प्रसिद्ध ३ मन्दिर वर्षौंदेखि महन्तविहीन

प्रसिद्ध ३ मन्दिर वर्षौंदेखि महन्तविहीन

जनकपुरधाम : जनकपुरधाममा गुठी जग्गा अतिक्रमण नभएको मठमन्दिर छैन। कतै मठमन्दिर नै लोप हुने अवस्थामा पुगेका छन्। संरक्षण गर्न बनेका संस्थान, समितिका पदाधिकारी र कर्मचारीकै मिलेमतोमा प्राचीन सम्पदाको अस्तित्व संकटमा पर्दै आएको छ।

केही स्थानमा महन्तकै कारण अतिक्रमणमा बल पुगेको भेटिएको छ। कतै महन्त नहुँदा बेथिति देखिन्छ। महन्त नभएका तीन प्रसिद्ध मन्दिरमा नयाँ नियुक्ति गर्न गुठी संस्थानले चासो दिएको छैन। जसकारण मठमन्दिरको चल, अचल सम्पत्ति संरक्षण हुन सकेको छैन। नित्य पूजाआजामा समस्या भएको छ। समयावधि पुगेका, जग्गा बेचेको आरोपमा हटाइएका र विभिन्न काण्डमा परेर फरार भएका महन्तको ठाउँमा नियक्ति हुन नसकेको हो।

सर्वोच्च अदालतले जानकी मन्दिरमा प्रक्रिया पुर्‍याएर नियुक्ति गर्न संस्थानलाई आदेश दिएको थियो। तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासको आदेश हालसम्म कार्यान्वयन भएको छैन। 

संस्थानले २०७० माघ १६ गते महन्त रामतपेश्वर दासलाई हटाएर जगदीशदास वैष्णवलाई नियुक्ति गरेको थियो। त्यसविरुद्ध रामतपेश्वरले सर्वोच्चमा २०७० माघ २१ गते रिट दायर गरेका थिए। 
उनले महन्त आफ्नो वंशज नियुक्त हुने भएकाले अर्कैलाई नियुक्त गर्नु प्रक्रियाअनुसार नभएको दाबी गरेका थिए।
रामतपेश्वर मन्दिर कब्जा गरी लामो समयदेखि बस्दै आएको निष्कर्षसहित संस्थानले जगदीश दासलाई महन्त नियुक्ति गरेको थियो। गुठी संस्थान ऐन २०३३ को दफा १६ (२०) मा संस्थानले मठमन्दिरमा बढीमा पाँच वर्ष महन्त नियुक्ति गर्ने व्यवस्था छ। 

रामतपेश्वरलाई संस्थानका तत्कालीन प्रशासक विष्णु पोखरेलले २०५३ साउन २७ गते १९ वर्षअघि नियुक्तिपत्र दिएका थिए। सर्वोच्चले उनको मुद्दामा आठ वर्षअघि निर्देशिका बनाई नयाँ महन्त नियुक्त गर्न भनेको थियो। पूजाविधिमा ज्ञान भएकालाई योग्यताका आधारमा नियुक्ति गर्न भनिएको थियो। तर, अहिलेसम्म प्रक्रियाअनुसार जानकी मन्दिरले ‘वैध महन्त’ पाउन सकेको छैन। तर, रामतपेश्वरले नै काम गरिरहेका छन्। 

जानकी मन्दिरको सम्पत्ति हिनामिना गरेको भन्दै अख्तियारले रामतपेश्वर दासविरुद्ध ३३ करोड बिगोसहित भ्रष्टाचार मुद्दा चलाएको छ। रामतपेश्वरले मन्दिरको आय–व्ययको जानकारी संस्थानलाई दिएका छैनन्। 
संस्थानका अधिकारी जयप्रकाश रेग्मीका अनुसार महन्थ नियुक्ति भएदेखि प्रत्येक वर्ष आयव्ययको विवरण बुझाउनुपर्ने नियम छ। तर, हालसम्म कुनै विवरण संस्थानलाई उपलब्ध नगराएको रेग्मीको भनाइ छ। जानकी मन्दिरको सयौं बिघा बिक्री गरिएको तथ्य भोजराज पोखरेल आयोगको प्रतिवेदनले देखाए पनि कुनै कारबाही भएको छैन।

महोत्तरी मटिहानीको लक्ष्मीनारायण मठ सस्ंथानअन्तर्गत विभिन्न मठमन्दिरमध्ये अग्रणी स्थानमा पर्छ। पछिल्लो ३० वर्षमा सार्वजनिक सम्पत्ति संरक्षणको साटो विभिन्न जिल्लामा रहेका अर्बौं–खर्बौं मूल्य पर्ने २२ बिघाभन्दा बढी जमिन अनधिकृत रूपमा बेचेको आरोपमा महन्त जगन्नाथ दास हटाइए। त्यसपछि २८ महिनादेखि महन्त छैनन्। जसकारण नियमित पूजा, अतिथि स्वागतसत्कार र सार्वजनिक सम्पत्तिको रेखदेखमा समस्या भइरहेको जनाइएको छ।

