आत्महत्याभित्रको मनोविज्ञान
आगामी दिनमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना र मनोवैज्ञानिक प्राथमिक उपचारको सेवा आमनागरिकलाई पुर्याउनै पर्ने चुनौती सरकारलाई छ।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष आठ लाखभन्दा बढी मानिस आत्महत्या गर्छन्। त्यसो त १५ देखि १९ वर्ष समूहका किशोरकिशोरीको मृत्युको प्रमुख चौथो कारणमा आत्महत्या पर्ने गरेको देखिन्छ। एकजनाको आत्महत्याका कारण परिवारसहित कम्तीमा ६ जनामा प्रत्यक्ष प्रभाव पर्ने अध्ययनहरूले देखाएका छन्। यसबाहेक आफन्त, छरछिमेकी, इष्टमित्रलगायत प्रत्यक्ष एवं परोक्षरूपमा असर परेको देखिन्छ। विश्वव्यापी समस्याका रूपमा रहेको आत्महत्याका कुल संख्यामध्ये ७७ प्रतिशत विपन्न र अतिविपन्न नागरिक रहेका मुलुकमा हुने गर्छन््। यसैले आत्महत्यालाई आर्थिक–सामाजिक विषयवस्तुसँग पनि जोडेर हेर्ने गरिन्छ। गरिब राष्ट्रमा आत्महत्याको दर बढी हुनुमा आर्थिक पछौटेपन, सामाजिक चिन्तन, चेतनाको स्तर तथा शारीरिक र मानसिक अवस्थालाई कारकका रूपमा लिने गरिन्छ।
जस्तोसुकै चोट, पीडा र व्यथा वा समस्या परे पनि त्यसलाई सहेर वा फरक किसिमले व्यवहार गरेर जीवन बचाउन चाहनु हरेक प्राणी मात्रको नैसर्गिक प्रवृत्ति हो। मानिसले पनि अन्तिम अवस्थासम्म आफूलाई बचाउन चाहन्छ। सामान्यतया एउटा घटना विशेषमा असफल हुनाले अथवा अन्य कुनै आर्थिक–सामाजिक कारणले मानिसले आत्महत्या गर्यो भनेर अनुमान गर्ने गरिए पनि वास्तविकता त्यस्तो होइन। प्रत्यक्ष देखिने एउटा मात्र घटना भए पनि आत्महत्या गर्नुका पछाडि अनेक कारण हुन्छन्।
आत्महत्यासम्बन्धी सामाजिक मान्यता
नेपाललगायतका मुलुकमा आत्महत्यासम्बन्धी सामाजिक मान्यता वैज्ञानिक आधारमा विकसित भएको देखिँदैन। हाम्रो समाजमा आत्महत्यासम्बन्धी कुरा पनि उचित ठानिँदैन। कसैले आत्महत्यासम्बन्धी कुरा गर्यो वा आत्महत्या गर्यो भने त्यसलाई उसको व्यक्तिगत कमजोरी मान्ने गरिन्छ। ‘मनको बह कसैलाई नकह’ भन्ने नेपाली उक्तिले आफ्ना कमजोरी र पीडालाई बाहिर अभिव्यक्त गर्न रोक लगाएसरह छ। अरू सामु नंग्याउनुभन्दा आफैंले सहन गर्नु बुद्धिमानी हो भन्ने समाजको मनोविज्ञानले देखाउँछ। इज्जत प्रतिष्ठामा दाग लाग्ने किसिमको काम गरेमा वा मनलाई नियन्त्रण गर्न नसकी अनैतिक वा असामाजिक काम गरेमा समाजका अगाडि नाक देखाउनु हुँदैन। त्यसैले सामाजिक रूपमा बेइज्जती हुनुभन्दा आत्महत्या गर्नु नै बेस हुन्छ भन्ने किसिमका मान्यताले समेत समाजमा जरो गाडेको छ।
अर्कोतिर परम्परागत धार्मिक, सांंस्कृतिक प्रचलनअनुसार अरू कसैको वा आफ्नो हत्या गर्नुलाई पापकर्म मानिन्छ। सामाजिक सम्बन्धनका दृष्टिले पश्चिमा समाजभन्दा नेपाली समाज स्वाभाविक, सामाजिक र अन्तक्रियात्मक रहन्छ। यद्यपि आत्महत्यासम्बन्धी विचार वा आत्महत्याका घटनाका बारेमा छलफल गर्ने विषयमा भने संकुचित नै देखिन्छ।
किन गर्छन् आत्महत्या ?
