मानवीय खुसीका आयाम

मानवीय खुसीका आयाम

‘विश्व प्रसन्नता सूची’ अनुसार नेपाली निकै खुसी रहने गरेको पाइएको छ। उक्त प्रतिवेदन अनुसार नेपाली दक्षिण एसियामै सबैभन्दा धेरै खुसी छन्।


एउटा मनुष्य किन अर्कोभन्दा धेरै खुसी रहन्छ ? के सबैको खुसीको स्रोत एउटै हो ? किन कुनै मुलुकको नागरिक अर्को मुलुकको नागरिकभन्दा खुसी या दुःखी छ, हुन्छ ? के खुसीको पनि देश, धर्म, संस्कृति, जलवायु र भूगोल हुन्छ ? के अधिकतम जनतालाई खुसी राख्ने खालको संस्कृति निर्माण गर्नु सम्भव छ ? के खुसी हुनु पनि एक कला हो ? जीवनमा यस्ता केही कला सिक्ने व्यक्तिले दुःख पाउँदैन। उत्कृष्ट जीवन कलाकै कारण मानिस खुसी देखिएको हो।

पूर्वीय दर्शनले मूलतः मनुष्य जीवनलाई दुःखदायी मानेको छ। सांख्य दर्शन भन्छ, ‘यो संसार दुःखको महासागर हो।’ योग भन्छ, ‘मनुष्यको चित्त अत्यन्त चञ्चल र अस्थिर छ। सांसारिक खुसीका लागि चञ्चल बन्न खोज्ने चित्तवृत्तिलाई निरोध गर्नु पर्छ।’ न्याय दर्शन भन्छ, ‘राग, द्वेष र मोहको नाश गर। सुख र दुःख दुवैबाट उम्कनु नै मुक्ति हो। जो दुःखबाट छुट्टी चाहन्छ, उसले सुखलाई पनि त्याग गर्नु जरुरी छ।’ मीमांसा भन्छ, ‘देवतालाई खुसी पार्नु मै मनुष्यको खुसी निहित छ।’ मीमांसा दर्शनले स्वर्गलाई आनन्द र प्रफुल्लताको लोक मान्दै स्वर्ग प्राप्ति नै मनुष्य जीवनको अभीष्ट मान्यो। वेदान्त भन्छ, ‘हे मनुष्य ! अद्वय ब्रह्मलाई जान। त्यति जान्न सके न अर्को जान्न बाँकी केही रहन्छ, न त पाउन नै। ब्रह्ममय मनुष्य आफंैमा पूर्ण हुन्छ। पूर्णका लागि के खुसी के दुःख ?’

कृष्ण भन्छन्, ‘समदुःखसुखः स्वस्थः समलोष्टाश्मकाञ्चनः। तुल्यप्रियाप्रियो धीरस्तुल्यनिन्दात्मसंस्तुतिः।’ जो सुख र दुःखमा समान रहन्छ, जो माटो, ढुंगा र सुनलाई समतुल्य देख्दछ...। कृष्ण सुख दुःख र जय पराजयमा समान भाव लिएर आफ्नो कर्ममार्गमा सरिक हुन प्रेरित गर्छन्। बुद्धले मानव चोलालाई दुःखदायी मान्दै भन्छन्, ‘जीवनमा दुःख छ। यो दुःखबाट पार पाउने एउटै बाटो छ, त्यो हो निर्वाण अर्थात्् बारम्बार हुने जन्म र मृत्युुको बन्धनबाट मुक्ति।’ पूर्वीय दर्शनमध्ये केवल चार्वाक अर्थात् लोकायत दर्शनले मात्र यही जीवनलाई खुसी राख्ने प्रेरणा दिन्छ। वर्तमान जीवन नै वस्तुतथ्य हो, पूर्वजन्म र पुनर्जन्मको काल्पनिक कुरामा लागेर संयोगले मिलेको मानव जीवनलाई दुःखी पार्नुको के प्रयोजन ?

