न्युजिल्याण्डकी प्रधानमन्त्रीको विहे रद्द, राष्ट्रपतिको अपमान गर्दा पत्रकार पक्राउ

न्युजिल्याण्डकी प्रधानमन्त्रीको विहे रद्द, राष्ट्रपतिको अपमान गर्दा पत्रकार पक्राउ

वेलिंगटनः न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले आफ्नो विहे रद्द गरेकी छन्। कोभिड-१९ विरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरेसँगै प्रधानमन्त्री आर्डेनले आफ्नो बिहेसमेत रद्द गरेकी हुन्। 

प्रधानमन्त्री आर्डेनले संकटको समयमा आफुले सर्बसाधारणको साथ दिने र जनताभन्दा आफू फरक नभएको भन्दै आइतबार आफ्नो विहे रद्द गरेको जानकारी दिएकी हुन्। जेसिन्डाले आफ्ना प्रेमी क्लेर्क गेफर्डसँग जनवरी महिनामा विहे गर्ने योजना बनाएकी थिइन्। 

देशमा ओमिक्रोन भेरियन्ट बढेपछि न्युजिल्याण्डले आइतबार साँझदेखि लागू हुनेगरी नयाँ प्रतिबन्ध घोषणा गरेको हो। नयाँ प्रतिबन्धअनुसार कुनै पनि कार्यक्रम एवं सार्वजनिक स्थलमा १ सयभन्दा बढी मानिस (खोप लगाएका) भेला हुन नपाइने, सभा सम्मेलन र सार्वजनिक यातायातमा मास्क अनिवार्य लगाउनुपर्ने छ। न्युजिल्यान्डमा पछिल्लो २४ घण्टामा १५ हजार नयाँ संक्रमित थपिएका छन् भने ५२ मानिसको मृत्यु भएको छ। 

पाकिस्तानमा प्रहरी नै अपहरणकारी 
इस्लामावादः पाकिस्तानमा प्रहरीले नै नागरिकको अपहरण गरेको खुलेको छ। पाकिस्तानको राजधानी इस्लामावादमा चार प्रहरीले नै सर्वसाधारण नागरिकको अपहरण गरेको खुलेको हो। 
प्रहरीले तीन सर्वसाधारण नागरिकको अपहरण गरेको आइतबार खुलासा भएको हो। स्थानीयले चार प्रहरीविरुद्ध अपहरणको उजुरी हालेपछि सो घटना बाहिरिएको स्थानिय मिडिया डान न्युजमा खबर छ। 
डान न्युजकाअनुसार आरोपित प्रहरीले अपहरित ती नागरिकबाट जनही १६ लाख रुपैँया माग गरेका थिए। पीडितले मागेजती रकम अपहरणकारीसमक्ष बुझाएर आफु छुटेका थिए। स्थानीयले शंकाको आधारमा उजुरी गरेपछि घटना बाहिरिएको थियो। हालः त्यहाँको प्रहरीले आरोपित चार प्रहरीमध्ये एक जनालाई पक्राउ गरी निलम्बनमा राखेको र अन्य तीन जना फरार रहेको बताइएको छ। 

टर्कीमा राष्ट्रपतिको अपमान गरेको आरोपमा पत्रकार पक्राउ 
अंकाराः टर्कीको एक अदालतले त्यहाँकी पत्रकार सिडफ कबासको मुद्दा अघि बढाउन आदेश दिएको छ। राष्ट्रपति रिसेप तैयिप एद्रोगानको अपमान गरेको भन्दै पक्राउ परेकी पत्रकार कबासको मुद्दा अघि बढाउन टर्कीको अदालतले आदेश दिएको हो। 
पत्रकार कबासलाई शनिबार बिहान टर्कीस प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो। राष्ट्रपतिलाई अपमान गर्ने गरी पत्रकार कबासले ट्वीटरमार्फत् अभिव्यक्ति राखेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो। 
‘जब गोरु दरबारभित्र पस्छ तब गोरु राजा बन्दैन। तर दरबारको तहसनहस भने पक्का गर्छ,’ उनले ट्वीटरमार्फत् लेखेकी थिइन्। उनले ट्वीट गरेको सो लाईनले राष्ट्रपतिको अपमान गरेको पुष्टि भएमा पत्रकार कबासलाई चार वर्षसम्मको जेल सजाय हुनसक्ने बताइएको छ। 