जीवनप्रतिको निराशा, वितृष्णा, एक्लोपना र निःसहाय महसुस गरेपछि व्यक्तिले आफूलाई जीवित राख्नुको अर्थ देख्दैन। आफूलाई पूर्ण रूपमा असहाय ठानेपछि मस्तिष्कमा डोपामाइन र सेराटोनिनजस्ता खुसी तत्त्वलाई वृद्धि गर्ने रसायनहरूको उत्पादनमा कमी आउँछ। उदासीनता, एन्जाइटी, ध्रुवीयता विकार, चित्तवृत्ति विकार र स्किजोफेर्नियाजस्ता जटिल किसिमका मानसिक रोगले व्यक्तिमा जीवनप्रतिको नकारात्मक सोच बढ्दै जान्छ। फलतः यस्ता व्यक्ति समय, सामाजिक मूल्य र जीवनप्रति समेत नकारात्मक बन्छन्। संंसारभर हुने आत्महत्यामध्ये ९० प्रतिशतभन्दा बढी आत्महत्याको कारण यस्तै मानसिक समस्या हुने गरेको छ। मानसिक समस्यामध्ये ८० प्रतिशत आत्महत्याको कारकका रूपमा उदासीनता वा डिप्रेसन देखिन्छ। बाल्यकालदेखि नै दुव्र्यसन वा आघातमा परेको, मनोशारीरिक विकास र सन्तुलनमा अवरोध सिर्जना भएको, अति प्रतिस्पर्धी, अस्वस्थ आचरण, लागूपदार्थ सेवन र अत्यधिक तनाव मानसिक विकृतिका कारक बनेका हुन्छन्। खासगरी १० देखि १८–१९ वर्षसम्मको अवधि मानसिक वृद्धि र विकासका
लागि निकै महत्त्वपूर्ण हुन्छ।
विभिन्न किसिमका हर्मोनहरूको विकास हुने समय भएकाले यतिखेर तीव्र शारीरिक र मानसिक परिवर्तन हुने गर्छ। यस समयमा उचित किसिमको पारिवारिक वातावरण, संगत र परामर्श नभएमा क्षणिक कारणले समेत विचलित हुने र आत्महत्या गर्ने गरेको पाइन्छ। नेपाली समाजमा मानसिक परामर्शलाई स्वाभाविक र सकारात्मक रूपमा ग्रहण गर्ने परिपाटीको विकास हुन सकेको देखिँदैन। तनाव तथा अन्य मानसिक परिवर्तनमा अस्वाभाविकता महसुस गरे पनि व्यक्ति मनोवैज्ञानिक वा मनोचिकित्सककहाँ परामर्शका लागि जान हिचकिचाउँछन्। घरपरिवारमा खुलेर कुराकानी नगर्ने तथा शारीरिक र व्यवहारगत विचलन देखिँदा पनि सहयोग लिनुपर्छ भन्ने चेतनाको अभाव छ। यसले सामान्य किसिमका मानसिक रोगहरूले पनि उपचारको अभावमा जटिल रूप लिने गर्छन््। व्यक्तित्व, आहार, निद्रा र दैनिक क्रियाकलापमा भएको परिवर्तनलाई आफन्त तथा साथीभाइले ख्याल गर्ने हो भने आत्महत्याबाट हुने मृत्युको दरलाई कम गर्न सकिन्छ। प्रारम्भिक अवस्थामै उचित किसिमको परामर्श र सहयोग दिन सकियो भने सामाजिक कारणबाट सिर्जना भएका मानसिक समस्याहरू गाउँघरमै समाधान हुन सक्छन्।