लोकको अभिमत बोलिएको हुँदा यसलाई चारुवाक (मीठो वाक्य या सन्देश) भनिएको हो। किन्तु यो दर्शनको प्रभाव लोकमा परे तापनि बौद्धिक र शासकीय वर्गबाट यसको उपेक्षा नै भयो। आस्तिक र बौद्धमतको त्यागमय जीवन र लोकायतको सुखापेक्षी जीवनबीच समन्वय गर्न सकेको भए मानवीय खुसीसम्बन्धी सोचको आयाम नै अर्कै हुने थियो। सबै धर्मले भन्छन्, सुरुसुरुमा मनुष्य निष्पाप र पवित्र थियो। त्यहाँ अशुभ थिएन, दुःख थिएन। मनुष्य शुद्धचित्त र सदाचारी थियो। पूर्वीय सनातन दर्शनमा सत्य, निष्ठा र शुभको आधारमा सभ्यतालाई चार युगमा विभाजन गरिएको छ। चार युगमध्ये सबैभन्दा दुःखी जीवन कलि युगमा हुनेछ भनेर परिकल्पना गरिएको छ। जीवन जति दुराचारी, भ्रष्ट, व्यभिचारी, कपटी र स्वार्थी हुँदै जानेछ, त्यति नै दुःखमा समेत अभिवृद्धि हुँदै जानेछ भन्ने सनातन दर्शनको निचोड हो। हामी अशालीन, अशान्त र अतिशय अनैतिक भनिएको कलियुगको प्रथम चरणमा छौं। जीवनका खुसी र दुःख सापेक्ष कुरा हुन्। मनुष्य भएर जन्मेपछि जन्म, जरा, रोग र मृत्यु जस्ता अपरिहार्य दुःखको सामना गर्नै पर्छ। आधिभौतिक, आधिदैविक र आध्यात्मिक समेतका त्रिविध ताप अर्थात् दुःखको सामना अवश्य गर्नु पर्छ। काम, क्रोध र लोभ आदि मानवीय विशेषता सबैमा हुन्छन्। थोरै इष्र्या नराख्ने हो भने व्यक्तिगत जीवनको उन्नयन पनि हुँदैन। तथापि राज्य, समुदाय, संस्कृति र धर्मको कारण कसैले दुःख पाउनु परेन, खान लाउनको अभाव झेल्नु परेन। शोषण एवं दमनको सिकार हुनु परेन भने दुःखका बाह्य कारणहरू घट्छन्। मनुष्यको जीवन सापेक्ष रूपमा खुसहाल हुन्छ।

अचेल भन्ने गरिन्छ, त्यस्तो खुसी कसरी प्राप्त गर्ने, जुन नर्डिक देशका मानिसले प्राप्त गरिरहेका छन् ? कसरी उनीहरू समृद्ध, आनन्दमय, स्वस्थ र खुसी जीवनका प्रतीक बन्न सफल भए ? किन त्यहाँ कार्ल माक्र्सको ‘विश्वका मजदुर एक बन ! तिमीले तिम्रा बन्धनरूपी जन्जीर बाहेक केही पनि गुमाउनु पर्ने छैन’ भन्ने रोमाञ्चक आह्वानले मूर्त रूप नलिइकनै सापेक्षिक रूपमा समतामूलक समाज स्थापना भयो ? कसरी सबैले रोजगारी पाए र कोही भोको, नांगो, पीडित र प्रताडित रहेन ? किन वर्ग, सम्पत्ति र धर्मको अस्तित्व छँदै खुसी र समृद्धिको दिन आयो ? राज्यले प्रदान गरेको सामाजिक सुरक्षा, निःशुल्क र गुणस्तरीय शिक्षाका साथै स्वास्थ्य सेवा जस्ता सुविधाले सारा जनमानस व्यक्तिगत र पारिवारिक चिन्ताबाट मुक्त हुँदोरहेछ। 

