धान बेच्न नक्कली किसान

धान बेच्न नक्कली किसान

जनकपुरधाम : जनकपुरमा व्यापारीले नै किसान बनेर सरकारलाई धान बेच्ने गरेको खुलेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी जनकपुरमार्फत किसानको नाममा व्यापारीले धान बेच्दै आएका हुन्। कम्पनीको जनकपुरधामस्थित कार्यालयमा किसानको सिफारिस लिएर धान बेच्न व्यापारी आउने गरेका छन्। धनुषा र महोत्तरीका किसानले उत्पादन गरेको सोना मन्सुली धान पुस २८ देखि कार्यालयले खरिद गरिरहेको छ। 

किसानको मात्र किन्नुपर्नेमा कार्यालयले नक्कली किसान बनेर आउने व्यापारीबाट धान किन्ने गरेको हो। कार्यालयले किसानको जग्गा धनी लालपुर्जा र स्थानीय निकायबाट किसान भएको सिफारिसका आधारमा ४० क्विन्टल बढी धान खरिद गरेको छ। यसैको फाइदा उठाउँदै व्यापारीले वडाध्यक्षलाई प्रलोभनमा पारी आफूलाई ‘किसान’ भएको सिफारिस लिने गरेका छन्। 

महोत्तरी लोहारपट्टी–६ कविलासाका किसान पुरन साहले खाद्यले बिचौलियामार्फत व्यापारीको धान किनिरहेको तर किसानको धान किन्न आनाकानी गरिरहेको गुनासो गरे। ‘टायर गाडामा कोसौं टाढाबाट धान बेच्न आयौं। तर, खाद्य कार्यालयले अनेक बहाना बनाएर हामीलाई रोकेको छ। हाकिम साबले सिफारिस छैन। धान किन्दैनौं। घर लैजाउँ भन्छ,’ शुक्रबार साँझ ५ बजे कार्यालयमा भेटिएका उनले भने, ‘बिहानदेखि गोरु भोकै छ, यस्तो चिसोमा कठ्यांग्रिएर बसेको छु। अब यत्तिकै फर्कनुपर्यो।’ धनुषा लक्ष्मीनियाका सखिचन्दन यादवले पनि सिफारिस अनिवार्य गरेपछि धान बेच्नबाट बञ्चित भएको गुनासो गरे। कार्यालयले बिचौलियालाई मात्र टोकन दिएको उनको भनाइ छ। ‘टाठाबाठाले बिना सिफारिस टोकनकै आधारमा गाउँका टाठाबाठाको धान किन्यो। अनिवार्य टोकन सिफारिस लेऊ भन्छ। तर, मसँग टोकन छैन,’ यादवले भने, ‘बिचौलियाहरूलाई टोकन दिएको छ। हामी सानोतिनो किसान जताबाट पनि मार्कामा पर्यौं।’

टायरगाडामै धान बेच्न आएका अर्का किसान रामबाबु यादवले कुपन बेगर कार्यालयको हाताभित्रै  प्रवेश नदिएको बताए। ‘हामीसँग टोकन छैन। बिहानैदेखि सडकमा लाइनमा छौं साँझ परिसक्यो तर टोकन बिना धान नकिन्ने भन्छ,’ उनी भन्छन्, ‘टोकन लिन सोर्स फोर्स चाहिन्छ। हाम्रो बोली बिक्दैन र अब धान फर्काएरै लाने अवस्था भयो।’ दर्जनौं किसान टायरमा धान लिएर बेच्न आएका थिए। तर, उनीहरूको धान कम्पनीले किन्न मानेन। धेरैले फर्काएर लगे। कार्यालयका निमित्त प्रमुख उपेन्द्र लिङदेल पनि वडा कार्यालयबाट आफू किसान भएको सिफारिस लिएर केही व्यापारी धान बिक्री गर्न आएको स्वीकार्छन्। भन्छन्, ‘हामीले बिचौलियाको धान नकिन्ने निर्णय गर्यौं। त्यसपछि व्यापारीहरूले नै टायरगाडा भाडामा लिएर सर्वसाधारणलाई पठाउने गरेका छन्।’ केही व्यापारी वडाबाट किसान भएको सिफारिस लिएर धान बेच्न आएका थिए। 

लिङ्देल भन्छन्, ‘बुझ्दै जाँदा व्यापारी भएको थाहा हुन आयो। दुवैको धान हामीले फिर्ता पठाइ दियौं।’ यसमा वडा चनाखो भए मात्रै किसानबाट धान खरिद गर्न सहज हुने उनी बताउँछन्। उनले व्यापारी किसानलाई किसान भनेर सिफारिस नगर्न र वास्तविक किसानलाई मात्रै सिफारिस दिन वडाध्यक्षहरूलाई कार्यालयले आग्रह गरेको छ। खाद्य जनकपुरधाम शाखाले १ हजार ५ सय मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको छ। सरकारले सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँ तोकेको छ। गत वर्ष २ हजार ८ सय ८५ थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.