जिम्मेवारीबाट हटाइए पनि संस्थानले कानुनी कारबाही र सम्पत्ति फिर्ताको कुनै पहल नगरेपछि जगन्नाथ दास लक्ष्मीनारायण मठ मै बसिरहेका छन्। मन्दिरको कारोबार उनकै हातमा छ। 

जनकपुरधामको प्रख्यात रत्नसागर मन्दिर पनि १५ महिनादेखि महन्तविहीन छ। तत्कालीन महन्त वैकुण्ठ दास व्यक्ति हत्या कसुरमा १२ वर्ष कैद सजाय तोकिएपछि फरार छन्। मन्दिरमा उनकै भाइ अनिल तिवारी ‘हर्ताकर्ता’ भएर बसेका छन्। उनी पत्नी र बालबच्चासहित कुटीमै बस्ने गरेको मन्दिरका एक साधुको भनाइ छ। नाम नबताउने सर्तमा ती साधुले भने, ‘मन्दिरको गर्भगृहमा अशुद्धी भएका मानिस जति बेला पनि आउजाउ गर्छन्। उनीहरूलाई भन्ने कोही छैन। कसले लगाम लगाओस् ? हामी सानो साधु केही भन्न पनि डर लाग्छ। केही भन्यो कि भगाइदिने धम्की दिन्छन्।’

बैकुण्ठ दास फरार भएको अढाई वर्षसम्म उनको स्थानमा नयाँ महन्त नियुक्ति नहुँदा उनको भाइले कब्जा जमाएको जनाइएको छ। उनले मन्दिरको सम्पूर्ण दानदक्षिणादेखि उठेका भेटी र आम्दानी वैकुण्ठकहाँ भारत पुर्‍याउने गरेको स्रोतको दाबी छ। 

मठ–मन्दिरका नाममा रहेको जमिन बेचेर महन्त, तिनका आफन्त र बिचौलियाहरू करोडपति भएका छन्। अर्बौं रुपैयाँको सम्पत्ति रहेको जनकपुरधामका मठमन्दिरका महन्त नियुक्तिमा ठूलो धनराशिको चलखेल हुन्छ। सस्ंथानका पदाधिकारीसँग लेनदेनमा कुरा नमिलेपछि मटिहानीको लक्ष्मीनारायण मठ र जनकपुरधामको रत्नसागर मन्दिरमा महन्त नियुक्त हुन नसकेको जनाइएको छ। रिक्त स्थानमा पदपूर्ति गरी बिक्री भएको सरकारी जग्गा फिर्ता र बिक्रीमा संलग्न महन्तमाथि थप छानबिन गरी कारबाही गर्नु आवश्यक देखिएको छ।

संस्थानको जनकपुर शाखा प्रमुख वैकुण्ठ रेग्मीले महन्तको नियुक्ति केन्द्रीय गुठी संस्थानअन्तर्गत पर्ने बताए। ‘त्यसकारण हामीले नियुक्ति गरेर वा भनेर हुँदैन। हामीले यहाँबाट सिफारिस गर्ने हो। तर, जानकी मन्दिर र मटिहानी मठको विषयमा अदालतले नै रोक लगाएकाले हामीले गर्ने अवस्था छैन’, रेग्मीले भने। रत्नासागरका लागि पहल गरिएको उनको भनाइ छ।

आस्था, विश्वास, श्रद्धा नभएकालाई मन्दिरको पुजारी नियुक्ति गरेर सम्पूर्ण हिन्दु सनातन धर्मको खिल्ली उडाउनेलाई कारबाही गर्दै कथित पुजारीलाई बर्खास्त गर्नुपर्ने राजनीतिज्ञ प्रदीप भट्टराईको कथन छ। ‘मन्दिर आस्था र श्रद्धाको केन्द्र हो। मन्दिर विश्वासको आश्रय हो। मन्दिर सभ्यता र संस्कृतिको धरोहर हो’, भट्टराईले भने। 

भ्रष्टाचारविरोधी अभियानका संयोजक मुरलीमोनहर मिश्रले रामजानकीलगायत प्रमुख मन्दिरहरू तथा गुठी जग्गा संरक्षण र व्यवस्थापनका लागि सिफारिस गर्न गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०६२ (भोजराज घिमिरे आयोगको प्रतिवेदन) कार्यान्वयन गर्न माग गरे। प्रतिवेदन कार्यान्वयनले मठमन्दिरको अस्तित्व बच्नुका साथै आलिसान महल बनाएर अवैद्य भू–माफिया कारोबारीसमेत तह लाग्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.