इन्डोनेसियाले राजधानीको नाम र स्थान परिवर्तन गर्दै, अबुधावी प्रवेश गर्न बुस्टर डोज अनिवार्य

इन्डोनेसियाले राजधानीको नाम र स्थान परिवर्तन गर्दै, अबुधावी प्रवेश गर्न बुस्टर डोज अनिवार्य

विदेशी सामान नभित्राउन चीनको सिफारिस

बेइजिङ : चीनको राजधानी बेइजिङ सहरमा विदेशी सामान नभित्र्याउन स्थानीय सरकारले सिफारिस गरेको छ । विदेशबाट पठाइएका सामानहरु सहरमा नभित्र्याउन  सरकारले सोमबार सिफारिस गरेको हो । 

बेइजिङ शहरकी एक स्थानिय महिलाले विदेशबाट पठाएको सामान खोल्दा आफू ओमिक्रोन संक्रमित भएको अभिव्यक्ति दिएपछि बेइजिङका सरकारी अधिकारीहरुले विदेशी सामान र चिठ्ठी पत्र नभित्र्याउन सिफारिस गरेका हुन् । 

चिनियाँ पक्षले अझैपनि कोभिड १९ संक्रमित मुलुकबाट पठाएका सामान खानेकुरा र अन्य सामानबाट फैलिएको तर्क गरिरहेका छन् । चिनियाँ पक्षको सो तर्कप्रति वैज्ञानिकहरुले प्रश्न गरिरहेको अन्र्तराष्ट्रिय मिडियामा खबर छ । 

बेइजिङमा आयोजित शीतकालिन ओलम्पिक्स सुरु हुनुभन्दा करिब तीन हप्ताअघि बेइजिङमा ओमिक्रोन फेला परेको छ । ओमिक्रोन संक्रमण रोक्न सरकारले सोमबार सो खेलकुदमा सर्वसाधारणहरुले सहभागी हुन नपाउने घोषणा गरेको थियो । 

‘भारतीय मुस्लिमहरुको नरसंहार’ गर्ने बताउँदै आएका बाबा पक्राउ 

नयाँ दिल्ली : भारतीय मुस्लिमहरुको नरसंहार गर्ने बताउँदै आएका बाबा पुन पक्राउ परेका छन् । देशमा धार्मिक हिंसा निम्त्याउने अभिव्यक्ति दिएको भन्दै भारतीय प्रहरीले बाबा यति नरसिंहानन्द गिरीलाई पुन पक्राउ गरेको हो । 

ती बाबालाई यसअघि गएको शनिबार पक्राउ गरिएको थियो । भारतका वरिष्ठ प्रहरी अधिकारी स्वतन्त्र कुमारका अनुसार बाबा नरसिंहानन्दलाई उनकै आश्रमबाट पक्राउ गरिएको हो । उनले सार्वजनिक रुपमा भारतीय मुस्लिमको नरसंहार गर्नुपर्ने अभिव्यक्ति दिएको आरोपमा पुन पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउपछि उनलाई १४ दिनको लागि हिरासतमा राखिएको बताइएको छ । बाबा नरसिंहानन्दविरुद्ध कारबाहि हुनेसमेत प्रहरीले जनाएको छ । यदि उनको अभिव्यक्ति सहि साबित भएमा ५ वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ । 

बाबा नरसिंहानन्दले हरिद्धारमा आयोजित एक कार्यक्रममा भारतिय मुस्लिमविरुद्ध नरसंहार गर्नुपर्ने अभिव्यक्ति दिएको र महिलाविरुद्ध अपाच्य शब्द बोलेको अभियोग लागेको थियो । 

मोदीसँगको भेटपछि रुसद्वारा भारतमा आणविक रियाक्टर निर्माण सुरु 

तमिलनाडु : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनबीच गएको डिसेम्बरमा भएको भेटवार्तापछि रुसले भारतमा आणविक (न्युक्लियर)  रियाक्टर निर्माण कार्य सुरु गरेको छ । रुसले भारतको तमिलनाडुस्थित कुडनकुलाममा छैठौं आणविक रियाक्टर निर्माण कार्य सुरु गरेको हो । 

रुसले तामिलानाडुमा अवस्थित कुडनकुलाम न्युक्लियर पावर प्लान्टमा हालै छैठौं आणविक रियाक्टर निर्माण थालेको भारतीय मिडियामा खबर छ ।  भारतीय मिडियाकाअनुसार रुसको न्युक्लियर इन्जिनिरिङ कम्पनी अटोमास र रोसाटोमले छैठौं आणविक रियाक्टर निर्माणको काम थालेको हो । सो आणविक रियाक्टर १ हजार मेगावाट इलेक्ट्रिक क्षमताको रहेको बताइएको छ । 