राज्यप्रति कृतज्ञ नागरिक र नागरिकप्रति जिम्मेवार सरकारको संयोजनबाट एउटा समृद्ध र शालीन परिस्थितिको निर्माण हुँदोरहेछ। राजनीतिमा सदाचार, युवाहरूको प्रबल सहभागिता, सार्वजनिक पद व्यक्तिगत लाभको जरिया बन्नु हुँदैन भन्ने आममान्यता र सामुदायिक मेलमिलापको चेतनाले नैतिक उन्नयनमा सहयोग मिल्छ। असल छिमेकी भावना, मिलनसारिता, कर तिर्दा गौरव महसुस गर्ने संस्कृति र करको सदुपयोग गर्ने सरकारी संयन्त्रका कारण अनाहक लाभ लिन प्रेरित गर्ने लोभको निराकरण हुँदोरहेछ।

न्याय दर्शन भन्छ, ‘राग, द्वेष र मोहको नाश गर। सुख र दुःख दुवैबाट उम्कनु नै मुक्ति हो। जो दुःखबाट छुट्टी चाहन्छ, उसले सुखलाई पनि त्याग गर्नु जरुरी छ।’

एउटा डेनिस लोकोक्ति भन्छ, ‘मन परेको हरेक कुरा प्राप्त गर्न कठिन छ भने प्राप्त भएको कुराबाट सन्तुष्ट किन नहुने ?’ उनीहरूकहाँ अर्को पुरानो भनाइ पनि छ, ‘भोलिका दिन वर्षकै व्यस्त दिन हुनेछ।’ सन्तुष्ट, कर्मठ र कर्तव्यशील जीवनका प्रेरक उदाहरण हुन् यी। 

‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’ मा प्रत्येक वर्ष नर्डिक देशहरूले बाजी मार्ने गरेका छन्। त्यहाँ असल र कार्यशील लोकतन्त्र, स्याहारपूर्ण बुढेसकाल एवं आमा र बाबु दुवैले पाउने पर्याप्त शिशुस्याहार बिदाले जीवनलाई सुविधापूर्ण तुल्याएको छ। शिशु र किशोर किशोरीको जीवन समेत रमणीय बन्न पुगेको छ।
त्यहाँ एक नागरिकको अर्कोप्रतिको विश्वास र व्यक्तिको समाजप्रति एवं समाजको व्यक्तिप्रति सम्मानले सभ्यता स्थिर बन्न सफल भयो। इमान्दार रहनुमा गौरव मान्ने संस्कृतिको विकास भयो। विश्वभरिमा सबैभन्दा कम भ्रष्ट र सबैभन्दा ज्यादा जिम्मेवार सरकारका साथै विवेकशील राजनीतिले गर्दा जनताको सौभाग्य चम्क्यो। अपराधको न्यूनता, लैंगिक समानता, उच्च औसत आयु, स्वस्थ र शान्त जीवनशैली, लोकतान्त्रिक संस्कारका साथै आफ्नो जीवनको बाटो आफै तय गर्ने अधिकारको कारण जीवन खुसहाल बन्न पुग्यो।

फिनल्यान्डको सामुदायिक भावना, स्विट्जरल्याण्डको स्वस्थ जनजीवन र उच्च ज्यालाका साथै स्वच्छ वातावरण गौरव गर्न लायक छन्। आफ्नो समाजमा भ्रष्टाचार छैन भन्ने कुरामा विश्वस्त हुन पाउनु र दुःख विपद् परेमा सरकारले हेर्छ भनेर ढुक्क हुन पाउनु अहोभाग्य हो। जीवनमा तनावको न्यूनता हुनु र अनावश्यक वादविवादबाट मुक्ति पाउनु झनै महत्वपूर्ण कुरा हो। देखावटी ठस्सा र आडम्बरमा लिप्त नहुने राजनीतिक नेता, वातावरण संरक्षण, प्राकृतिक स्रोतको भविष्यका सन्ततिका लागि जगेर्ना, शान्ति सुरक्षा, सकारात्मक सोच, पारदर्शिता एवं खुलापन जस्ता आयामले सबैलाई खुसी पार्दा रहेछन्।

