यसरी बुझौं
भएकोमा सन्तोष गर्नुभन्दा अनावश्यक प्रयास गर्ने बानीले मानिसलाई मानसिक र शारीरिक रूपमा दुःख दिइरहेको हुन्छ । काम गर्नुअघि सोच्न सके परिणाम सहज हुन्छ ।
एउटा विशाल जंगलमा थियो। एकसाथ पाँच जना मानिस हिँडिरहेका थिए। बिहानैदेखि एकोहोरो हिँडिरहँदा तिनीहरूलाई भोकले निकै नै सताइरहेको थियो। जंगली जनावारले आक्रमण गर्ने डरले तिनले जंगलमा केही पनि खान पाइरहेका थिएनन्। धेरै थाकेपछि उनीहरू एक ठाउँमा उभिए। कस्तो गज्जबको संयोग ! त्यहाँ उनीहरूले एक ठाउँमा लटरम्म पाकेको जामुनको बोट देखे।
पाकेको फलैफलले भरिएको जामुनको रूख देखेपछि सबैमा थोरै भए पनि अघाउने आश जाग्यो। पहिलो व्यक्तिले भने–‘यो रूखलाई काटेर ढालौं र पेटभरि फल खाऔं।’ दोस्रो व्यक्तिले फरक बुझाइ बताए– ‘सिंगो रूख नै त काट्नु नपर्ला। फलले भरिएका ठूला–ठूला हाँगा काट्यौं भने पेटभरि खान पाइहालिन्छ नि।’
दुवैको कुरा सुनिसकेपछि तेस्रो व्यक्ति अघि सरे। उनले भने– ‘यस्तो गर्नु नै पर्दैन। छोटा–छोटा हाँगा काट्यौं भने भइहाल्छ।’ चौथो व्यक्ति पनि के कम ! उनले सुझाव दिए– ‘किन यति धेरै गरिरहनुपर्यो ?’ पहिलोले भने, किन र ? उनले थपे, ‘जामुनको फलको गुच्छा मात्र खसाले पुग्छ।’ चौथो व्यक्तिले भने– ‘गुच्छालाई काटेर किन झार्नु पर्यो ? सबै जना रूखमा चढांैं र त्यहीं बसेर छानीछानी खाऔं।’ सँगै हिँडे पनि कसैका कुरा कसैसँग मिलेनन्।
अन्तिममा पाँचौं व्यक्ति बोले– ‘मेरो कुरा ध्यानले सुन। भूइँमा जेजति जामुनका फल खसेका छन्, त्यसैलाई टिपेर खायौं भने हाम्रो भोक मेटिन्छ। भूइँमै झरेका फलले हामी अघाउँछौं भने रूखमा चढ्नु, हाँगा काट्नु र रुखै नै ढाल्नु किन पर्यो र ?’ सबै एकअर्काको मुख हेराहेर गरेर आआफ्नो बुद्धिको मूल्यांकन गर्न थाले।
नैतिक शिक्षा : भएकोमा सन्तोष गर्नुभन्दा अनावश्यक प्रयास गर्ने बानीले मानिसलाई मानसिक र शारीरिक रूपमा दुःख दिइरहेको हुन्छ। काम गर्नुअघि सोच्न सके परिणाम सहज हुन्छ।