भूकम्प सुरक्षाको सार्थकता

भूकम्प सुरक्षाको सार्थकता

भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा विगतका प्रयास तथा अनुभवको आदानप्रदान गर्दै अघि बढ्नुको विकल्प छैन।


मुलुकमा गएको भूकम्पमध्ये सबैभन्दा ठूलो १९९० माघ २ गतेको थियो। यसै दिनको सम्झनामा नेपाल सरकारले २०५५ सालदेखि प्रत्येक वर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ। यस वर्षको राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूलनारा भने ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने छ। दोस्रोे महाभूकम्प २०७२ वैशाख १२ गते गएको थियो। १९९० सालमा भूकम्प रेकर्ड गर्ने प्रविधि भित्रिएको थिएन। त्यसको ३४ वर्षपछि २०३४ सालमा फ्रान्स सरकारको सहयोगमा ललितपुरको फुल्चोकी डाँडामा भूकम्प मापन गर्ने यन्त्रको स्थापना राखी भूकम्पको निगरानी सुरु गरियो। नेपालमा ६, १०, ६० र ८० वर्षको समय अन्तरालमा पनि ठूल्ठूला विनाशकारी भूकम्प गएका छन्।

काठमाडौं उपत्यका भूकम्पीय जोखिममा ११औं स्थानमा रहेको र अति संवेदनशील क्षेत्र भएको विज्ञहरूको भनाइ छ। देशमा भूकम्पको लामो इतिहास त छैन तर अभिलेखका आधारमा हेर्ने हो भने सन् १२५५ जुन ७ का दिन ७.७ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो। जसमा काठमाडौं उपत्यकामा एक तिहाइ मानिसको ज्यान गएको र तत्कालीन राजा अभय मल्लको पनि ज्यान गएको थियो। राजा जयदेव मल्लको समयमा सन् १२६०, राजा श्रीनिवास मल्लको समयमा सन् १६८२ र सन् १८१०, राजा गीर्वाणयुद्धविक्रम शाहको समय सन् १८२३ र सन् १८३३ मा गएको भूकम्पले काठमाडौंलाई थुप्रै क्षति पुर्‍याएको थियो। त्यसैगरी धरहरासमेत भाँचिएको, ठिमी र भक्तपुरका प्रायः घर क्षतिग्रस्त भएका थिए भने राज्यभर करिब १८ हजार घर भत्किए।

मुलुकमा विज्ञहरूको भनाइअनुसार नेपालमुनिको इन्डियन प्लेट हरेक वर्ष १८–२० सेन्टिमिटरका दरले तिब्बतियन प्लेटमुनि घुस्नु नै नेपाल र वरपरको क्षेत्रमा भूकम्प जानुको मुख्य कारण हो। १९९० सालको ८.४ रेक्टर स्केलको महाभूकम्पमा ८ हजार ५ सय १९ ले ज्यान गुमाए। त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै चार हजारको मृत्यु भएको अनुमान छ। त्यसमा देशभर ८० हजार ८ सय ९३ घर ध्वस्त भएका थिए। २०३१, २०३७, २०४५, २०५०, २०५२, २०५४, २०५८, २०६०, २०६८ मा नेपालका विभिन्न ठाउँमा भूकम्प गएको अभिलेख छ। २०७२ को भूकम्पमा भएको भौतिक क्षतिको पुनर्निर्माण कार्य सम्पन्न हुन अझै केही वर्ष लाग्ने देखिन्छ। करिब १० लाख घरमध्ये ६ लाख ३८ हजार ५ सय ४० घर मात्र पुनर्निर्माण भएका छन्।