यसै परिप्रेक्षमा नेपालीको खुसीबारे थोरै चर्चा गर्नु सान्दर्भिक हुनेछ। ‘विश्व प्रसन्नता सूची’ अनुसार नेपालीहरू निकै खुसी रहने गरेको पाइएको छ। नेपालीहरू चिनियाँ जनताकै हाराहारीमा खुसी छन्, जबकि दुई देशका नागरिकको औसत प्रतिव्यक्ति आय र जीवनस्तरमा ठूलो भिन्नता छ। प्रसन्नता प्रतिवेदन अनुसार नेपालीहरू दक्षिण एसियामै सबैभन्दा धेरै खुसी छन्। प्रतिव्यक्ति आयमा नेपाल भारतभन्दा निकै पछाडि छ। राजनीतिक स्थिरता र असल सरकारको मामिलामा पनि नेपालको भन्दा भारतको स्थान अग्रणी छ। भारतीय जनताको जीवनस्तर नेपालीको तुलनामा उच्च छ। भ्रष्टाचारको क्षेत्रमा नेपालले भारतलाई जितिसक्यो। तथापि विश्व प्रसन्नता सूचीमा पहिलो नम्बरको फिनल्याण्ड र क्रमशः डेनमार्क, स्विट्जरल्याण्ड, आइसल्याण्ड र निदरल्याण्ड्स हुँदै नेपाल ८५ र भारत १३६ नम्बरमा रहेको देखिन्छ।

यो परिणामलाई केलाएर हेर्दा के देखिन्छ भने भारतमा भन्दा नेपालमा जातीय भेदभाव र छुवाछूतको समस्या कम छ। नेपाली सामुदायिक सद्भाव र मेलमिलापमा रमाउँछन्। नेपालमा ज्यान र धनको सुरक्षा सापेक्ष रूपमा राम्रो छ। नेपालमा राजनीतिक र प्रशासनिक क्षेत्रमा उल्लेखनीय महिला प्रतिनिधित्व छ। यहाँ शक्तिशाली स्थानीय सरकार छन्। लोकतन्त्र र उदारवादप्रति जनताको भरोसा छ। नेपालीहरू आफूले मन पराएको पेशा रोज्न सामान्यतः स्वतन्त्र छन्। यसलाई संविधानले समेत ग्यारेन्टी गरिदिएको छ। त्यही स्वतन्त्रताकै कारण नेपालीले अन्य देशका नागरिकभन्दा आफूलाई फरक राख्न सकेका हुन्। नेपाली संस्कृतिका कारण पनि नेपालीले आफ्नोपन बचाइराखेका छन्। त्यही संस्कृतिले नेपालीलाई यो भावमा रमाउने स्थान पनि दिएको छ।

नेपालीहरूमा मिलनशील प्रवृत्ति र घुलमिल हुने बानी छ। अतिथि सत्कार र स्वागतमा नेपालीहरू निपुण छन्। नेपालीहरूमा असल छिमेकी भावना छ। अरूको दुःखपीडा समेत आफूलाई नै परेको ठान्छन्। साँच्चै अप्ठ्यारो आइपर्दा आफूलाई बिर्सेर सहयोग गर्ने परम्परा नेपालमै थियो, अझै केही बाँकी छ। मित्रवत व्यवहार यहाँको परम्परा हो। नेपालको भौगोलिक बनोट र हावापानी सुरम्य छ। नेपालीहरू घुमघाम र पर्यटनका प्रेमी छन्। यहाँ व्यापक राजनीतिक चेतना र सहभागिता छ। यहाँ अल्पसंख्यकहरू तुलनात्मक रूपमा सुरक्षित र सन्तुष्ट छन्। सर्वोपरि कुरा, नेपालीहरू खुसी हुने कला जान्दछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.