युक्रेन सीमा नजिकै सैन्य अभ्यास गर्न रुसले बेलारुसमा सैनिक पठायो 

मस्को : रुसले युक्रेनको छिमेकी मुलुक बेलारुसमा आफ्ना सैनिक पठाउन सुरु गरेको छ । युक्रनेको सीमानजिकै संयुक्त सैन्य अभ्यास गर्न रुसले सोमबारदेखि आफ्ना सैनिक बेलारुस पठाउन सुरु गरेको हो । 

रुसले सो संयुक्त सैन्य अभ्यासको नाम ‘युनाइटेड रिजल्भ’ अर्थात् संयुक्त समाधान राखेको छ । रुसको सो कदमले पश्चिमा मुलुकमा द्वन्द्व निम्त्याउने र युक्रेनमाथि त्रास खडा गर्ने विश्लेषकहरुले बताएका छन् । 

बेलारुसका सरकारी अधिकारीहरुले मंगलबार रुसी सेनाहरु हातहतियार र सैन्य सवारी साधानसहित बेलारुस पुगिसकेको बताएका छन् । रुसले फेब्रुअरीमा युक्रनेको सीमा नजिकै संयुक्त सैन्य अभ्यास गर्ने तालिका तय गरेको छ । 

बेलायतले युक्रेनको रक्षा गर्न हातहतियार पठाउने 

लण्डन : बेलायत सरकारले युक्रेनको रक्षा गर्ने भएको छ । सरकारले रुसविरुद्ध युक्रेनको रक्षा गर्ने भएको हो । युक्रेनको रक्षाका लागि बेलायतले सर्ट रेन्ज मिसाइल र आत्मरक्षाका लागि विभिन्नखाले हातहतियारहरु युक्रेन पठाइरहेको बेलायती रक्षा सचिव बेन वालेसले बताएका छन् । हाल सरकारले युक्रेन सैनिकलाई तालिम दिन बेलायती सैनिकको समूह युक्रेन पठाउने तयारीसमेत भइरहेको वालेसले बताएका छन् । 

‘हामी रुसको वास्तविक कारण खोजिरहेका छौं । युक्रनेमाथि रुसले हमला गर्न सक्ने हुँदा हाम्रो चिन्ता बढेको थियो’ बीबीसीसँग उनले भनेका छन्, ‘रुसले युक्रेनको सीमा नजिकै तैनाथ गरेका लाखौ सैनिकले युक्रेनमाथि आक्रमण गर्ने चिन्ता छदैछ । त्यो चिन्ता हटाउन हामीले युक्रेनको रक्षा गर्नेछौं । युक्रेनको रक्षाका लागि हामीले बेलायती सेना र हातहतियार पठाउँदैछौं ।’
रुसले युक्रेनमाथि तत्काल आक्रमण गर्ने कुनै सम्भावना नभएको बताउँदै आएको छ । पश्चिमा मुलुककै कारण युक्रेनमाथि तनाव बढेको रुसले आरोप लगाउँदै आएको छ । 

 इन्डोनेसियाले राजधानीको नाम र स्थान परिवर्तन गर्दै 

जर्काता : दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसियाले वर्तमान राजधानी जर्काताको नाम र स्थान परिवर्तन गर्ने योजना बनाएको छ । इन्डोनेसियाको सरकारले मंगलबार वर्तमान राजधानी जर्कातालाई स्थानान्तरण गर्ने र नयाँ राजधानीको नाम नुसान्तरा राख्ने योजना बनाएको हो । 

इन्डोनेसियाली शब्द नुसान्तराको अर्थ द्धिपसमूह हो । सरकारी कार्यालयहरु पूर्वी प्रान्त कालिमान्तानमा सारिएपछि राजधानी जर्काताको नाम नुसान्तारा राख्ने निर्णय गरेको बताइएको छ ।यसअघि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सन् २०१९ मा पहिलो पटक इन्डोनेसियाको राजधानी अन्यत्रै सारिने सरकारको योजना रहेको बताएका थिए ।बर्तमान राजधानी जर्कातामा वातावरणीय चुनौती बढ्दै गएका कारण देशको राजधानी स्थानान्तरण गर्ने उनले बताएका थिए । तर, कोभिड महामारीका कारण सरकारको योजना सफल भएको थिएन । मंगलबार त्यहाँको कानुनले राजधानी सार्न मिल्ने बनाएपछि नयाँ राजधानी सन् २०२४ सम्ममा जर्काताबाट सर्ने र नुसान्तारा नाम राखिने बताइएको  छ । 

टोङ्वा ज्वालामुखी विस्फोटमा पुरियो समुदाय, क्षतिको विवरण अझै अस्पष्ट

वेलिङटनः टोङ्वा ज्वालामुखी विस्फोट भएको चार दिन वितिसक्दा पनि विस्फोटबाट भएको क्षतिको विवरण अझै अस्पष्ट बनेको छ । ज्वालामुखी विस्फोटपछि त्यहाँको सञ्चार र अन्य सेवा अवरुद्ध हुँदा क्षतिको विवरण अझै खुलेको छैन।

