मिनेटमै ५४ वस्तुको स्मरण
काठमाडौं : सन् २०४० जनवरी ३ का दिन कुन बार पर्छ ? प्रश्न भुईंमा खस्न नपाउँदै उनले जवाफ दिए, ‘मंगलबार’। कसरी कण्ठ गर्न सम्भव छ, यति धेरै ? ‘निश्चित विधि छ। जसको प्रयोगले म ५ सय वर्षसम्मको मिति सजिलै भन्न सक्छु।’
यस्तै विलक्षण स्मरण शक्ति भएका जनकपुरका डा. नवल पजियारले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाइसकेका छन्। उनले १ मिनेटमा ५४ वटा वस्तुको स्मरण गरी विगतका रेकर्डहरू तोडेका थिए। गिनिजले १९ डिसेम्बरमा २०२० मा उनलाई सबैभन्दा बढी स्मरण शक्ति भएको व्यक्ति भएको प्रमाण पत्र प्रदान गर्यो। त्यसयता ‘मेमोरी किङ’ उपनामले देश विदेशमा ख्याति कमाइसकेका छन्।
फिजियोथेरापी पढेता पनि उनी लाइफ कोच, मोटिभेशनल स्पिकर तथा मेमोरी किङको रुपमा बढि चिनिन्छन्। ‘बाल्यकालदेखि नै केही नयाँ गरौं, भन्ने लाग्थ्यो,’ पजियार भन्छन्, ‘त्यसबेला देखिनै फरक तरिकाले पढ्न थालें। अरु साथीहरू रातदिन पढ्थे। म थोरै समय पढ्थें। तर, नतिजा मेरो राम्रो आउँथ्यो।’ ‘हार्ड वर्क’ होइन ‘स्मार्ट वर्क’ गर्नुपर्छ भन्ने सोचकै कारण सफलता हात लागेको उनी बताउँछन्। फिजियोथेरापीमा स्नातक गर्न दक्षिण भारत गए। सोही क्रममा लाइफ कोच डा.फ्रान्सिस जेभियरसँग भेट भयो। जेभियरबाट प्रभावित भएर मेमोरीका कक्षा सञ्चालन गर्न थाले। जिउने तरिका सिकाउन थाले। ‘मैले सिकेको र मेरो आफ्नै टेक्निक प्रयोग गरेर कक्षाहरू दिन थालें।
डा. पजियार भन्छन्, म आफैंले पनि कडा मिहेनत गरेको थिएँ।’ ५ सय वर्ष अघिपछिका मिति तत्कालै भन्न सक्ने डा.पजियार ‘ह्युमन क्यालेन्डर’का रूपमा समेत चर्चित छन्। उनी भन्छन्, ‘स्मरण शक्ति सबैको समान हुन्छ। कसले कसरी प्रयोग गर्छ त्यसमा भर पर्छ।’
घरमा टीभी, कम्प्युटर र मोबाइल कम प्रयोग गर्न अभिभावकलाई उनको सल्लाह छ। ‘फुर्सदको समयमा बाबुअमाले किताब र पत्रपत्रिका पढ्दा बालबालिकाले पनि त्यसैको सिको गर्छन्। यसले उनीहरूको दिमाग तृष्ण हुनुका साथै करले होइन रहरले पढ्नुपर्छ भन्ने धारणा बन्छ,’ डा. पजियार भन्छन्। बिर्सने बानी हटाउन निश्चित टेक्निकको विकास गरेको उनले सुनाए। ‘पहिलो कुरा मानिसलाई स्मरण शक्ति बढाउने चाहना हुनुपर्छ। नियमित अभ्यास गर्नुपर्छ। विद्यार्थीलाई यो टेक्निक निकै फाइदाजनक हुन्छ,’ डा. पजियार भन्छन्, ‘पढ्नु ठूलो कुरा होइन, पढेका कुरा दिमागमा राख्न सक्नु चाहीँ ठूलो कुरा हो। कुनै पनि कुरालाई तस्बिरका रुपमा भनियो भने त्यो लामो समयसम्म स्मरण गर्न सकिन्छ। कानबाट ब्रेनमा गएको नशाभन्दा आँखाबाट ब्रेनमा गएको नशा २० गुणा शक्तिशाली हुन्छ।
त्यसैले सुनेको भन्दा देखेको कुरा लामो समयसम्म स्मरणमा रहने उनको भनाइ छ। ‘मैले जानेको ज्ञान जतिसक्दो धेरैमा बाँड्न चाहान्छु,’ उनी भन्छन्, ‘जसका लागि दिनरात खट्न तयार छु।’ डा. पजियारलाई हालै गण्डकी सरकारले ‘आउटस्ट्याण्डिङ युथ् अफ नेशन’ अवार्डले सम्मान गरेको थियो।