जनकपुरमा बिक्यो किसानको धान
जनकपुरधाम : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले किसानको धान खरिद सुरु गरेको छ। चालू आर्थिक वर्षको माघ १५ सम्म तोकिएको कोटाअनुसार १५ सय मेट्रिकटन खरिद गर्नेगरी धानको कोटाअनुसार खरिद सुरु गरिएको हो।
धान खरिदको पहिलो दिन गत बुधबार जनकपुर शाखाले ४ सय ६.११ क्विन्टल धान खरिद गरेको छ। धान खरिदका लागि पहिलो चरणमा झन्डै दुई सय किसानसँग टोकन सिस्टमबाट सरकारले धान खरिद गरिरहेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधाम शाखाले गत वर्ष सोना मन्सुली १५ सय मेट्रिकटन र बासमती ३ सय मेट्रिकटन खरिद गरे पनि यस वर्ष सोना मन्सुली धान खरिदको कोटा मात्र पाएको निमित्त कार्यालय प्रमुख उपेन्द्र लिङ्देलले बताए।
सोना मन्सुली धानको मूल्य निर्धारण संघीय सरकारले नै गर्ने गरेको छ। अन्य जातका धान खरिदमा प्रमुख जिल्ला अधिकारी नेतृत्व संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिले मूल्य निर्धारण गर्ने गरेको छ। गत वर्ष कम्पनीले धान खरिदमा पाएको कोटाभन्दा यस वर्ष कम छ। गत वर्ष सोना मन्सुलीको खरिद मूल्य २ हजार ८ सय ८५ र बासमती झन्डै ९५ सयमा किसानबाट किनेको थियो। तुलनात्मक रूपमा गत वर्षको मूल्य र चालू आर्थिक वर्षको मूल्यमा धेरै भिन्नता नरहे पनि बजारको मूल्यभन्दा महँगोमा खरिद गरिरहेको निमित्त प्रमुख लिङ्देलले जानकारी दिए।
धान बिक्री गर्न गाउँगाउँबाट किसान उत्साहपूर्ण रूपमा व्यापार कम्पनीमा आउने गरेका छन्। ‘धान बिक्री गर्न आउँदा किसानलाई स्थानीय पालिकाबाट सिफारिसपत्र सँगै लिएर आउनु भनेका छौं,’ निमित्त प्रमुख लिङ्देलले भने, ‘पालिकाको स्थानीयवासी हुन् र वास्तविक किसान भए पालिकाले सिफारिस दिने भएकाले व्यापारी तथा बिचौलियालाई धान बिक्रीबाट प्रतिबन्ध लगाउन यो वर्षदेखि नियम लागू गरेका हौं ।’