पश्चिमा मुलुकबाट आयातित उत्पादनमार्फत् ओमिक्रोन फैलिएको चीनको आरोप
बेइजिङः पश्चिमा मुलुकबाट आयातित विभिन्न उत्पादनका सामग्रीबाट ओमिक्रोन फैलिएको चीनले आरोप लगाएको छ। पछिल्लो समय चीनमा ओमिक्रोन फैलिनुको मुख्य कारण पश्चिमा मुलुकबाट आयातित उत्पादन भएको आरोप चीनले लगाएको हो।
जाडोयाममा खपत हुने बाह्य मुलुकबाट आएका विभिन्न आयातित सामग्रीमार्फत् ओमिक्रोन तीव्ररुपमा फैलिएको आरोप सोमबार चिनियाँ अधिकारीहरुले लगाएका गार्जियनमा समाचार छ।
यद्यपि, चिनियाँ अधिकारीहरुको सो अभिव्यक्तिमा कुनै पनि वैज्ञानिक कारण नभएको विज्ञहरुले बताएका छन्। क्विन्सल्याण्ड युनिभर्सिटीका सरुवा रोग विज्ञ डा. आयन म्याकीले गार्जियनसँग भनेका छन्, ‘चिनियाँहरुले वैज्ञानिक आधारमा नभई भाइरसमार्फत् राजनीति गर्न खोज्दैछन्। यो भाइरसको कुनै स्रोत छैन। कोभिड हावाबाट सर्ने पुष्टि भइसकेका हामी सबैलाई थाहै छ। किनकि घोडालाई जेब्रा भन्न मिल्दैन।’