ्दो क्रममा छ। कोही संलग्न छन् त कोही पीडित। युट्युबमा हेरेको भिडियो, नाटक वा ‘प्रेङ्क’ (छक्याउने) खेललाई आफूले पनि नक्कल गर्दा अञ्जानमा अपराध गर्न पुग्ने बालबालिकाको संख्या दैनिक बढ्दै गएको प्रहरीको तथ्यांकले देखाउँछ। विभिन्न खेल र म्यासेजका कारण बालबालिका पीडित र पीडक दुवै बन्ने गरेको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका प्रमुख नवीन्द्र अर्याल बताउँछन्। 

अहिले भोटाहिटीमा रहेको नेपाल प्रहरीको साइबर ब्युरोमा विद्यालय पोसाकमा नै उजुरी दिन पुग्ने दर्जनौं भेटिन्छन्। प्रहरीले अनुसन्धान पछि पक्राउ गरेर ल्याएका पीडक बालबालिका पनि उत्तिकै भेटिन्छन्। यसमा १८ वर्षभन्दा कम उमेरका बालबालिकाको संख्या उच्च छ। प्रहरीको अनुसन्धानअनुसार आर्थिक वर्ष २०७७÷७८ मा ३ हजार ४ सय ५१ जना फेसबुकको माध्यमबाट साइबर क्राइममा परेका थिए। जसमा १८ वर्षमुनिका ४९ जना बालिका र २५ जना बालक नै पीडित भेटिए।

सानै उमेरमा सामाजिक सञ्जालको प्रयोगबाट चिनजार हुँदै प्रेम सम्बन्धमा पुग्ने र अपरिपक्व उमेरमा नै सही निर्णय गर्न नसक्दा झगडा हुँदै सामाजिक सञ्जालबाटै अपराध गर्नसम्म बालबालिका पुग्ने गरेको छन्। साइबर ब्युरोका अनुसन्धान अधिकारी बुद्धि सुवेदीले विद्युतीय कारोबार ऐन २०६३ अनुसार नै अहिले अनुसन्धान र मुद्दा चल्ने गरेको बताए। सामाजिक सञ्जाललाई नियन्त्रण र नियमन गर्ने कानुन अहिलेसम्म नेपालमा बन्न सकेको छैन। ३५ दिने हदम्यादका कारण कतिपय घटनामा प्रभावकारी अनुसन्धान गर्न प्रहरीले सकेको छैन। साइबर क्राइमको जोखिमबाट बालबालिकालाई बचाउनको लागि परिवारभित्रकै सदस्यले ख्याल गर्नुपर्ने बालमनोविश्लेषक बासु आचार्य बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.