बरामद रकमको खुल्दैन स्रोत
काठमाडौं : माघ ५ गते सप्तरीको राजविराज–५ मा स्रोत नखुलेको ९ लाख ९० हजार रुपैयाँसहित राजेश चौधरी र दिलीप मण्डल पक्राउ परे। उनीहरू भारतबाट नेपालतर्फ फर्किने क्रममा चेकजाँच हुँदा सप्तरी जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरूलाई प्रक्राउ गर्यो।
त्यस्तै, माघ ४ गते रौतहट बौधीमाई–७ बाट ३ लाख ६८ हजार ६ सय रुपैयाँसहित भारत बिहारका १९ वर्षीय यसराज जयसवाल, ३ गते महोत्तरी मटिहानी–८ बाट ३० लाख रुपैयाँसहित मटिहानी–३ का २३ वर्षीय सहाउदिन राइन, कात्तिक ३ गते राति भक्तपुर लोकन्थलीबाट ८० लाख रुपैयाँसहित चित्रबहादुर पुन, बाग्लुङ गल्कोट घर भई हाल कोटेश्वर बस्ने पुनलाई बा ४९ प ८५६५ नम्बरको स्कुटर र ३० लाख रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको थियो।
यस्तै, असोज १५ मा भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको १५ लाख ५० हजार रुपैयाँसहित तीन जना प्रक्राउ परे। प्रक्राउ पर्नेमा बिक्रम पटेल, मुकेश पटेल, बलिराम पटेल छन्। स्रोत नखुलेका रकम बरामद गरिएका यी केही उदाहरण मात्रै हुन्। पछिल्लो समय प्रहरीले ठूलो संख्यामा स्रोत नखुलेका रकम बरामद गर्दै आएको छ। भारतसँग सीमा जोडिएका जिल्ला तथा नाकाहरूमा धेरै जसो स्रोत नखुलेका रकम बरामद हुने गरेको प्रहरीको तथ्यांकले देखाउँछ। उपत्यका भित्र पनि यस्ता रकम प्रशस्तै भेटिन थालेका छन्।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आव २०७४/७५–चालू आवको भदौ २९ गतेसम्म ३० करोड ९० लाख ३६ हजार ३४३ रुपैयाँ बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले मात्रै २०७७ मंसिरदेखि २०७८ कात्तिकसम्म ५ करोड ५६ लाख ७३ हजार रुपैयाँ स्रोत नखुलेको रकम बरामद गरेको छ भने १७ जनालाई प्रक्राउ गरेको छ। प्रहरीले देशका विभिन्न स्थानबाट बरामद गरेका उक्त रकम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दाखिला गरेको रकम हो। प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार आव २०७४/०७५ मा ५ करोड ८२ लाख ८५ हजार ६७९, २०७५/७६ मा १० करोड ८६ लाख २ हजार ९९४, २०७६/७७ मा ५ करोड ७६ लाख ५९ हजार ९१०, २०७७/७८ मा ६ करोड ३६ लाख ३५ हजार ७६० र चालू आवको भदौं २९ गतेसम्म २ करोड ८ लाख ५२ हजार रुपैयाँ बरामद गरेको छ।
बरामद भएको रकम कहाँबाट आउछ ?
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक अनुसन्धान अधिकृतका अनुसार एकथरीले यस्ता रकम आपराधिक कर्म तथा गैरकानुनी कार्यबाट आर्जन गरेका हुन्छन्। तर, विभिन्न ठाउँमा लगानी गरेर वैध बनाएका हुन्छन्।
त्यस्तै, अर्कोथरीले अपराध नगरे पनि रकमको स्रोत खुलाउन नसकेमा पनि यस्तो रकम बरामद हुने गर्छ। ‘हामो भारतसँग खुला सिमाना भएकोले सिमानामा हुने व्यापार व्यवसायबाट आएको सम्पत्तिको स्रोत खुलाउन नसक्ने अवस्था छ,’ उनले भने, ‘सिमानामा रहेको भारतीय बजारमा नेपाली पैसा कारोबार हुन्छ भने नेपाली बजारमा भारतीय पैसा कारोबार हुन्छ। यता उता भएका पैसाहरू आ–आफ्नो देशमा ल्याउँदा पनि प्रायः स्रोत खुलेको देखिँदैन। यस्तो रकम भन्सारमा जाने गर्छ।’
बरामद रकम कहाँ जान्छ ?
प्रहरीले बरामद गरेको स्रोत नखुलेका रकम सरकारको धरौटी खातामा जम्मा हुन्छ। राजस्व छली र हुण्डी कारोबारको रकम छ भने राजस्व अनुसन्धान विभागमा जान्छ। क्रस बोर्डरमा बरामद रकम हो भने भन्सारमा जान्छ। यस्तै, स्रोत नखुलेका रकम देखिए सम्पत्ति शुद्धीकरणमा जान्छ।
अनुसन्धान अधिकृतका अनुसार प्रहरीले प्रक्राउ गरेका व्यक्तिविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उक्त रकमको स्रोतको खोजी गर्छ। उनले भने, ‘उक्त रकम कानुनसम्मत देखिए फिर्ता हुन्छ। बरामद रकम गैरकानुनी ठहरेको अवस्थामा विभागले अदालतमा मुद्दा अगाडि बढाउछ। स्रोत नखुलेका प्रमाण जुटाउने काम पनि विभागकै हो।’
नेपाल प्रहरी प्रवक्ता डीआईजी विष्णुकुमार केसीका अनुसार कानुनसम्मत गरेका कामबाट प्राप्त रकमको स्रोत खुलेको हुन्छ। यस्तो रकम प्रहरीले बरामद गर्न मिल्दैन। ‘कानुनअनुसार सम्पत्ति आर्जन गर्ने अधिकार नेपाली नागरिकलाई छ। मानिसले जति पैसा कमाउँछ, ओसारपसार गर्छ त्यसको आधिकारिक स्रोत खुलेकै हुनुपर्छ,’ केसीले भने, ‘सरकारले तोकेको मापदण्ड मिचेर भइरहेको कारोबारबाट बरामद भएको रकम गैरकानुनी ठहर्छ। आफ्नो हरेक काम तथा व्यापार व्यवसायलाई कानुनसम्मत बनाउन अनुरोध छ।’
प्रहरीले विशेष सूचना तथा शंकाका आधारमा यस्तो रकम बरामद हुने गरेको केसीले बताए। उनले भने, ‘कानुनी रूपमा वैध रकम छ भने जति पैसा बोक्न पनि समस्या छैन। प्रहरीले
अनुसन्धान गर्दा आधिकारिक स्रोत बताउन जरुरी छ। प्रहरीले बरामद गरेको स्रोत नखुलेका रकम राजस्वमा जाने गर्छ।’