विद्यार्थी नियमित गराउन टिफिन बक्स वितरण
ताप्लेजुङ : जिल्लाको फक्ताङ्लुङ र सिरिजंघा गाउँपालिकाका करिब ३ हजार विद्यार्थीलाई टिफिन बक्स (खाजा बोक्ने भाँडा) वितरण गरिएको छ। ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र्(रिड नेपाल)ले विद्यार्थीलाई विद्यालयमा नियमित गराउने उद्देश्य राखेर यस क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई टिफिन बक्स वितरण गरेको हो।
तीनवर्षको अवधीमा १५ लाख ४४ हजार रुपैयाँको लागतमा २ हजार ९७० विद्यार्थीलाई वितरण गरिएको रिड नेपालका शिक्षा विकास अधिकृत रोमा मावोले जानकारी दिईन्। पहिलो वर्ष २०७६ सालमा ५७० थान, दोस्रो वर्ष २०७७ सालमा १५०० थान र यसवर्ष ९०० थान टिफिन बक्स वितरण गरिएको हो।
संस्थाको कार्यक्षेत्र रहेको फक्ताङलुङ गाउँपालिकाका भित्रका २२ वटा विद्यालय र सिरीजंघाको १३ वटा विद्यालयगरी हालसम्म ३५ ओटा विद्यालयहरुमा स्वास्थ्य सामाग्री र टिफिन बक्स वितरणगरी सकिएको मावोले बताईन्।
“हामीले हालसम्म दुई स्थानीय तहको ३५ वटा सामुदायिक विद्यालयमा सामग्री वितरण गरिसकेका छौँ । अन्य विद्यालयमा पनि पुर्याउने लक्ष्य रहेको छ।” माबोले भनिन् “विद्यालयमा बिहान कक्षा सुरुहुँदा कोठाभरी रहने विद्यार्थी दिउँसो टिफिनको समयपछि ह्वात्तै घट्ने गरेको पाइएपछि विद्यार्थीलाई टिफिन बक्स वितरण गर्ने योजना बनेको हो।” दिउँसो टिफिन समयपछि विद्यार्थी घरमा खाजा खान जाने गरेका र त्यसपछि उनीहरु विद्यालय नआउने गरेको पाइएकाले दिवा खाजा विद्यालयमै लिएर आउनलाई सहज हुनेगरी टिफिनबक्सको योजना अघि सारिएको रिडका जिल्ला प्रवन्धक राजेन्द्र पन्तले बताए। “पहिले सरहरुले विद्यार्थी विद्यालयमा टिकाउनै सकिएन भनेर विद्यालयमा तारबारको माग गर्नुभयो। हामीले त्यो पनि दियौँ, तर विद्यार्थी तारबार तोडरै भाग्न थाले।”
जिल्ला प्रबन्धक पन्तले भने “त्यसपछि थाहा भयो, विद्यार्थीहरु भोकका कारणले भाग्ने गरेका रहेछन्। अनि टिफिन बक्स वितरणको योजना बन्यो।” टिफिनबक्स वितरण गरेसँगै हाल विद्यार्थी बिहान १० बजेदेखि विद्यालय विदा हुने समय दिउँसो ४ बजेसम्म नै रहन थालेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको अनुभव छ।
यता कोभिड १९ को महामारीको जोखिमबाट जोगिनका लागि संस्थाले विद्यालयमा स्वास्थ्य सामाग्री समेत वितरण गरेको छ। विद्यालयमा आवश्यक पर्ने सावुन, फिनायल, सेनिटाइजर, माक्स, ट्वाइलेट ब्रस, टावल आदि वितरण गरिएको मावोले जानकारी दिईन्। माबोका अनुसार अघिल्लो वर्ष २ लाख ८५ हजार र यो वर्ष ३ लाख ६ हजार ५०० गरि जम्मा ६ लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको हो।
हिमालयन ट्रस्ट युकेको आर्थिक सहयोगमा सन् २००७ देखि शैक्षिक क्षेत्रमा लगानी गर्दै आएको ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)ले विद्यालयमा विद्यार्थीलाई सिकाउन र टिकाउन पहल गर्दै आएको छ। संस्थाले शिक्षक तथा अभिभावकलाई तालिम, शैक्षिक सामग्री र छात्रवृत्ति प्रदान गर्ने गरेको छ।