सीमामा भारतीयको हस्तक्षेप, दशगजामा एसएसबीले बनाए सुरक्षा पोष्ट
विराटनगर: प्रदेशको राजधानी विराटनगरसँग जोडिएको दशगजामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सुरक्षापोष्ट बनाएको छ। प्रदेश १ को राजधानी विराटनगरको १६ नम्बर वडाको दरैया स्थित भारतीय सीमा सुरक्षा बलले आफूखुसी सुरक्षा पोष्ट निर्माण गरेको हो । २४सौ घण्टा हातियारसहित सीमावर्ती दशगजा क्षेत्र (नो मेन्स ल्याण्ड)मा एसएसबीले विराटनगर महानगरपालिका-१६ दरैया र भारत जोगवनीस्थित टिकुलिया बस्तीबीच पर्ने स्थानमा सुरक्षा पोस्ट खडा गरेको हो।
दशगजमा कुनै सुरक्षा पोष्ट र मानव बस्ती बनाउन हुने प्रावधान छ। दुई देशीय सीमानामा कुनै पनि संरचना बनाउन र गतिविधि गर्न नपाइने अन्तर्राष्ट्रिय कानुन छ। विराटनगर महानगरपालिका-१६ का वडा अध्यक्ष मनोज सुब्बाले विगत एक महिनादेखि भारतीय सीमासुरक्षा बल सुरक्षा पोष्ट बनाएको जानकारी दिए। उनले आफूले थाहा पाएपछि इलाका प्रहरी कार्यालय रानी र सशस्त्रलाई जानकारी गराए पनि कुनै पहल नभएको बताए । 'एक महिनाअघि स्थापना गरेको सुरक्षा पोष्टमा २४सै घण्टा एसएसबीको टोलीको उपस्थित हुन्छ,' उनले भने, ‘दशगजा क्षेत्रमा सुरक्षा पोष्ट राख्न मिल्दैन। सार्वभौम मुलुकमा नियम मिचेर बनाएको सुरक्षा पोष्ट तत्काल हटाउनुपर्छ।' नेपाल तर्फको सुरक्षा निकायले सो सुरक्षा पोष्ट हटाउन पहल थाल्नुपर्ने उनको भनाइ छ।
'आफूले प्रहरी र सशस्त्रलाई १५ दिनअघि नै जानकारी दिए पनि हटेको छैन,' उनले भने, 'कूटनीतिकरुपमा पोष्ट हटाउने पहल यथाशिघ्र गर्नुपर्छ।' काठ र कर्कटपाताको प्रयोग गरेर संरचना तयार पारेको एसएसबीले दशगजामा बसेर चेकजाँच गर्ने गरेको बताइएको छ। स्थानीयका अनुसार सुरक्षा पोष्ट बनाएपछि एसएसबीले नेपाली नागरिकलाई धम्क्याउने र नेपाली दुर्वव्यवहार गर्ने गरेको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आफूले दुई दिन अघिमात्र जानकारी पाएको बताए। उनले जानकारी पाउन साथ सशस्त्र प्रहरी त्यहाको अवस्था बुझेर जानकारी गराउन निर्देशन दिएको बताए। सबै जानकारी आएपछि भारतीय डीएमसँग सवन्वय गरेर हटाउने पहल गर्ने उनले बताए। उनले कूटनीतिक पहलको लागि समेत गृह मन्त्रालयसमेत जानकारी गराएर खाली गराउने उनले बताए। केही वर्ष पहिले मोरङको जहदा गाउँपालिका-१ कालामनिजरस्थित दशगजा मिचेर भारतीय पक्षले सडक बनाएको थियो।
मोरङको जहदा गाउँपालिका-१ मा नेपाल-भारत अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा दशगजा मिचेर भारतीय पक्षले सडक बनाउन लागेको थियो। जहदाँ गाउँपालिका-१ कालामनिजर र भारततर्फ अररिया कुस्माहा ग्राम पञ्चायत ४ आमगाछी भन्ने ठाउँमा सीमा स्तम्भ नं. १७४र २ सहायक सीमा स्तम्भदेखि ५०० मिटर पश्चिम भारततर्फको दशगजाभित्र पर्ने १ सय ५० मिटर कच्ची बाटो दुवै देशका सीमा सुरक्षा अधिकारीले सवन्वय गरेर पूरेको थियो।
जहदा गाउँपालिका-१ का वडा अध्यक्ष प्रदीपचन्द यादवसहित जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले दशगजा क्षेत्रमा भारतीय पक्षले निर्माण गर्न लागेको सडक निर्माण गर्न रोक लगाएको थियो।
दशगजाको दुवैतर्फ दशगज अर्थात् ९.१ मिटर खाली राख्नुपर्ने प्रवाधान भए पनि भारतीय पक्षले पटक-पटक दशगजा मिचेर सीमानामा राखिएको पिल्लरकै छेउमा सडक निर्माण र सुरक्षा पोष्ट राख्ने गरेका छन्।
नेपालतर्फ दशगजा क्षेत्र विद्यमान रहे पनि भारतीय किसानहरुले मासेर खेतीसमेत गर्दै आएका छन्। भारतीयहरु दशगजामा कृर्षि सामग्रीसमेत राख्ने गरेको पाइएको छ।