फस्टाउँदै सिमावर्ती बजार, टाँट पल्टिँदै नेपाली व्यापारी

फस्टाउँदै सिमावर्ती बजार, टाँट पल्टिँदै नेपाली व्यापारी

गुलरिया : कोभिड–१९ ओमिक्रोन तेस्रो भेरियन्ट व्यापक फैलिरहेका बेला नेपालीहरुको भारतीय सिमावर्ती बजारमा किनमेलका लागि भीडभाड बढेको छ । स्थानीयहरु भारतीय सिमावर्ती बजार जानेक्रम बढेपछि कोरोना महामारीको जोखिमसँगै बर्दियाको व्यापार व्यवसाय चौपट हुने अवस्था पुगेको स्थानीय व्यापारीहरु बताउँछन्।

बर्दियामा भारतसँगको खुला सीमा भएका कारण बढैयाताल गाउँपालिकाको सिमावर्ती बलैगाउँ बजार, गुलरिया नगरपालिकाको लौकाही र चितलावा बजार, मधुवन नगरपालिकाको बठनिया बजार र राजापुर नगरपालिकाको तिकुनिया बजारमा किनमेलका लागि नेपालीहरुको भीडभाड बढेको गुलरिया नगरपालिका वडा नम्वर ६ भन्सार रोड ईद्रिसी ट्रेडर्सका प्रोपराईटर मतिन ईद्रिसीले बताए ।  उनले भने, 'धेरै नाकाहरु खुला छन् । हामीलाई समस्या भयो । भाडा र कर तिरेर गुलरियामा व्यवसाय गरेर बसेका छौं। व्यापार छैन ।'

'कहिले काहि त बोहोनी समेत हुँदैन । उनले भने,' हामी मर्कामा छौं । सरकारले जिल्लाको व्यापार व्यवसाय प्रर्वद्धन गर्न दिर्घकालिन योजना बनाउनुपर्यो । अन्यथा हामी टाँट पल्टिने अवस्थामा छौं ।' बढैयातालको सिमावर्ती भारतीय बजार बलैगाउँले मैनापोखर, शितला बजार, कण्ठपुर र बाँगगढी नगरपालिकाको बजार प्रभावित भएको छ । यस्तै गुलरियाको लौकाही र चितलावा बजारले गुलरिया, खैरापुर, बारबर्दिया नगरपालिकाको बजारमा चहल पहल घटेको छ।

ईद्रिसीले थपे मधुवनको सिमावर्ती बठनिया बजारले सानोश्री, ताराताल, ओरालीलगायत बारबर्दिया नगरपालिकाका केही बजार र ठाकुरबाबा नगरपालिकाको बजार प्रभावित भएको हो। राजापुर नगरपालिकाको सिमावर्ती तिकुनीया बजारले राजापुर तथा गेरुवा गाउँपालिकाका बजार सुकेका छन् । उनले जसरी हुन्छ नेपाली बजार प्रवर्द्धन गर्न स्थानीय प्रशासनले पहल गर्नु्पर्ने बताए। स्थानीय व्यापारीहरुले उद्योग बाणिज्य संघ बर्दियामार्फत स्थानीय प्रशासनको ध्यानाकर्षण समेत गराएका छन् ।

व्यापारीहरुले प्रशासनलाई भारतीय बजारमा किनमेलका लागि हुने भीडभाड रोक्न माग गरेका छन्।  उद्योग बाणिज्य संघ बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डेले भने.' सिमावर्ती लौकाही बजार पुगेर अनुगमन पनि गरियो । धेरै भीड हुँदोरहेछ । एउटा सानो नाकाबाट दिनहुँ ४/५ सय मानिस घरायसी सामान किनमेलका लागि ओहोर दोहोर गर्छन् । कोरोनाको जोखिम पनि उत्तिकै बढेको छ । धेरै लापरवाही पाएँ । यसले भारत र नेपाल दुवैतर्फ कोरोना भाइरस ओमिक्रोन संक्रमणको जोखिम बढाएको छ ।'

कोरोनाको जोखिम त छँदैछ बर्दियाका स्थानीय व्यापारीहरुको उठिवास हुने अवस्था छ । कतिपय व्यापारीहरु पलायन भइसकेका छन् । व्यापार नहुँदा केही व्यवसायी टाँट पल्टिने अवस्थामा छन् । समयमै यसको दिर्घकालिन योजना बनाउन नसके समग्र जिल्लाकै व्यापार जोखिम बढ्न सक्नेतर्फ पाण्डेको बुझाइ छ। उनले भने,' स्थानीय प्रशासनलाई नाकाहरुमा भन्सार पोस्टहरु स्थापना गर्दै सरसामान चेकजाँच गरी किनमेल अनुमति दिइयोस् भन्ने माग पनि राखेका छौं । '

दुवै तर्फका सुरक्षाकर्मीले कडाइ नगरेको पाण्डेको भनाइ छ । चाडपर्व, विवाह, उत्सवका लागि स्थानीयहरु किनमेलका लागि सिमावर्ती बजार जाने गरेका छन् । तेल किन्न लौकाही बजार गएको बारबर्दिया नगरपालिका भैसाही निवासी रमेश कुमार थारुले बताए ।

सस्तोमा सामान पाइने भएकाले पनि सिमावर्ती बजारमा पुग्ने गरेको उनको भनाइ छ । गुणस्तर जस्तोसुकै भएपनि सस्तो सामान पाइने भएकाले स्थानीयको आर्कषण सिमावर्ती बजार बनेको छ । स्थानीय प्रशासनले घरायसी सानातिना सामान खरिदका लागि मात्र सिमावर्ती बजारमा अनुमति दिने गरेको छ ।

सिमावर्ती बजारले जिल्लाका बजार सुकाएको मात्रै छैन राजस्व वृद्धिमा समेत कमी ल्याएको छ। प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले सीमा पूर्णरुपमा शील गर्न सक्छौं तर राजनीतिकलगायत स्थानीय तहबाट चौतर्फी दबाब आउँछन् । स्थानीयको सहजताका लागि सानोतिने घरायसी सामान किनमेल गर्न छुट दिइएको हो।'

नेपाली व्यापारीहरुको दिर्घकालीन समस्या समाधान गर्न सिमावर्ती स्थानिय तहहरुले योजना बनाएर लागू गर्न सक्नुपर्छ । एक्लैले सम्भव हुँदैन । उनले भने,' स्थानीय व्यपार फस्टाओस् भन्नेमा म चिन्तित छु । यसका लागि स्थानीय सरकारको सहयोग आवशयक छ। एक भएर सधैंका लागि समस्या समाधान गर्नुपर्छ।'


    
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.