चीनको जन्मदर हालसम्मकै न्यून, वृद्धहरुको संख्या बढ्यो

चीनको जन्मदर हालसम्मकै न्यून, वृद्धहरुको संख्या बढ्यो

बेइजिङः चीनको जन्मदर न्यूनमा झरेको छ भने वृद्धवृद्धाहरुको संख्या बढेको छ। सन् २०२१ मा चीनको जन्मदर हालसम्मकै न्यूनमा झरेको हो भने वृद्धवृद्धाहरुको संख्या बढेको हो।

चीनको राष्ट्रिय तथ्यांक व्युरोले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२१ मा १ हजार मानिसमध्ये ७.५२ मानिसले मात्र बच्चा जन्माएका छन्। जसका कारण जन्मदर न्यून बनेको हो। सो जन्मदर चीनमा जनगणना सुरु हुन थालेयताकै अर्थात् सन् १९४९ यताकै न्यून हो। चीनमा सन् २०२० मा हरेक १ हजार मानिसमध्ये ८.८२ ले मात्र बच्चा जन्माएको बताइएको छ। पछिल्लो समय वृद्धवृद्धाहरुको संख्या भने निकै बढेको तथ्यांक ब्युरोले जनाएको छ।

चीनले गतवर्ष देशको जन्मदर घटेको भन्दै हरेक दम्पतीहरुलाई तीन सन्तान जन्माउन अनुमति दिएको थियो। सन् २०१६ मा चीनले दशकौं वर्ष पुरानो एक सन्तान नीति खारेज गरेको थियो। सो नीति खारेज गरी चीनले दुई सन्तान जन्माउनुपर्ने नीति अघि सारेको थियो। सहरी समाजमा सन्तान हुर्काउन बढी खर्चिलो हुने हुँदा अधिकांश चिनियाँ दम्पतीले एकभन्दा बढी सन्तान जन्माउने नीति नअपाएको र जन्मदर ह्वात्तै घटेको विश्लेषकहरुले बताएका छन्।

कोभिड महामारीमा संसारका १० धनाढ्यको सम्पत्ति दोब्बर

नाइरोबीः कोभिड-१९ महामारीको समयमा संसारका सर्वाधिक धनी व्यक्तिको सम्पत्ति दोब्बर भएको खुलेको छ। अक्सफाम इन्टरनेसनल नामक एक परोपकारी संस्थाले सोमबार महामारीको समयमा संसारका सर्वाधिक १० धनी व्यक्तिको सम्पत्ति दोब्बर भएको खुलाएको हो।

गरिबीविरुद्धको परोपकारी संस्था अक्सफामद्धारा सोमबार सार्वजनिक अध्ययनले सो खुलासा गरेको हो। सो अध्ययनअनुसार कोभिड-१९ महामारीको समयमा संसारका १० धनी व्यक्तिको सम्पत्ति दोब्बर बनेको छ। एलन मस्क, जेफ बेजोस, मार्क जुकरवर्ग र विल गेट्सलगायत संसारका सर्वाधिक १० धनी व्यक्तिको सम्पत्ति महामारीको समयमा पनि दोब्बर भएको सो अध्ययनले पुष्टि गरेको छ।

फोर्ब्स पत्रिकाले टेस्ला र स्पेस एक्सका प्रमुख एलन मस्क, अमेजनका जेफ बेजोस, गुगलका संस्थापक ल्यारी पेज र सेर्गे ब्रिन, फेसबुकका मार्क जुकरवर्ग, माइक्रोसफ्टका पूर्व सिइओ बिल गेट्स आदीलाई संसारका १० धनी व्यक्तिको सूचीमा राखेको छ। कोभिड महामारीले धनी र गरिबबीच झनै ठूलो असमानताको खाडल बनाएको अक्सफामले जनाएको छ।

महामारीमा बेलायतमा मदिरा पिउने बढे

लण्डनः बेलायतमा मदिरा सेवन गर्नेहरुको संख्या ह्वात्तै बढेको एक सर्वेक्षणले देखाएको छ। कोभिड-१९ महामारीको समयमा मात्राभन्दा बढी मदिरा सेवन गर्ने बेलायती नागरिकको संख्या ह्वात्तै बढेको त्यहाँको सरकारी तथ्यांकले देखाएको हो।

