प्रथम मधेस आन्दोलनको १५औं वर्ष : मधेसले के पायो, के गुमायो ?

प्रथम मधेस आन्दोलनको १५औं वर्ष : मधेसले के पायो, के गुमायो ?

जनकपुरधाम : ‘एक जुगमा एक दिन एक चोटी आउँछ,

उलटपुलट–उथलपुथल, हेरफेर ल्याउँछ’ 
यी गीतका हरफले हरेक आन्दोलनले परिवर्तन ल्याउने संकेत गर्छ। तर, पटक–पटक भएको मधेस आन्दोलन र त्यसयताका उपलब्धि केलाउँदा गीतले भनेको कुरा अपवाद बन्छ। ती उथलपुथलमा ज्यानको बलिदानी दिएका सहिदहरूको सपना अझै पूरा हुन सकेको छैन्। न त तिनका परिवारले उचित सम्मान पाउन सकेकै छन्। 

मधेसमा आह्वहान गरेरै दुई ठूला आन्दोलन भए। ०६२/०६३ र ०७२/०७३ मा दुई पटक आन्दोलन भयो। पहिलो आन्दोलनमा सहभागी भएर अन्तरिम संविधान २०६३ मा समान सहभागिता, पहिचान, समानुपातिक, समावेशी र अर्को संविधानमा मधेसीका पहिचान र अधिकार प्राप्त नभएको भनी दुई छुट्टाछुट्टै आन्दोलन भए। आन्दोलनबाट मधेसले केही नपाएको पनि होइन्। केही अझै बाँकी रहेको नेताहरू बताउँछन्। आन्दोलनमा सबैभन्दा बढी उपलब्धि नेताहरूले पाएको तर्क गर्छन् नागरिक। स्थानीय तहको निर्वाचनमा होस् वा प्रदेश अथवा प्रतिनिधिसभाका निर्वाचन। मधेस आन्दोलनको जगमा पुगेका नेताहरू हिजोको दिनलाई भुलेको सहिद परिवारको आरोप छ। 

प्रत्यक्ष वा अप्रत्यक्ष आन्दोलनमा होमिएकाहरूलाई उपेक्षा गरिएको राजनीतिज्ञ विश्लेषक अन्नतः अनुराग बताउँछन्। भने, ‘आन्दोलनताका सहिद भएकै दिन विशेष भाषण दिने तर सत्ता र भत्ताको मोहमा नेताहरू पुगेपछि आन्दोलनकारी बिर्सेका छन्।’ विश्लेषक मेहताले निर्वाचनको समयमा सहिदको नामबाट जनतासामु भावनात्मक रूपमा नेताहरू केही वर्षमै फेरिएको बताए। 

सहिद परिवारको गुनासो
२०६३ मा सुरु भएको विद्रोह संविधान जारी हुँदासम्म तीनपटक मधेस आन्दोलित भयो। दर्जनौं मधेसी जनताले ज्यान गुमाए। सयौं आन्दोलनकारी घाइते भए। अशक्त भए, सयौंमाथि राजनीतिक मुद्दा लाग्यो। सयौं नागरिकहरू अहिले पनि आन्दोलनकै कारण जेलमा छन्। यति महँगो मूल्य चुकाएर अहिले मधेसले मधेस प्रदेश सरकार निर्माण गर्‍यो। नाम तोक्यो, राजधानी बनायो। तर, आन्दोलनमा शहादत दिएका सहिद परिवारको अवस्था जस्ताको त्यस्तै छ। ‘सहिद परिवारले कसरी गुजारा चलाएका छन् ? बुवाआमाको अवस्था कस्तो छ ? कसैलाई मतलब छैन,’ दोस्रो मधेस आन्दोलनका सहिद नितु यादवकी आमा राजकुमारीदेवी यादवको गुनासो हो यो।

राजकुमारी यादव, (सहिद परिवार)

मधेस आन्दोलन तथा सहिदको बलिदानीको जगमा बनेको प्रदेश सरकारले नितुको आमा बुवालाई केही गरिदिएका छैनन्। ‘सरकारले सहिद परिवारलाई रोजगारीपत्र र घाइतेलाई आर्थिक सहायता दिए पनि मेरो परिवारले प्रदेश सरकारबाट सम्मानमा वर्षमा माला, टीका र एउटा गम्छाबाहेक केही छैन’, उनले भनिन्। 

