यसकारण भत्किन्छन् पुल
पुल निर्माणअघि माटो परीक्षण राम्रोसँग गर्नुपर्छ । यसो नगर्दा र डिजाइन बिग्रँदा जग बिग्रने गर्छ ।
पुलहरू बिभिन्न प्रयोजनका लागि बनाइन्छन्। देशको यातायातका विकासका लागि त पुलको महत्वपूर्ण योगदान हुन्छ। नेपालमा सयौं नदीनाला छन्, ती पार गर्न पुलहरूको आवश्यकता अति नै हुन्छ। पुलहरूको अभाबले गर्दा जीवन गुजार्नै गाह्रो हुने अवस्था छ। स्वास्थ्य, शिक्षाको विकासमा समेत यसको प्रभाव देखिन्छ। ढलानको पुल, फलामको पुल, झोलुंगे पुल लगायत धेरै खालका पुल नेपालमा छन्। नेपालमा खोला तर्न मानिसका लागि परापूर्व कालदेखि नै काठ र बाँसका पुलहरू बन्दै आएका थिए। पछी गाडी तार्न पक्की पुलहरूको आवश्यकता हँुदै आयो। यसका लागि विभिन्न देशको सहयोग लिन थालियो। सो सिलसिलामा जुन देशले सहयोग गर्यो, बाटो र पुलहरू तिनैले डिजाइन गरेर दिए। जस्तो, भारत, चीन, सोभियत संघ, बेलायत, संयुक्त राज्य अमेरिका आदि। पछि सडक विभाग, डोलिडार, एलआरबीपी आदि सरकारी र गैरसरकारी संस्थाले नेपालमै सडक पुलहरू डिजाइन गर्ने र बनाउन थाले।
नेपालमा पुलहरू भत्कनुका कारण
अस्थायी संरचनाको विफलता
असफल पुलमध्ये आधाभन्दा बढी निर्माण अघि वा निर्माणको क्रममा असफल भएका छन्। यसको प्रमुख कारण अस्थायी संरचना भत्किनु वा धसिनु हो। पुलले आफ्नो डिजाइन शक्ति प्राप्त नगर्दासम्म पुललै अड्याएर राख्ने संरचनालाई नै अस्थायी संरचना भनिन्छ। बनिराख्दाको समयमा टेकाहरू नपुग्नु, टेकाहरूको राम्रो डिजाइन नहुनु यसका कारण हुन्। टेका (अस्थायी संरचना)को आड कमजोर हुनुका कारण पुल भत्किने हुन्छ्र। देवघाट पुलको भत्काइ यस प्रकारको विपत्तिको प्रमुख र पछिल्लो उदाहरण हो। त्यो चार स्पान पुलको दुई प्रिस्ट्रेस्ड कंक्रिट स्प्यानहरू खसेर पूर्ण रूपमा भत्किएको थियो। यस विनाशकारी असफलताका कारण बलौटे माटो धसिएर भएको थियो। जसमा अस्थायी संरचना निर्माण गरिएको थियो। अस्थायी संरचनाको उचाइ कम गर्न बलौटे माटोमाथि अस्थायी संरचना बनाउँदा र सो अस्थायी संरचना धसिँदा समस्या आएको हो।
बाढीले बगाउने
मनसुन र भारी वर्षाको समयमा बाढी र फ्ल्यास फ्लडका कारण ठूलो मात्रामा पुलहरू असफल हुन्छन्। बाढीले धेरै तरिकामा पुललाई क्षति पुर्याउन वा भत्काउन सक्छ। सामान्य तरिकामध्ये निर्माणाधीन पुलहरू बगाउने, पुलको निश्चित लम्बाईका कारण पुलको पछाडिबाट एब्युटमेन्ट वाल नै बगाउने र अपर्याप्त फ्रिबोर्डका कारण पानीको धाराले पुलको डेक ओभर टपिङ गर्ने हो। यसको मुख्य कारणमा खोलामा पानीको मात्रा हिसाबमा नमिल्नु, पुलको उचाइ कम हुनु आदि हुन्। २१ मे २०२१ मा लगातार वर्षाका कारण डडेल्धुरामा निर्माणाधीन पुल बाढीले बगाएको थियो। म्याग्दीको दानाको घट्टेखोलामा निर्माणाधीन अर्को पुल अपुग फ्रिबोर्डका कारण बाढीले बगाएको थियो। अनुसन्धानका अनुसार उक्त पुलमा बाढीको सतह पुलको डेक स्तरभन्दा माथि थियो।