ज्वालामुखी विस्फोटमा परि टोङबामा मंगलबारसम्म दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । ज्वालामुखी विस्फोटबाट निस्केको खरानीका कारण क्षतिको बाँकी विवरण भने आँकलन गर्न नसकिएको बताइएको छ । 

टोङ्वा टापुमा भएको बस्तीको अवस्था र त्यहाँको क्षतिबारे बुझ्न सोमबार प्रभावित क्षेत्रमा न्युजिल्याण्ड र अष्ट्रेलियाले आफ्नो विमान पठाएको थियो । ज्वालामुखी विस्फोटपछि सो क्षेत्र खरानीले ढाकेको हुँदा सो विमान प्रभावित क्षेत्रमा पुग्न नपाउँदै फर्किएको थियो । विभिन्न निकायहरुले सो क्षेत्रको वास्तविक क्षतिको विवरणबारे बुझ्न खोज्दा अझै एकिन विवरण प्राप्त नभएको अन्र्तराष्ट्रिय मिडियामा खबर छ । सो क्षेत्रमा अतुलनिय क्षती पुगेको हुन सक्ने अनुमान गरिएको छ । 

शनिबार टोङ्वा टापुनजिकै समुद्री ज्वालामुखी विस्फोट भएको थियो । सो ज्वालामुखी विस्फोटको आवाज अमेरिकासम्म सुनिएको थियो । ज्वालामुखी विस्फोटपछि सो समुद्र आसपासका क्षेत्रमा सुनामी गएको थियो । सो ज्वालामुखी पछिल्लो ३० वर्षयताकै शक्तिशाली ज्वालामुखी भएको विज्ञहरुले बताएका छन् । सो ज्वालामुखी विस्फोटले वर्षौसम्म नकारात्मक वातावरणीय असर पुग्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । 

अबुधावी प्रवेश गर्न बुस्टर डोज अनिवार्य 

दुवई : युनाईटेड अरब एमिराट्स युएईको राजधानी अबुधावी सहर प्रवेश गर्न सरकारले कोभिड १९ विरुद्धको बुस्टर डोज अनिवार्य गराएको छ । युएई सरकारको स्वास्थ्य विभागले मंगलबार अबुधावी प्रवेश गर्न चाहने जुनसुकै मानिसले बुस्टर डोज अनिवार्य लगाउनुपर्ने नियम लागु गरेको हो । 

यसअघि त्यहाँको सरकारले सो शहर प्रवेश गर्न खोप कार्ड अर्थात् ‘ग्रिन पास’ अनिवार्य गराएको थियो । पछिल्लो समय सरकारले ओमिक्रोन संक्रमितको संख्या बढेको भन्दै बुस्टर डोज अनिवार्य गराएको अन्र्तराष्ट्रिय मिडियामा खबर छ । एसोसियटेड प्रेसकाअनुसार अबुधावी प्रवेश गर्न चाहने मानिसको कोरोना रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने र उनीहरुले बुस्टर डोज अनिवार्य रुपमा लगाएको हुनुपर्नेछ । 

यमनमा साउदी नेतृत्वको घातक हमलामा १२ बढीको मृत्यु 

साना : साउदी नेतृत्वको गठबन्धनले यमनमा गरेको हवाई हमलामा कम्तीमा १२ जनाको ज्यान गएको छ । गठबन्धनले यमनको राजधानी सानामा मंगलबार बिहानै गरेको घातक आक्रमणमा परि कम्तीमा १२ मानिसको ज्यान गएको हो ।

इरान नेतृत्वको पूर्व सेनाको गृह क्षेत्रलाई लक्षित गरी सो आक्रमण गराएको बताइएको छ । सो आक्रमणमा करिब १४ मानिसको ज्यान गएको प्रारम्भिक रिपोर्टले देखाएको छ । हुथी बिद्रोहीले युनाइटेड अरब एमिराट्स युएईको आबुधामीमा ड्रोन आक्रमण गरेको भोलीपल्ट साउदी नेतृत्वको गठबन्धनले सो क्षेत्रमा घातक हमला गरको हो ।  

सन् २०१४ को अन्त्यमा हुथी बिद्रोहीले यमको राजधानी र उत्तरी यमनमा कब्जा जमाएपछि यमनका राष्ट्रपति अब्द रब्बु मानसौर हादीले सरकार छोडेका थिए । हादीको सरकार पुनस्र्थापना गराउन साउदी अरबिया र युएईले सन् २०१५ मा यमनको युद्धमाथि हस्तक्षप गरेका थिए । युएईले सन् २०१९ मा यमनमा आफ्ना सैनिक तैनाथ गराएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.