६ वर्षअघिको भूकम्पले घर भत्किएर समस्यामा परेका ८ लाख ११ हजार ७ सय ५४ घरधनीले पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरेका छन्। क्षतिग्रस्त ९ सय २० सम्पदामध्ये ४ सय ९३ को पुनर्निर्माण सम्पन्न भएको छ। अहिले २ सय ८८ सम्पदा पुनर्निर्माण भइरहेका छन्। मूलतः रानीपोखरी, धरहरा पुनर्निर्माण कार्य सकिएका छन्। क्षतिग्रस्त ७ हजार ५ सय ५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ। बाँकी १७ प्रतिशत विद्यालयको पुनर्निर्माण भइरहेको छ। विद्यालयको पुनर्निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। १ हजार १ सय ९७ स्वास्थ्य संस्थामध्ये ६ सय ९८ को पुनर्निर्माण सम्पन्न भएको छ। २ सय ९६ स्वास्थ्य संस्थाको पुनर्निर्माण जारी छ। ४ सय १५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनर्निर्माण भए पनि बाँकी यसै छन्।

प्राधिकरणअन्तर्गत निर्माण भइरहेका सुरक्षा निकायका २ सय १६ संरचनामध्ये २ सय १४ को पुनर्निर्माण सकिएको छ। विभिन्न जिल्लामा भूकम्पले असर गरेका ७ सय ६२ किमि सडक पुनर्निर्माण गर्नुपर्नेमा ५ सय २५ किमि सडक मात्र बनेको छ। बाँकी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य छ। महाभूकम्पका ६ वर्षमा अपेक्षाअनुसार न त घरहरू नै बने न त सरकारी अभियान नै सन्तोषजनक देखियो। त्यसैले पनि आज भूकम्प सुरक्षाको सार्थकता खोज्नुपर्ने बेला आएको छ।  तीनै तहका सरकारले आफूलाई तोकेको जिम्मेवारीलाई पूर्णरूपमा समयमै पूरा गरेको भए आज पुरानै कुरामा गन्थन गरिरहनु पर्ने थिएन। यही गति हो भने आगामी वर्ष पनि यही गन्थन दोहोरिने निश्चित छ। देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा विगतका प्रयास तथा अनुभवको आदानप्रदान गर्दै अघि बढ्नुको विकल्प छैन। साथै नयाँ प्रविधि र उपायको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता जनाउने उद्देश्य पनि दिवसको छ।

ठूलो भूकम्पले जमिनमुनि जम्मा भएको सबै शक्ति जमिनको सतहसम्म ल्याइदियो। त्यसको केही समय अर्को ठूलो भूकम्पको जोखिम त्यति हुँदैन। तर नेपालको सन्दर्भमा ठूलो भूकम्प पूर्वी नेपालमा सन् १९३४ मा गएको देखिन्छ। मध्य नेपालमा निरन्तर गइरहेको र पछिल्लो केही दशक नगएको अवस्था पनि छ। पश्चिम नेपालमा सन् १५०५ मा गएको हुँदा पूर्वीभन्दा मध्य र पश्चिम नेपालमा तुलनात्मक रूपमा भूकम्पको जोखिम उच्च भन्न सकिन्छ। मुलुकमा हरेक ८० देखि सय वर्षमा महाभूकम्प र ३० देखि ४० वर्षमा मझौला खालको भूकम्प गएको तथ्यांकले पुष्टि गरेको छ।

१९९० भन्दा पहिला गएको भूकम्पले पारेको क्षतिको केही अनुमानित तथ्यांकबाहेक अरू केही भेटिँदैन। यद्यपि यसको अर्थ यो होइन कि अब देशमा ८०–१०० वर्षपछि मात्र ठूलो भूकम्प जानेछ। पोखरादेखिको पश्चिम क्षेत्रमा विगत पाँच सय वर्षयता ठूलो भूकम्प नगएकाले र ठूलो भूकम्प जान सक्ने शक्ति सञ्चय भएकाले कुनै बेला भूकम्प जान सक्ने विभिन्न अनुसन्धानले देखाएको छ। पोखरापूर्वको क्षेत्रमा पनि २०७२ सालको भूकम्पमा सञ्चित सबै शक्ति स्खलन नभएको देखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.