जर्मनीले युक्रेनलाई हतियार नभई मेडिकल सहयोग गर्ने 
बर्लिनः जर्मनीले युक्रेनलाई हातहतिायर नभई मेडिकल सहयोग गर्ने बताएको छ। रुसले आक्रमण गर्ने भन्दै युक्रेनले जर्मनीसमक्ष हातहतियार सहयोगको माग गरिरहँदा जर्मनीले मेडिकल सहयोग गर्ने बताएको हो। 
जर्मनले युक्रेनलाई मेडिकल सहयोग सेवा आगामी महिनादेखि सुरु गर्नेसमेत बताएको छ। ‘फेब्रुअरी महिनामा जर्मनीले युक्रेनलाई पूर्णरुपमा मेडिकल सेवा हस्तान्तरण गर्ने छ। तर हातहतियार सहयोग भने गर्नेछैन,’ जर्मनीका रक्षा मन्त्री क्रिस्टिन ल्याम्ब्रिचले आइतबार स्थानिय मिडियासँगको अन्तर्वार्तामा भनेका छन्। 
करिब ५.३ मिलियन युरो बराबरको मेडिकल सहयोग हुने बताइएको छ। यसअघि युक्रेनमाथि विवादास्पद टिप्पणी गरेपछि जर्मनीका नौसेना प्रमुखले शनिबार राजिनामा दिएका थिए।
 
मुस्लिम भएकै कारण पदबाट हटाएको बेलायत सरकारमाथि आरोप 
लण्डनः बेलायती सांसद नुसरत गनीले बेलायती प्रधानमन्त्री बोरिस जोनसन र उनको सरकारमाथि गम्भीर आरोप लगाएकी छन्। पूर्व मन्त्रीसमेत रहेकी गनीले आफू मुस्लिम भएकै कारण जोनसन र उनको सरकारले आफुलाई पदबाट हटाएको आरोप लगाएकी हुन्। 
‘म मुस्लिम भएको कारण क्याबिनेटका मेरा सहकर्मीलाई मसँग समस्या थियो। सोही कारण मलाई पदबाट हटाइयो,’ सन्डे टाइम्ससँगको अन्तर्वार्तामा उनले भनेकी छन्। 
यद्यपि गनीले लगाएको आरोपबारे प्रधानमन्त्री बोरिस र उनको सरकारले कुनै पनि बयान जारी गरेको छैन। ४९ वर्षीया नुसरत सन् २०२०  फेब्रुअरीसम्म बोरिस सरकारअन्तर्गत जुनियर यातायात मन्त्रीको रुपमा काम गरेकी थिइन्। फेब्रुअरीमा पदबाट निकालीएकी थिइन्। 

यमनको जेल आक्रमणमा परी मर्ने कैदीहरुको संख्या १०० नाघ्यो 
सादाः यमनको सादा प्रान्तस्थित एक कारागारमा भएको हवाई हमलामा परी मर्ने कैदीहरुको संख्या १ सय नाघेको छ। साउदी गठबन्धन नेतृत्वको सो आक्रमणमा परी मर्ने कैदीहरुको संख्या आइतबारसम्म १ सय नाघेको हो। 
शनिबार सादा प्रान्तस्थित कारागारमा साउदी गठबन्धन नेतृत्वले आक्रमण गरेको थियो। सो  आक्रमणमा परी १ सयभन्दा बढी कैदीको मृत्यु भएको र अन्य २६६ कैदी घाइते भएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। मृतकहरुको संख्या अझै बढ्नसक्ने अनुमान अधिकारीहरुले गरेका छन्। 
केही दिनअघि हुथी विद्रोहीले संयुक्त अरब इमिरेट्को एक मुख्य हवाई अड्डालाई निशाना बनाई आक्रमण गरेको थियो। सो आक्रमणमा परी तीन मानिसले ज्यान गुमाएका थिए। सो आक्रमणको प्रतिशोधमा साउदी गठबन्धनको नेतृत्वले कारागारमा आक्रमण गरेको बताइएको छ। 

