बर्दिवासका क्रसर उद्योग अवैधानिक
महोत्तरी : बर्दिवास नगरपालिकामा सञ्चालित क्रसर उद्योग अवैधानिक रहेको पाइएको छ। नगरका विभिन्न खोलामा संचालित २२ वटा क्रसर उद्योगहरु कुनै न कुनै रुपमा अवैधानिक रहेको नगरपालिकाको कार्यालयले जनाएको हो।
नगरप्रमुख विदुरकुमार कार्कीका अनुसार विभिन्न समयमा नगर लगायतका विभिन्न सरोकारवाला निकायबाट भएका अनुगमन गर्दा क्रसर उद्योगहरु अवैध रहेका छन् । नगरप्रमुख कार्कीले भने, ‘नगरपालिकाले ती उद्योगहरुलाई नियमन गर्नका लागि ठोस नीति बनाइएको छ। हामी त्यहि नीतिलाई अवलम्बन गर्दै त्यस्ता उद्योगलाई बन्द गर्नेछौं। अबको केही दिनमै सरोकारवालापक्षसँग समन्वयन गर्दै अनुगमनको आधारमा नीतिगत कानुनको आधारमा दायरामा ल्याउनेछौँ।’
राजमार्गबाट ५ सय मिटर दूरीमा, शिक्षण संस्थाबाट दुई किलोमिटर दूरीमा, हाइटेन्सन लाइनबाट २ किलोमिटर दूरीमा, बन निकुञ्जबाट दुई किलोमिटर दूरीमा, पक्की पुलबाट पाँच सय मिटर दूरीमा, घनाबस्तीबाट दुई किलोमिटर दूरीमा, चुरे पहाडको फेदिबाट १५ सय मिटर दूरीमा, खोला वा नदी किनारबाट पाँच सय मिटर दूरीमा सञ्चालित क्रसर उद्योगहरु अवैधानिक रहने नगरपालिकाको कार्यालयले बनाइएको नीतिमा उल्लेखित छन्।