जलवायु संकट सामना गर्न भुइँकेरा प्रभावकारी

जलवायु संकट सामना गर्न भुइँकेरा प्रभावकारी

काठमाडौं: जलवायु संकट सामना गर्न इथियोपियाली भुइँकेरा प्रभावकारी हुने नयाँ अध्ययनले पत्ता लगाएको छ। वैज्ञानिकहरुले गरेको नयाँ अध्ययनले जलवायु संकटसँग लड्न भुइँकेरा प्रभावकारी हुने पत्ता लगाएको हो। 

वास्तवमा संसारमा विभिन्न प्रकारका केराहरु पाइने गर्छन्। इथियोपेली केराको नाममा समेत चिनिने भुइँकेरालाई अंग्रेजीमा इन्सेट प्लान्ट भनिन्छ। यस केरालाई मुलुकअनुसार स्थानीय नाममा पनि चिनिने गरिन्छ। नेपालमा भने भुइँकेराले परिचित इन्सेटलाई कतिपयले फल्स अर्थात खराब केरा पनि भन्ने गर्छन्। 

लामो समय खर्चेर कृषि सर्भे र उत्पादन शैलीको आधारमा वैज्ञानिकहरुले सो अध्ययन तयार पारेका थिए। गर्मी भेग अर्थात उच्च तापक्रम भएको क्षेत्र र कम मलिलो माटो भएको क्षेत्रमा समेत उत्पादन गर्न सकिने भएकाले जलवायु संकट सामना गर्न भुइँकेरा प्रभावकारी भएको इनभाइरोमेन्टल रिसर्च लेटर्समा प्रकाशित नयाँ अध्ययनमा उल्लेख छ। नयाँ अध्ययनका अनुसार उच्च तापक्रम हुने अफ्रिकालगायत संसारका अन्य भेगमा भुइँकेरा फलाउँदा सो क्षेत्रका करोडौं मानिसको जीवन रक्षक बन्ने वैज्ञानिकहरुले बताएका छन्। 

‘यो यस्तोखाले बाली हो जसले जलवायु संकटका कारण निम्तिएको खाद्य संकटसँग लड्न महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ। खाद्य सुरक्षा र दीगो विकासमा भुइँकेरा वास्तवमै प्रभावकारी देखिएको छ,’ इथियोपियास्थित हवसा युनिभर्सिटीका डा. वेन्डवेक एबेबेले भनेका छन्, ‘हामीले बढ्दो तापक्रमका कारण चरम खडेरी लाग्ने क्षेत्रमा समेत सो केरा उत्पादन गरेर हरियाली र खाद्य सुरक्षा गर्न सक्छौं।’  

इथियोपियालीहरुले भुइँकेरालाई फलफुलको रुपमा मात्र नभइ त्यसको डाठ र जराबाट रोटी र अन्य परिकारसमेत बनाउने गर्छन्। चामल, आलु र अन्य खाद्यान्न एवं तरकारीभन्दा फरकखाले क्यालोरिसमेत सो केराले प्रदान गर्ने गर्छ। त्यसैले इथियोपियाका एक भेगमा करिब २ करोड मानिसहरु पूर्णतया भुइँकेरामा निर्भर रहेको अन्वेषकहरुले बताएका छन्। 

त्यसैले जलवायु संकटका कारण झनै भोकमरी छाइरहने इथियोपिया, केन्या, रुवान्डा र युगान्डालगायत अन्य अफ्रिकी मुलुकहरुमा सो केरा त्यहाँका मानिसहरुका लागि बरदान साबित बन्ने नयाँ अध्ययनको अनुमान छ। 
‘सो केरा अफ्रिकी मुलुकको बाँझो जमिनमा रोपेर उत्पादन गर्ने हो भने पनि त्यसबाट १० करोड मानिसले आफ्नो खाद्य आपूर्ति गर्न सक्छन्। सो केराले जमिनको समेत रक्षा गर्न सघाउनेछ,’ सो अध्ययनका अन्वेषक डा. जेम्स बोरेलले भनेका छन्, ‘एकपटक सो केराको विरुवा रोपेमा ठूलो क्षेत्रमा त्यसको खेती गर्न सकिन्छ। त्यसले भोकमरी र वातावरण दुवैलाई फाइदा पुर्‍याउने छ।’ 
(बीबीसीबाट अन्नपूर्णका लागि अस्मिता खड्काद्वारा अनुवादित अंश) 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.