व्यक्ति विशेषमा कुनै पनि बेला नकारात्मक विचारले मानसिक उल्झन सिर्जना गर्ने अवस्था आउन सक्छ। यस्तो बेलामा उसको कुरालाई सुनिदिने र स्वस्थ आहार, विहार र व्यवहार गर्न सहयोग पुर्याउने हो भने मनोविक्षिप्तताको अवस्थामा पुग्नबाट रोक्न सकिन्छ। आर्थिक, सामाजिक वा अन्य जुनसुकै समस्या सिर्जना भए पनि व्यक्ति बरू घरपरिवार र समाजबाट पलायन हुन्छ, आफूलाई नयाँ परिस्थिति र परिवेशमा समायोजन गर्न प्रयास गर्छ। यो उसको प्राकृतिक र नैसर्गिक स्वभाव हो। यदि व्यक्तिमा मानसिक समस्या विद्यमान छ वा सामाजिक र आर्थिक कारणले ग्रस्त गरिरहँदा समयान्तरमा मानसिक समस्या सिर्जना भएको छ भने उसले कुनै पनि बेला आत्महत्या रोज्न सक्दछ। यसैले आत्महत्यालाई पूर्णरूपमा मस्तिष्कसँग सम्बन्धित क्रियाकलाप मानिन्छ। निर्णय र व्यवहारमाथिको नियन्त्रण र सकारात्मक चिन्तनको अभाव हुँदा आफैंले आफैंलाई मार्ने कामसमेत गर्ने भएको छ। सामाजिक सम्बन्धन, मानसिक स्वास्थ्यसम्बन्धी चेतना र एकआपसको सहयोगी व्यवहार आत्महत्याजन्य घटनालाई न्यूनीकरण गर्न महत्त्वपूर्ण हुन्छन्।
विश्व स्वास्थ्य संगठनले मेन्टल हेल्थ एक्सन प्लान (सन् २०१३–२०३०) मा मानसिक स्वास्थ्यलाई सबैभन्दा महत्त्वपूर्ण मान्दै मानसिक स्वास्थ्यबिना दिगो विकासको लक्ष्य प्राप्त हुन नसक्ने बताएको छ। यस योजनामा मानसिक स्वास्थ्यको विषय मनोवैज्ञानिक र चिकित्सकको मात्र सरोकारको विषय नभएर सबै नागरिकको चासो र सरोकारको विषय हो भन्ने निष्कर्ष निकालिएको छ।
आत्महत्या रोकथाम गर्न सकिन्छ ?
आत्महत्या अप्राकृतिक रूपमा जीवन समाप्त पार्ने काम हो। प्राणी मात्रले जटिलतम अवस्थामा समेत ज्यान जोगाउन चाहनु प्राकृतिक प्रक्रिया हो। आत्महत्या मानसिक विचलन र मनोसामाजिक असन्तुलनका कारण सिर्जना हुने दुर्घटना हो। यस्तो हुनुभन्दा अगाडि व्यक्तिले आफू नजिकका मानिसलाई कुनै न कुनै किसिमले आफ्नो मृत्युका बारेमा संकेत गरेको हुन्छ। आफन्तसँग भेटघाट गरी बिदाइ हुन खोज्नु, छोराछोरी र परिवारका सदस्यको भविष्यको बारेमा चिन्ता र चासो व्यक्त गर्नु यसका संकेत हुनसक्छन्। इन्टरनेट तथा सामाजिक सञ्जालमा आत्महत्यासम्बन्धी सामग्री र मृत्युपछि के हुन्छ भन्ने विषयमा खोजी गर्नु, आफूलाई अत्यन्त मनपर्ने किसिमका सामग्री र उपहार आदि अरू व्यक्तिलाई बाँड्दै हिँड्नु पनि यसका कारण हुन्। आफू जिउनुको कुनै अर्थ नभएको भनी निराशावादी कुराकानी गर्नुलाई पनि आत्महत्याको संकेतका रूपमा लिइन्छ। व्यक्तिका यस्ता प्रतीकात्मक प्रतिक्रियालाई समयमै गम्भीर रूपमा लिई आवश्यक उपचारको प्रबन्ध गर्न सके आत्महत्याबाट जोगाउन सकिन्छ। आत्महत्यामा प्रयोग हुन सक्ने साधनहरू उपलब्ध हुन नसक्ने वातावरण सिर्जना गरेर पनि आत्महत्यामा कमी ल्याउन सकिन्छ।
