गरिबीले हुन सकेन् मृगौला प्रत्यारोपण
दैलेख : आर्थिक अभावमा दैलेखका एक युवकको मृगौला प्रत्यारोपण हुन सकेको छैन। गरिबीका कारण आठबीस नगरपालिका–१ सात्तला झुज गाउँका ३७ वर्षीय गणेशबहादुर नेपालीको मृगौला प्रत्यारोपण हुन नसेको हो। उनी हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत छन। हप्तामा दुई पटक डायलायसिस गरेर जीवन धानिरहेका गणेशलाई उनकी आमाले मृगौला दिन तयार छिन। तर, मृगौला प्रत्यारोपणका लागि आवश्यक रकम जुटाउन नसक्दा प्रत्यारोपण रोकिएको छ। गणेशकी आमा ६९ वर्षीया सिद्ध दमेनीले छोरालाई एउटा मृगौला दिन तयार भएकी हुन्।
‘आमा मृगौला दिन तयार हुनुहुन्छ, तर प्रत्यारोपणका लागि चाहिने खर्च जुटाउन सकेको छैन्, अहिले हप्तामा दुई पटक डायलायसिस गरेर बाँचिरहेको छु,’ गणेशले भने। गरिबीकै कारण मृगौला प्रत्यारोपण गर्न नसकेको गणेशले बताए। गणेशको दुई वटै मृगौला फेल भएको छ। उनको दुईवर्षअघि नै मृगौला फेल भएको थियो। त्यसयता निरन्तर डायलायसिस गरेर बाँचिरहेका गणेशलाई हालै मात्र आमाले एउटा मृगौला दिन तयार भएकी हुन। मृगौला प्रत्यारोपणका लागि गणेश र उनकी आमाको स्वास्थ्य परिक्षण भईसकेको छ।
‘मृगौला दिन आमा तयार भएपछि प्रत्यारोपणका लागि सबै स्वास्थ्य परिक्षणहरु भईसकेका छन् तर रकम अभावमा मृगौला प्रत्यारोपण अनिश्चित बनेको छ,’ उनले भने। हालसम्म ७ लाख रुपैयाँ उपचार खर्चमै सकिएको उनले बताए। ‘अस्तालले केही रकम सरकारले व्यहोर्छ भन्नुभएको छ, हामीले ७ लाख रुपैयाँ जोहो गर्नुपर्नेछ, रकम जोहो गर्न अस्पतालले ताकेता गरेको छ, तर कहाँबाट जुटाउने केही उपाय छैन्,’ उनले भने ‘सम्पती बेचेर उपचार गरौँ भने आफ्नो नाममा एक टुक्रा जमिन छैन्।’ काठमाडौंमा कोठाभाडा तिर्न र छाक टार्नसमेत हम्मेहम्मे परेको गणेशले बताए। ‘निरन्तर डायलायसिस गर्नलाईसमेत पैसा छैन्,’ उनले भने ‘मृगौला प्रत्यारोपण गर्ने पैसा कहाँबाट ल्याउने ?’
गरिब र विपन्न दलित तथा सुकुम्बासी परिवारका गणेशलाई मृगौला प्रत्यारोपणमा सहयोग गर्न स्थानीय बीरबहादुर नेपालीले आग्रह गरे। ‘आर्थिक अभावमा गणेश जीवनमरणको दोषाधमा छन्, उनलाई सहयोग गर्ने कोही छैन्,’ उनले भने। परिवारको साहारा पनि उनै गणेश हुन्। परिवारको साहारा रहेका गणेशका दुई वटै मृगौला फेल भएपछि पत्नी र सन्तानको बिचल्ली परेको छ। उनका चार छोरी, दुई छोरा र पत्नी रहेका छन।