सपोर्ट विफलता
सपोर्ट (पियर वा एब्युटमेन्ट) असफल भएपछि पुल क्षतिग्रस्त हुन वा भत्किन सक्छ। सपोर्टमा हुने संरचनात्मक क्षति वा सपोर्ट धसिनुबाट एउटा सपोर्ट विफल हुन सक्छ। नेपालको सन्दर्भमा पियर वा एबटमेन्टहरूमा संरचनात्मक क्षतिहरू कम छन्। तथापि, ठूला बाढीहरूमा सपोर्ट धसिनु एउटा प्रमुख समस्या बनेको छ। पछिल्लो वर्षहरूमा सपोर्ट धसिनुको मुख्य कारण उच्च बाढीको समयमा जग धसिनु हो। जगको गहिराइ, आकार र निर्माण पर्याप्त नहुँदा उच्च बाढीको समयमा तिनीहरूले भार वहन गर्न सक्दैनन्। माटोको परीक्षण राम्रो नहुनु, जगको डिजाइन नमिल्नु, माटो कमजोर हुनु, खोलाको बहावले जग खोस्रनु आदि यसका कारण हुन्। बर्दियाको जब्दीघाट पुल यस प्रकारको असफलताको प्रमुख उदाहरण हो। आवागमनका लागि खुला गरेको एक वर्ष नबित्दै उक्त ४३५ मिटर आरसीसी पुलको पिलर धसिएपछि दुईवटा स्प्यान भत्किएका थिए।
भूकम्पबाट हुने क्षति
नेपाल भूकम्पीय जोखिममा रहेको हिमाली क्षेत्रमा पर्छ। अप्रिल २०१५ मा नेपालमा ७.८ म्याग्निच्युडको भूकम्पले नेपालभर एक लाख ३८ हजार एक सय ८२ घर पूर्णरूपमा र एक लाख २२ हजार ६ सय ९४ घरमा आंशिक क्षति पु्र्याएको थियो। कुल १० हजार ३ सय ९४ सरकारी भवन भत्किएका थिए भने १३ हजारभन्दा बढीमा आंशिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको थियो। गोरखा भूकम्पपछि गरिएको अध्ययनले देशभरका पुलमा ठूलो क्षति नभएको देखिए पनि सबैभन्दा बढी प्रभावित जिल्लाका पुलमा भने केही क्षति देखिएको थियो। नेपाल–चीन सीमा नजिक रहेको घट्टे पुल भुकम्पका कारण ढुंगा खस्दा रेलिङमा ठूलो क्षति पुगेको थियो। तर, त्यो १२० मिटर (४० मिटरको तीन स्प्यान) आरसीसी टी –गर्डर पुलमा भूकम्पको कारण हुने भूकम्पीय क्षति एकदमै सीमित थियो। ढुंगाले ठक्कर नदिएका संरचनात्मक तत्वहरूलाई क्षति पुगेको थिएन। भूकम्पका कारण भवनको तुलनामा पुलमा भएको क्षति नगण्य थियो।
डिजाइनअनुसार कार्यान्वयन नहुनु
कतिपय पुल निर्माणको गुणस्तर कम भएर भत्केका छन्। ढलान गुणस्तर कम हुनु, डन्डी राम्रो प्रयोग नहुनु, निर्माण सर्वेक्षण राम्रो नहुनु आदि यसका मुख्य कारणहरू हुन्। डिजाइन अनुसार कार्यान्वयन नहुने पुलमा टेकुको विष्णुमती पुल पर्छ। भत्किएको टेकुस्थित विष्णुमति पुल सडक विभागले डिजाइन अनुसार नभएको उल्लेख छ।
पुल भत्किनुका कारण र समाधान