आत्महत्यासम्बन्धी चिन्तन जोकोहीमा जतिखेर पनि आउन सक्ने भएकाले आत्महत्या रोकथामसम्बन्धी परामर्शमा सबैको पहुँच पुर्याउनुपर्छ। यसो भए व्यक्तिले अप्ठ्यारो महसुस गर्नासाथ सम्बन्धित ठाउँमा फोन वा अन्य माध्यमबाट सम्पर्क गर्न सक्छ। नकारात्मक विचारको आँधीबेहरीले अकस्मात व्यक्तिलाई छोपेको अवस्थामा उसले सबैतिर अन्धकार देख्छ। तत्काल आत्महत्याको प्रयास गरेको हुन्छ। त्यस समयमा समेत उसलाई जीवनप्रतिको झिनो आशा भने रहन्छ। यसैले आत्महत्या गर्नुभन्दा अगाडि व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा जीवनरक्षाका लागि याचना गरेको हुन्छ। उसको सांकेतिक याचना बुझेर तुरुन्तै सहयोग गर्न सक्ने हो भने व्यक्तिलाई मृत्युको मुखबाट जोगाउन सकिन्छ। केही व्यक्तिले आर्थिक क्षति वा पारिवारिक वियोगका घटनालाई सहन गर्न नसकेर पनि आत्महत्या गरेका हुन्छन्। आवेशप्रेरित यस्ता प्रयासमा मानसिक रोगमा जस्तै पूर्वतयारी नभए पनि उनीहरूको आचरण र व्यवहारमा आएको परिवर्तनलाई नजिकका मानिसले महसुस गर्न सक्छन्।
नेपालको अवस्था कस्तो छ ?
नेपाल धेरै आत्महत्या हुने मुलुकमध्येमा पर्छ। जनसंख्या वृद्धिसँगै नेपाल प्रहरीले उपलब्ध गराएका आत्महत्यासम्बन्धी घटनाको संख्यामा समेत हरेक वर्ष वृद्धि भएको देखिन्छ। औपचारिक रूपमा राज्यका आधिकारिक निकायमा दर्ता भएका घटनालाई मात्र हेर्दा पनि औसतमा प्रतिदिन १९ जनाभन्दा बढीले आत्महत्या गरेको देखिन्छ। आर्थिक वर्ष २०७३÷७४ मा ५ हजार १ सय २४ जनाले आत्महत्या गरेको तथ्यांक छ। २०७६÷७७ मा ६ हजार २ सय ४१ र २०७७७८ मा ७ हजार १ सय १७ जनाले आत्महत्या गरेका छन्। पछिल्लो समय कोरोना महामारीका कारण आमनागरिकको आर्थिक स्थिति र मानसिक स्वास्थ्यमा आघात परेको आकलन गरिएको छ।
आगामी दिनमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना र मनोवैज्ञानिक प्राथमिक उपचारको सेवा आमनागरिकलाई पुर्याउनै पर्ने चुनौती सरकारलाई छ। हरेक चारमध्ये एक मानिसमा कुनै न कुनै किसिमको मानसिक समस्या हुने प्रक्षेपण विश्व स्वास्थ्य संगठनले गरेको छ। यस आधारमा पनि गाउँगाउँमा मानसिक परामर्शदाताबाट परामर्श सेवा तथा चिकित्सकीय सुविधाको विस्तार गर्नु अपरिहार्य देखिन्छ। मानसिक स्वास्थ्यसम्बन्धी चेतनाको स्तर सहरी क्षेत्रमा केही न केही राम्रो देखिए पनि दुर्गम र ग्रामीण क्षेत्रमा यस किसिमको चेतना विस्तारका कार्यक्रम हुन सकेका छैनन्। यसैले नेपालमा ठूलो संख्यामा नागरिक आत्महत्याजन्य दुर्घटनाको जोखिम छ।
आत्महत्याको विचार आएमा के गर्ने ?
