मर्यादपुरमा एकीकृत दलित बस्ती, २५ परिवारले पाए पक्की घर
रौतहट : मौलापुर नगरपालिकाले वडा नम्बर २ मर्यादपुरमा विपन्न चमार समुदायलाई २५ वटा पक्की घर हस्तान्तरण गरेको छ। वर्षौदेखि फुसको घरमा बस्दै आएका दलितहरु पक्की घरमा बस्न थालेका हुन्।
शनिबार एक कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले उनीहरुलाई घर हस्तान्तरण गरेका छन्। पक्की घर पाएपछि मर्यादपुरका छट्ठु राम चमारले खुसी व्यक्त गरे।
नगरपालिकाले एउटा घर सातलाख ५० हजारको दरले निर्माण गरेर शनिबार समुदायलाई हस्तान्तरण गरेको हो। एक करोड ८७ लाख ५० हजारको लागतमा एकीकृत दलित बस्ती निर्माण गरिएको मौलापुर नगरपालिकाकि मेयर रिनाकुमारी साहले जानकारी दिइन्।
दुई वटा कोठा, शौचालय, धारासहितको घर निर्माण गरिएको हो। मुख्य सडकमा सात धुर र भित्र ८ र ९ धुर जमिनमा घर बनाइ फुसको घरमा बस्दै आएका चमार समुदायलाई घर हस्तान्तरण गरिएको हो।
शैक्षिक संस्था, स्वास्थ्य सस्था, सरकारी कार्यालय, सार्वजनिक पूर्वाधार एवं एकीकृत बस्ती विकास, नगरपालिकाको कार्यालय स्थापना जस्ता दीर्घकालीन पूर्वाधार निर्माणको लागि १३ करोड ५६ लाखको लगानीमा जमिन खरिद गरिएको नगरपालिकाले जनाएको छ। मौलापुर नगरपालिकाले १२ बिगाह, १८ कठ्ठा १० घुर जमिन विभिन्न वडामा खरिद गरेको छ।
कार्यक्रममा नेकपा एमालेका स्थायी समिति सदस्य प्रभु साह, नगरपालिकाकि मेयर रिनाकुमारी साहलगायतका नेताहरुको उपस्थिति रहेको थियो।