पुल निर्माणको लागत ठूलो हुन्छ। यो असफल भएमा अझ बढी खर्च हुन्छ। सडक विभागका अनुसार २०२१ मा मात्रै करिब २० करोड रुपैयाँ खर्च भएका पुल असफल भएका थिए। साथै, पुलको विफलताले मुख्यतया बाढी र पहिरोको समयमा प्रभावित दुर्गम क्षेत्रहरूमा राहत र सहयोगको अभाव निम्त्याउँछ। कहिलेकाँही पुल भत्किँदा मानिसको ज्यानसमेत जाने गर्छ। संरचनात्मक डिजाइनको चरणमा जानुअघि पुलको पर्याप्त योजना गरिनुपर्छ। डिजाइन त्रुटिका कारण पुलको संरचना भत्किने घटना नेपालमा त्यति देखिएको छैन।
बाढीको समयमा पुल असफल हुनुको अर्को कारण ठिक हाइड्रोलोगिकल अनुसन्धान र हाइड्रोलोजिकल डिजाइन नहुनु हो। वर्षाको समयमा उच्च बाढी सुरक्षित रूपमा पार गराउन पुल पर्याप्त लामो हुनुपर्छ। पुलको उचाइ उच्च बाढी तह र पुलको बीचमा पर्याप्त फ्रि बोर्ड हुनु पर्छ। यदि त्यहाँ पर्याप्त फ्रि बोर्ड छैन भने पानीको प्रवाहले पुलको डेकलाई ढाल्न सक्छ। यसलाई बगाएर लैजान सक्छ। कतिपय बिकसित देशहरूमा १५० वर्ष सम्ममा आउनसक्ने बाढीको सामना गर्न सक्ने पुल बनाइन्छ। नेपालमा सय वर्षमा आउन सक्ने बाढीको मात्र सामना गर्न सक्ने गरी डिजाइन गरिन्छ। विभिन्न कारणले पुलको लम्बाइ कम गर्नुपर्ने अपरिहार्य अवस्थामा बाढी पार गर्न पुलको उचाइ बढाउनु पर्छ। दुवै किनारामा तटबन्धको पर्खाल निर्माण, जगको गहिराइ उपयुक्त रूपमा बढाउने र किनाराहरूमा सुरक्षात्मक कामहरू गर्नु पर्ने हुन्छ। जलविज्ञान अनुसन्धान जस्तै भू–प्राविधिक अनुसन्धान उच्च पारी शुद्धता र अनुशासनका साथ गर्नुपर्छ।
पुल निर्माणअघि त्यहाँको माटोको परीक्षण राम्रोसँग गर्नुपर्छ। माटोको परीक्षण उपयुक्त नहुँदा र डिजाइन बिग्रँदा पुलको जग बिग्रने गर्छ। योजना र डिजाइनमा ध्यान दिए पनि निर्माणको क्रममा नेपालमा धेरै पुल असफल भएका छन्। यसको मुख्य कारण कामदार र ठेकेदारको आवश्यक सीपको अभाव, उचित सुपरिवेक्षणबिना द्रुत गतिमा काम हुनु र न्यून गुणस्तरको सामग्रीको प्रयोग हुनु नै हो। पुल निर्माण गर्दा साइट इन्जिनियर, कामदार, आयोजना प्रबन्धक, ठेकेदार र ग्राहक सबैले एक आपसमा सहकार्य गर्नुपर्छ। साइट इन्जिनियर, पर्यवेक्षक र ग्राहकले भइरहेको सबै कुराको निरीक्षण गर्नुपर्छ। पुल र निर्माण सामग्रीको प्रत्येक विवरण जाँच गर्नुपर्छ।
नेपालका कामदारहरू पुल निर्माणमा नयाँ नै छन् भन्नु पर्छ। त्यसैले निर्माण कार्य सुरु गर्नुअघि पर्याप्त तालिम दिनु आवश्यक पर्छ। पुलका लागि किनाराहरूमा सुरक्षात्मक काम धेरै महत्वपूर्ण हुन्छन्। उच्च बाढीको समयमा नदीको बहावले आफ्नो मार्ग परिवर्तन गर्न सक्छ। खोलाले पूरै मार्ग परिवर्तन गरी दिएकाले प्रयोगमा नआएका पुलहरूका थुप्रै उदाहरण छन्। अन्त्यमा, पुल बनेपछि मर्मतसम्भारमा पनि उत्तिकै महत्व दिनुपर्छ। सम्भावित क्षतिहरू जस्तै भत्किएका बोरिङहरू, संरचनामा दरार, नदीको प्रवाहमा अवरोधहरू आदिका लागि समय–समयमा पुलहरू जाँच गरिनु पर्छ। तिनलाई न्यूनीकरण गर्न र पुललाई भत्किनबाट रोक्न आवश्यक कार्य तुरुन्तै गर्नु पर्छ।