त्रिशुली अस्पतालमा आँखा उपचार सुरु
नुवाकोट : नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा पहिलोपटक आँखा उपचार सेवासमेत सन्चालन भएको छ। यसबाट सेवाग्राहीहरुलाई निकै सुविधा पुगेको छ। विदुर नगरपालिका–९ वागटार कोलोनप्स्थित त्रिशुली अस्पतालले आइतबारदेखि आफ्नो सेवा विस्तार गर्दै आँखा उपचार सेवा पनि सुरु गरेको छ। सरकारी अस्पतालमध्ये नेपालकै गुणस्तरिय अस्पतालमा स्तरीकरण भएपछि त्रिशुली अस्पतालले आँखा परिक्षण र उपचार सेवालाई पनि सञ्चालन गरेको अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिए।
नुवाकोट, रसुवा र धादिङका उत्तरी क्षेत्रका सर्वसाधारणको उपचार हुँदै आएको त्रिशुली अस्पतालले आँखा उपचार सेवा सञ्चालनका लागि नयाँ भवनको दोस्रो तल्लामा ओपिडी विभाग स्थापना गरेर औपचारिक सेवा सुरु गरेको अध्यक्ष न्यौपानेले बताए। अस्पतालका प्रमुख डा. दीपेन्द्र पाण्डेले आँखा उपचार सेवा सुरुवाती चरणमा अस्पतालमा सामान्य आँखाको जाँच मात्र हुने बताए।
“स्वास्थ्य मन्त्रालयमा विशेषज्ञ चिकित्सकको लागि निवेदन पठाई सकेका छौं।”,उनले अगाडि भने “तत्काल बिरामीको आँखा शल्यक्रियाको लागि तिलगंगा आँखा प्रतिष्ठानसँग पनि प्रक्रियागत रुपमा कुरा भइरहेको छ, मधुमेह लगायत अन्य रोगहरुका बिरामीको अवस्थाकारण आँखा जाँच सेवालाई पनि सुरु गरेको हौं।”
अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि विस्तारै शल्यक्रिया उपकरण र विशेषज्ञ चिकित्सकको सहजतापछि आँखाका बिरामीको शल्यक्रिया पनि अस्पतालमा गरिने उनले बताए। त्रिशुली अस्पतालमा उपचारका लागि दैनिक बहिरंगतर्फ दुई सय र आस्मिकतर्फ ८० जना बढी पुग्ने गरेका छन्।