सरकारको स्वास्थ्य सुधार तथा असमानता विभागको नयाँ तथ्यांकअनुसार कोभिड-१९ महामारी सुरु भएपछि करिब ८० लाख बेलायती युवाहरुले मात्र दैनिक एवं सप्ताहन्तमा वाइन, बियर र ह्विस्कीजस्ता मध्यपान गर्दै आएका छन्। महामारीले अधिकांश बेलायती मानिसहरुमा मदिरा पानको लत बढाएको छ। जुन विगतभन्दा १८.१ प्रतिशतले बढी हो।

म्हामारी सुरु हुनुअघि अर्थात् सन् २०२० अघि त्यहाँका युवापुस्ताले करिब ११ प्रतिशतमात्र मदिरा सेवन गर्ने गर्थे। सो सर्वेक्षणपछि अनावश्यक मात्रामा मदिरा पिउनाले खतरनाक रोग निम्तीने विज्ञहरुले चेतावनी दिएका छन्।

ग्रिसमा कोभिड खोप नलगाउने वृद्धवृद्धालाई मासिक जरिवाना लाग्ने

एथेन्सः दक्षिण-पूर्वी एसियाली मुलुक ग्रिसमा कोभिड-१९ विरुद्ध खोप नलगाउने वृद्धवृद्धाले मासिक जरिवाना तिर्नुपर्ने भएको छ। सोमबारदेखि लागू हुनेगरी खोप नलगाएका ६० वर्षभन्दा माथिका वृद्धवृद्धाले सो जरिवाना तिर्नुपर्ने भएको हो।

त्यहाँका प्रधानमन्त्री किरियाकोस मिसोताकिसले सो घोषणा गरेका हुन्। ‘६० वर्षमाथिका हाम्रा कतिपय नागरिकहरुले अझै कोभिडविरुद्ध खोप लगाएका छैनन्। उहाँहरुलाई म आजै खोप लगाउन अनुरोध गर्दछु। यदि उहाँहरुले अझै पनि खोप लगाउन मनाही गरेमा मासिक जरिवाना हुनेछ,’ प्रधानमन्त्रीले भनेका छन्।

जरिवाना स्वरुप वृद्धवृद्धाहरुको मासिक वृद्ध भत्ता, स्वास्थ्य हेरचाह र अन्य सेवा सुविधामा कटौति गरिने बताइएको छ।

हिमआँधीका कारण अमेरिका र क्यानडाका ८ करोड बढ मानिस अन्धकारमा

जर्जियाः क्यानडा र अन्य अमेरिकी राज्यहरुमा आएको हिम आँधीका कारण ८ करोडभन्दा बढी मानिसहरु अन्धकारको चपेटामा परेका छन्। हिम आँधीपछि परेको भारी हिमपात र वरफ जम्दा क्यानडा र अमेरिकाका विभिन्न राज्यमा सो संख्यामा मानिसहरु अन्धकारको चपेटामा परेका हुन्।

आइतबार सो क्षेत्रमा हिमआँधीसँगै भारी हिमपात भएको थियो। हिम आँधीपछि विद्युत कटौति हुँदा क्यानडा र अमेरिका विभिन्न राज्यहमा अन्धकार छाएको बताइएको छ। हिम आँधीपछि अमेरिकी राज्य भर्जिनिया, जर्जिया, नर्थ एण्ड साउथ क्यारोलिनामा आपतकालीन घोषणा गरिएको छ।

हिमआँधीपछि प्रभावित क्षेत्रका ३ हजारभन्दा बढी उडानसमेत रद्‍द गरिएको बीबीसीमा समाचार छ। हिमआँधीसँगै विभिन्न क्षेत्रमा परेको १ फिट उचाइको हिमपातका कारण विद्युत अवरुद्ध हुनुका साथै सवारी दुर्घटनासमेत बढेको अन्तर्राष्ट्रिय मिडियामा उल्लेख छ।

