अनलाइन गेम खेलेरै करोडपति बन्नेहरू
दिल्ली : मीत महेशकुमार ब्रह्मदत्तले पन्ध्र वर्षको उमेरमा अनलाइन गेमिङ सुरु गर्दा उनी एक दिन भारतका शीर्ष ई-स्पोर्ट्स खेलाडीहरू मध्ये एक हुने कल्पना पनि गरेका थिएनन्।
उनीसँग पर्याप्त जोश र प्रतिभा थियो । तर सबैभन्दा आवश्यक पर्ने राम्रो मोडलको मोबाइल फोन भने थिएन। गुजरातको एउटा सानो सहर हिमातनगरमा, सुस्त गति र बारम्बार बिजुली गइरहन्थो। यस्तोमा सस्तो मोबाइल फोन अड्कि अड्कि चल्थ्यो।
मीतका अभिभावकलाई पनि आफ्नो एक्लो सन्तानको अनलाइन गेमिङको सोख खासै मन परिरहेको थिएन। ब्रह्मदत्त अहिले २३ वर्षका भइसकेका छन् र उनलाई मानिसहरूले प्रिन्सको नामले चिन्छन्। प्रिन्स भन्छन्, 'अभिभावकले मलाई यो सब बन्द गरेर पढाइमा ध्यान दिन भन्थे। मैले प्रतियोगितामा पुरस्कारका रूपमा पाएको ठूलो रकमले बुबाको ऋण तिरिदिएपछि बल्ल उहाँहरु मेरो रुचि प्रति सकारात्मक भए।'
सन् २०१९ को कुरा हो, प्रिन्स र उनको टिम सदस्यहरूले पब्जी (प्लेयर अननोन ब्याटलग्राउन्ड्स) को मोबाइल क्लब पीएमको प्रतियोगितामा भाग लिए। यस प्रतियोगितामा प्रिन्सको टिम तेस्रो भए र पुरस्कारस्वरुप उनले २० हजार डलर अर्थात् आजको दर अनुसार भारु १४ लाख ८८ हजार रुपैयाँभन्दा बढी प्राप्त गरे ।
पब्जीको भारतीय संस्करण
यसमध्ये केही पैसा मीतले आफ्नो बुबालाई दिए । त्यो रकम उनका पिताले ऋण मात्र तिरेनन् बचेको बाँकी रकमले अर्को स्टक पनि किने ।
कम्प्युटर विज्ञानको डिग्री लिएका प्रिन्सले पढाइको बीचमा समय निकालेर इ-स्पोर्ट प्रतियोगिताहरूमा भाग लिने क्रम जारी राखे। उनले स्प्रेगोड, अलादिन र सारङ नाम भएका खेलाडीहरू मिलेर एउटा टिम बनाए। उनीहरुसँग मितको परिचय अनलाइन रुपमै भएको थियो।
सन् २०२० को सुरुमा यो टिमलाई ग्य्रापल क्रियशन एक्स (जीसीएक्स) नामक कम्पनीले किन्यो। कम्पनीका सञ्चालक सन्तोष पचेतीले भारतका सात ठूला नदीको नाममा यो टोलीलाई ‘७ सी’ नाम दिए । कुनै लगानीकर्ताले इस्पोर्टस् टिम किन्दा उनीहरूलाई आर्थिक सहयोगका साथै गेमिङ उपकरणहरू, कम्प्युटरहरू र कोचहरू जस्ता अन्य सहयोग दिन्छ। बदलामा, कम्पनीले प्रतियोगिता जित्दा टिमबाट पुरस्कार राशीको सानो अंश लिन्छ।
तर चीनसँग सीमामा तनाव बढेपछि सेप्टेम्बर २०२० मा भारत सरकारले पब्जी मोबाइल गेमका साथै अन्य ११७ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो। यसपछि व्यापक आक्रोश र अन्योलता उत्पन्न भयो । डिसेम्बर २०२० मा चिनियाँ प्रकाशक 'क्राफ्टन' ले पब्जीको भारतीय संस्करण ब्याटलग्राउण्ड्स मोबाइल इण्डिया नामबाट सार्बजनिक गर्यो।
विलाशी जीवनशैली
प्रिन्सको जीवनमा सबैभन्दा ठूलो घटना सन् २०२१ मा आयो जब जीसीएक्सलाई सिंगापुरस्थित इस्पोर्ट्स कम्पनी एम्पभर्सले किन्यो । किनबेचको सम्झौता कतिमा भयो भन्ने जानकारी सार्वजनिक नभए पनि भारतका चार जना केटाको टिमलाई यो कम्पनीले उत्कृष्ट सुविधा उपलब्ध गराउन सुरु गर्यो ।
सम्झौता अनुसार ७ सी टोलीका चारै खेलाडीलाई सन् २०२१ को अगस्टमा विलासी गेमिङ हाउसमा सारिएको छ । पुणेको यो विलासी ६ कोठाको एपार्टमेन्टमा नवीनतम गेमिङ प्रविधि, उच्च गतिको इन्टरनेट, साथै शेफ र अन्य सहायकहरूद्वारा खेलाडीहरूका लागि हातले बनाएका विभिन्न परिकारहरू छन्।
यी खेलाडीहरूलाई एक प्रशिक्षक, कार्यसम्पादन विश्लेषक, एक व्यक्तिगत प्रशिक्षक र 'सामाजिक राजदूतहरू' पनि दिइएको छ जसले अनलाइन सामग्री सिर्जना गर्नेछ र ७सी ब्रान्डको प्रचार गर्नेछ।
एम्पभर्सका प्रमुख रणनीति अधिकारी चार्ली बेली ७सीबारे भन्छन्, 'उनीहरूसँग धेरै सम्भावनाहरू छ। सही स्रोत र सहयोगले ७सीलाइ हामी धेरै सफल गेमिङ टिममा बदल्न सक्छौं भन्ने हाम्रो विश्वास छ।'
चार वर्षमा इस्पोर्ट भारतमा विशाल हुनेछ
भारतमा हाल करिब १.५ लाख पेशेवर र अर्ध-व्यावसायिक इस्पोर्ट्स खेलाडीहरू छन्। यद्यपि, तिनीहरूमध्ये धेरैले यसलाई पार्ट टाइमका रुपमा मात्र अगाडि बढाएका छन्। समय बित्दै जाँदा इस्पोर्टस् प्रतियोगिताको संख्या बढ्न थालेपछि सन् २०२५ सम्ममा व्यावसायिक खेलाडीको संख्या पनि १५ लाख पुग्ने अपेक्षा गरिएको छ ।