धनुषाको जनकपुरधाम उप–महानगरपालिका १९ जमुनिया सहिद नितु यादवको घरमा उनकी आमा प्रायः बस्दिनन्। दिनभरि खेतमै हुन्छिन्। घरमा बस्दा छोराको याद आउँछ, कहिले उसलाई सम्झाएको ती दिन गनेर भक्कानो छोडेर रुन्छिन् त कहिले उनको सुत्ने कोठामा गएर रुन्छिन। सहिद नितुका भाइ रप्पु यादव भन्छन्, ‘मेरो भाइ गुम्यो, आमा त्यही सम्झेर रुन्छिन्, म सम्झाउँछु, कतिदिन कुरा बुझनुहुन्छ, कतिदिन त रोएरै बस्नुहुन्छ।’

धनुषा लक्ष्मीनिया गाउँपालिका–१ अरेरबा टोलका रामनरेश यादवको आँखा ओभाएका छैनन्। छातीमा पत्थर राखेर छोराले मृत्युवरण गरेको अझै सम्झन्छन्।

रामनरेश यादव , (सहिद परिवार)

मधेसको अधिकारका लागि गएका दिलीपलाई सदाका लागि संसारबाट बिदा भएका थिए। पाँच छोराछोरीमध्ये बुढेसकालको सहाराको एक्लो आशा थिए दिलीप। पछिल्लो मधेस आन्दोलनका क्रममा ५६ जनाले ज्यान गुमाएका थिए। तीमध्येका एक हुन् रामनरेशका छोरा दिलीप यादव। ०७२ भदौ २५ गते ‘चलु जनकपुर भरु जनकपुर’ आह्वानको क्रममा प्रहरीको गोली लागि उनको निधन भएको थियो। ‘२५ गते बिहानै दिलीपसँग कुरा भएको थियो, उनलाई जनकपुर नजान सम्झाएँ, दिलीपले नजाने पनि भने, ‘आँखाबाट आँसु झार्दै रामनरेशले भने, ‘म साउदीमा हुँदा एकजना साथीले मलाई फोन गरेर दिलीप कहाँ छ ? भनेर सोधे घरमा फोन गरे रुवावासी चलिरहेको थियो। दिलीपलाई गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो, आफूलाई सम्हाल्न सकिनँ, बेहोस भएँ।’ त्यतिबेला सरकारले प्रत्येक सहिद परिवारलाई १०/१० लाख राहत उपलब्ध गराउने घोषणा गर्‍यो। र, दियो पनि। 

प्रदेश सरकारले सहिद परिवारको अवस्था बुझ्ने प्रयास गरेको छैन। भाषण गर्दा ठूलठूला आश्वासन दिने र सहिदलाई भोट बैंक बनाएर सत्तामा पुग्न सिँढी बनाउने गरेको छ। रामनरेशले नियुक्तिपत्र देखाउँदै भने, ‘यी हेर्नुस् नियुक्तिपत्र छ, तर काम छैन, पैसा पाएको छैन।’ अधिकार प्राप्तिको ठूलठूलो कुरा गर्ने नेताहरू अहिले सत्ताको होडबाजीमा छ। उनले हात जोड्दै भने, ‘जनतालाई ठूला–ठूला सपना देखाएर सत्ताका लागि राजनीति गर्ने नेताहरूको पछि कोही नलागे पनि हुन्छ, गरिब जनताले आन्दोलन गरेर, सहादत दिएर सत्तामा पुर्‍याए पनि गरिब तथा सहिद परिवारको भावनासँग खेलबाड गरेको छ।’ 
राजु चौधरीको पीडा पनि उस्तै छ। सहिदकै नाममा जनताले सत्तामा पुर्‍याए पनि प्रदेश सरकारले सहिदप्रति चासो नदेखाउँदा राजु चिन्तित छन्। उनले शहिद परिवारलाई ५०/५० लाख रुपैयाँ दिने घोषणा गरे पनि अहिले उक्त निर्णयबाट पन्छिन् खोजेको आरोप लगाए।

बलिदानी दिवसमा बिदा
मधेस प्रदेश सरकारले मधेस आन्दोलनको सुत्रपात भएको दिन माघ ५ मा सरकारी बिदा दिने निर्णय गरेको छ। मधेस आन्दोलनका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते मनाइने बलिदानी दिवसमा प्रदेश सरकारले बिदाको दिने गरेको छ। प्रथम मधेस आन्दोलनको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा प्रथम सहिद रमेश महतोले शहादत प्राप्त गरेको सम्झनामा बलिदानीको संज्ञा मधेशी दलहरूले बलिदानी दिवस मनाउँदै आएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.