कोभिड नियमको विरोधमा बेल्जियममा हजारौंको प्रदर्शन 
कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्ट नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा हजारौं प्रदर्शनकारीले आइतबार ब्रसेल्समा विरोध प्रदर्शन गरेका छन्।
ओमिक्रोनको लहरका कारण संक्रमण उच्च विन्दुमा पुगेको भन्दै सरकारले नियन्त्रणका लागि नियमित गतिविधिमा कडाइ गर्ने घोषणा गरेको छ।
बेल्जियमको राजधानी हुँदै युरोपेली संघको केन्द्रमा भएको यस प्रदर्शनलाई यहाँ भएका केही ठूला प्रदर्शनमध्ये एक भनी एएफपीका रिपोर्टरहरूले समाचारमा जनाएका छन्।
प्रदर्शनका क्रममा ठाउँठाउँमा प्रहरीसँग झडप भएको देखिएका बताइएको छ। प्रदर्शनमा बेल्जियमका प्रधानमन्त्री अलेक्जेन्डर डक्रु र कोभिडबाट सुरक्षाका लागि दिइएका पाससहित उपस्थित थिए। पोल्याण्ड, नेदरल्याण्ड्स र रोमानियाका झन्डाहरू भीडमा देख्न सकिन्थ्यो। 
उत्तरी फ्रान्सको लिलेबाट आएकी फ्रान्सस्का फनाराले भने, 'सन् २०२० देखि जे भइरहेको छ, त्यसले मानिसहरूलाई भ्रष्टाचारबाट ब्यूँझाउन अनुमति दिएको छ। म गलत नियमविरूद्ध प्रदर्शन गर्न आएको हुँ।'
प्रदर्शनमा सहभागी पोर्चुगलका अडोल्फो बार्बोसाले नियन्त्रणका लागि घोषित नियमलाई मानव स्वास्थ्यका लागि भन्दै लादिएको तानाशाही शासन भएको बताए।

रुसले युक्रेनमा आफूप्रति बफादार सरकार बनाउन खोजेको बेलायतको आरोप
रुसले युक्रेनलाई आफू अनुकूलको नेतृत्व ल्याउन खोजेको आरोप बेलायतले लगाएको छ। बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै रुसले युक्रेनमा आफूप्रति बफादार शासक चाहेको र यसको लागि सम्भावित उम्मेदवार समेत तय गरिसकेको दाबी गरेको हो।
बेलायतका विदेशमन्त्री लिज ट्रसले अस्वभाविक टिप्पणी गर्दै युक्रेनका पूर्व सांसद यभन मुराएभ रुसको सम्भावित उम्मेदवार भएको आरोपसमेत लगाए। मुराएभलाई युक्रेनको सत्तामा ल्याउन रुसले आवश्यक परे सैन्य शक्तिसमेत प्रयोग गर्ने बेलायतले बताएको छ। 
रुसले भने युक्रेनमा हमला गर्ने आफ्नो कुनै योजना नरहेको दोहोर्‍याउँदै अमेरिकी नेतृत्वको पश्चिमा जगतको आरोपलाई आधारहीन आशंकको संज्ञा दिँदै आएको छ।

राष्ट्रपति बाइडेनद्वारा राष्ट्रिय सुरक्षा टोलीसँग छलफल
अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलगायत आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेट गरेको एक दिनपछि भेटघाट गरेका छन्। 
'आज राष्ट्रपति बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग व्यक्तिगतरूपमा क्याम्प डेभिडमा युक्रेनतर्फ निरन्तर रुसी आक्रामक काराबाहीहरूबारे छलफल गर्न भेट गर्नुभएको ह्वाइट हाउसले जनाएको छ।
सो अवसरमा राष्ट्रपति बाइडेनलाई युक्रेनको सिमानामा रूसी सैन्य कारबाहीको वर्तमान अवस्थाको बारेमा जानकारी दिइएको थियो र दुवै प्रयासहरूलाई हटाउनका लागि जारी रहेको छलफलमा छलफल गरियो। कूटनीति र सुरक्षा सहायताको निरन्तर वितरणसहित सहयोगी र साझेदारहरूसँग नजिकबाट समन्वय गरिरहने प्रतिरोधात्मक उपायहरूको दायराको बारेमा पनि छलफल भएको जनाइएको छ।
विज्ञप्तिअनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवान र काउन्सिलर स्टिभ रिचेट्टी क्याम्प डेभिडमा बाइडेनसँग व्यक्तिगतरूपमा सामेल भए भने अन्य राष्ट्रिय सुरक्षा अधिकारीहरू सुरक्षित भिडियोद्वारा सामेल भएका थिए।
शुक्रबार लाभरोभ र ब्लिन्केनले जेनेभामा अमेरिकी विदेशमन्त्रीसँग भेट गरेका थिए र अर्को हप्ता सुरक्षा ग्यारेन्टीमा मस्कोको प्रस्तावको लिखित जवाफ दिने वाचा गरेका थिए। पश्चिमी देशहरूले रुसले 'आक्रामक कारबाही'को तयारीमा युक्रेनी सीमानजिकै सेना तैनाथ गरेको आरोप लगाउँदै आएका छन्।
मस्कोले बारम्बार यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ। रुसको सीमाना नजिक नाटोको सैन्य गतिविधिलाई औंल्याउँदै यसले आफ्नो राष्ट्रिय सुरक्षाको लागि खतरा मानेको छ। यसैबीच रुसले पनि आफ्नो क्षेत्रभित्र सेना सार्ने अधिकार रहेको बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.