मान्छे छान्ने उपाय
कहिलेकाहिँ धेरै चलाखी देखाउन खोज्दा अवसर गुम्छ। कुन बेला के सन्दर्भमा र कसरी चलाखी देखाउने भन्ने थाहा पाउनुपर्छ।
एक राज्यमा एकजना राजा वृद्ध अवस्थामा पुगेका थिए। उनलाई आफ्नो उत्तराधिकारीको को बनाउने भनेर चिन्ताले सताउन थाल्यो। एक दिन उनले राज्यका सबै युवालाई दरबारमा बोलाए। उनले सबैलाई हातमा एक एकवटा बिउ थमाइदिए। युवा अचम्ममा परे। राजाले यो के गर्न लागेको ? सबै एकअर्काको मुख हेराहेर गर्न थाले।
‘तिमीहरू यो बिउ लिएर अहिलेलाई आआफ्नो घर जाऊ। ठिक एक वर्षपछि बिउबाट उम्रिएको बिरुवा लिएर आऊ। त्यसपछि म तिमीहरू मध्येबाट एकजनालाई मेरो राज्यको उत्तराधिकारी चयन गर्नेछु।’, ती राजाले सबैलाई एकमुष्ठ सन्देश दिए। सबै युवालाई उत्तराधिकारी बन्ने लालसा बढ्यो। मनमनै सबैले उत्कृष्ट विरुवा बनाउने प्रण गरे।
सबै युवक बिउ लिएर आआफ्नो घर फर्किए। उनीहरूले गमला किनेर घर लगे र गमलामा बिउ रोपे। दिनहुँ पानी हाल्ने र बेलाबेलामा गोडमेल गरी हुर्काउन थाले। तिनै युवामध्ये एकले आफूले रोपेको बिउ उम्रिने आशामा मल र पानी दिएर मजैले स्याहारसुसार गर्न थाले। तीन हप्ता बित्दा पनि त्यो बिउ उम्रिएन। चार, पाँच, छ....हप्ता बित्यो। अहँ, बिउ उम्रिएन।
अन्ततः त्यो पनि आयो, जुन दिन राजालाई बिउबाट उम्रिएको बिरुवा देखाउनु थियो। सबैजना राजासामु गमलामा उम्रिएका रंगीबिरंगी फूलहरू लिएर उपस्थित भए। तर, त्यो युवकको भने गमला खाली थियो। अरूले सोचे कि उसले बिउ नष्ट गरिदियो र गमला खाली रह्यो। अब यसलाई राजाले मृत्युदण्डको फैसला सुनाउने छन्। युवाले आआफ्ना तर्क मनमा खेलाउँदै लख काट्न थाले।
तर आश्चर्य राजाले रित्तो गमला लिएर आउने तिनै युवालाई उत्तराधिकारी घोषणा गरे। त्यही बेला राजाले भने, ‘मैले सबैलाई तातो पानीमा पकाएको बिउ बाँडेको थिएँ, मैले दिएका बिउहरूमा अंकुरण असम्भव थियो।’
नैतिक शिक्षा : कहिलेकाहिँ धेरै चलाखी देखाउन खोज्दा अवसर गुम्छ। कुन बेला के सन्दर्भमा र कसरी चलाखी देखाउने भन्ने थाहा पाउनुपर्छ।