जीवनको कुनै पनि क्षणमा कुनै पनि व्यक्तिमा नकारात्मक सोच र जीवनप्रतिको निराशा पलाउन सक्छ। यस्तो अवस्थामा परिवारका सदस्य, साथीसंगी र आफन्तजनसँग कुराकानी गर्नुपर्छ। नकारात्मक सोच आएमा एक्लै बस्नु हुँदैन। जतिसक्दो छिटो सामाजिक कार्यकर्ता, मनोविद् वा चिकित्सकसँग परामर्श गरी आफूमा देखा परेको नकारात्मक भावनालाई निराकरण गर्न प्रयास गर्नुपर्छ। आपत्कालीन अवस्थामा टेलिफोनका माध्यमबाट समेत विशेषज्ञसँग सम्पर्क गर्न सकिन्छ। विकसित राष्ट्रमा चौबिसै घण्टा परामर्शका लागि हटलाइन सेवाको प्रबन्ध गरिएको हुन्छ।
नेपालमा पनि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, कान्ति बाल अस्पताल तथा केही गैरसरकारी संस्थाले हटलाइन सेवा विस्तार गरेका छन्। थोरै समय मात्र परामर्शमा समय बिताउन सकियो भने मानसिक अवस्थामा परिवर्तन आई जीवनप्रतिको निराशा कम हुन्छ। शारीरिक रूपमा अस्वस्थ हुनुजस्तै मानसिक रूपमा अवाञ्छित किसिमका परिवर्तन आउनु स्वाभाविक र सामान्य कुरा हो। यो यथार्थ बुझेर हिचकिचाहटबिना मनोसामाजिक परामर्श लिनका लागि तयार हुने तथा आफन्त र साथीभाइलाई परामर्शका लागि प्रेरित गर्न सकेमा आत्महत्याबाट हुन सक्ने दुर्घटनालाई नियन्त्रण गर्न सकिन्छ।
निष्कर्ष
कायर वा कमजोर मानिसले मात्र आत्महत्या गर्छन्् भन्ने कुरा सत्य होइन। आत्महत्याका पछाडि अनेक कारण हुन्छन्। भौतिक र सामाजिक कारणका साथै मानसिक कारण मुख्य रहन्छ। त्यसैले स्वस्थ मानसिक अवस्थाको विकास गर्न स्वास्थ्य सचेतना र मानसिक सेवालाई हरेक नागरिकको पहुँचमा पुर्याउनुपर्छ। आफ्नो परिवारका सदस्य वा आफन्तजनमा देखा परेको परिवर्तनलाई बेवास्ता नगरी त्यसका बारेमा खुला रूपमा छलफल गर्ने वा आवश्यक परामर्शका लागि मनोविद् वा नजिकका स्वास्थ्य संस्थामा सम्पर्क गराउनुपर्छ। राज्यले शारीरिक स्वास्थ्यलाई जस्तो मानसिक स्वास्थ्यलाई महत्व दिएको देखिँदैन।
महामारीजन्य घटनाले मानसिक स्वास्थ्यमा समेत क्षति पुर्याएको वर्तमान परिस्थितिमा राज्यका तर्फबाट नागरिकलाई मानसिक स्वास्थ्यसम्बन्धी सेवा दिनुपर्छ। मादक वा लागूपदार्थको प्रयोगमा कमी ल्याउनुपर्छ। मानसिक स्वास्थ्यसम्बन्धी सचेतना बढाउने र मानसिक स्वास्थ्य सेवालाई विस्तार गर्ने हो भने आत्महत्याबाट हुने मृत्युलाई न्यूनीकरण गर्न सकिन्छ। यसका लागि सचेत नागरिक र राज्यस्तरबाट पहलकदमी लिनु आवश्यक हुन्छ।