बाइडेन र किशिदाबी वार्ता हुदै

वासिङ्टनः अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानका नवनियुक्त प्रधानमन्त्री फुमियो किशिदाबीच भेटवार्ता हुने भएको छ। दुई देश प्रमुखबीच आगामी शुक्रबार भर्चुअल माध्यममार्फत् भेटवार्ता हुने भएको हो।

एसिया प्रशान्त क्षेत्रमा चीनसँग तनाव बढिरहेका बेला बाइडेन र किशिादाले जनवरी २१ मा भेटवार्ता गर्न लागेको बताइएको छ। दुई देशबीच आर्थिक, कूटनीतिक र मानवीय सम्बन्ध बलियो बनाउन बाइडेन र किशिदाले वार्ता गर्न लागेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सो भेटमा दुई शीर्ष नेताले अमेरिकी र जापान सहयोगी पक्षसँगको सम्बन्ध अझै बलियो बनाउने र एसिया प्रशान्त क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्नेबारे छलफल गर्ने बताइएको छ।

साउदीमा ४५ सय वर्ष पुरानो राजमार्ग फेला

दुवईः पुरातत्वविद्हरुले ४५ सय वर्ष पुरानो राजमार्ग सञ्जाल फेला पारेका छन्। अष्ट्रेलियाका पुरातत्वविद्हरुले साउदी अरेवियामा ४५ सय वर्ष पुरानो राजमार्ग सञ्जाल फेला पारेका हुन्।

वेस्टर्न अष्ट्रेलियाको विश्वविद्यालयका अन्वेषक एवं पुरातत्वविद्हरुले लामो र फराकिलो अनुसन्धानपछि सो राजमार्ग फेला पारेका हुन्। सो राजमार्ग संरक्षितरुपमा राखिएको प्राचिन चिहानसँग जोडिएको अन्वेषकहरुले बताएका छन्।

यसअघि गएको डिसेम्बरमा प्रकाशित एक जर्नलमा अन्वेषकहरुले उत्तर पश्चिमी अरबिया क्षेत्र अल उलामा प्राचिन चिहानहरु फेला पारेको उल्लेख गरेका थिए। हालः भने सो चिहानहरुसँग जोडिएको खयबर क्षेत्रमा करिब ४५ सय वर्ष पुरानो राजमार्ग फेला परेको अन्वेषकहरुले बताएका छन्।

सो क्षेत्रमा आफूहरुले करिब १८ हजार वटा प्राचिन चिहानहरु फेला पारेको पुरातत्वविद्हरुले दाबी गरेका छन्।

ज्वालामुखी प्रभावित क्षेत्रमा न्युजिल्याण्ड र अष्ट्रेलियाले पठायो विमान

टोङ्वाः न्युजिल्याण्ड र अष्ट्रेलिया सरकारले ज्वालामुखी प्रभावित क्षेत्रमा विमान पठाएका छन्। ज्वालामुखी विस्फोटबाट भएको क्षतिबारे जानकारी लिन दुवै मुलुकले सोमबार सो क्षेत्रमा छुट्टाछुट्टै विमान पठाएका हुन्।

सामुद्रिक क्षेत्रमा रहेको मुलुक टोङ्बामा शनिबार समुद्री ज्वालामुखी विस्फोट भएको थियो। विस्फोटपछि आसपासको क्षेत्रमा खरानीले ढाकेको थियो भने टोङ्वासँगको सञ्चार एवं अन्य सम्पर्क टुटेको थियो। ज्वालामुखी विस्फोटपछि सो क्षेत्रमा सुनामी आएको थियो।

आइतबार साँझसम्म सो क्षेत्रको क्षतीको एकिन विवरण प्राप्त नभएको बताइएको छ। तर सोमबार न्युजिल्याण्ड र अष्ट्रेलियाले सो क्षेत्रको अवस्था बुझ्न आफ्नो मुलुकबाट प्रभावित क्षेत्रमा विमान पठाएको गार्जियनमा समाचार छ। शनिबारको सो सामुद्रीक ज्वालामुखी विस्फोट हालसम्मकै शक्तिशाली भएको बताइएको छ।

संयोजनः अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.