सोलुखुम्बुमा हिमपात : जनजीवन प्रभावित, दुई फिटको हिउँमा गस्ती गर्दै प्रहरी
सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ। खुम्बुपासाङ ल्हामु गाउँपालिका ४ खुम्जुङको तापक्रम माइनस १३ डिग्रीसेलसियसमा झरेको छ।
यहाँका स्थानीय वासीन्दा घरबाट खासै बाहिर निस्कन सकेका छैनन्। घरैमा दाउरा बाल्ने र शरीरलाई न्यानो बनाएर राख्ने काम गरेका छन् भने अन्य सरकारी कार्यालयका कर्मचारीले समेत सोही विधि अबलम्बन गर्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भुमिराज उपाध्यायले बताए।
पर्यटकीय सिजन सकिएसँगै यस क्षेत्रका अधिकांश स्थानीयवासीन्दा चिसो छल्नकै लागि राजधानी काठमाडौंलगायतको क्षेत्रमा जाने गर्छन्। यस वर्षपनि धेरैजसो स्थानीयवासी चिसो छल्न खुम्बु छाडेका छन् भने दैनिक सय हाराहारीमा उडान हुने तेञ्जिङ हिलारी बिमानस्थल लुक्लामा अहिले दैनिक २/३ उडानमा सिमित बनेको छ।
खुम्जुङ क्षेत्रका करिब ७० प्रतिशत मानिस चिसो छल्न काठमाडौं गएको स्थायनीवासी पेमायाङ्जी शेर्पाले बताए। घरमा ताल्चा लगाएर नै सबै परिवार काठमाडौं गएको उनको भनाई छ।
केही स्थानीयवासी चिसो छल्न खुम्बु छाडेका छन् भने केही स्थानीयवासी र कर्मचारीले घरैमा आगो तापेर दिन बिताउने गरेका छन्। तर शान्ति सुरक्षाको लागि खटिएको प्रहरी कर्मचारीले भने दैनिक गस्ती गर्ने गरेका छन्। सगरमाथा राष्ट्रिय निकुञ्ज समेत भएकाले चोरी सिकारी लगायत अन्य घटना हुन नदिनको लागि प्रहरी सधै सक्रिय हुनुपर्ने भएकाले सोही अनुसार ड्डूटीमा खटिने गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले बताए।
सुरक्षाका लागि स्थापना गरिएको प्रहरी चौकीमध्ये सबैभन्दा बढी उचाईमा खुम्जुङ प्रहरी चौकी पर्छ। जुन समुद्री सतहदेखि ३७७० मिटर उचाइमा पर्छ। यो समाचार तयार पार्दा यहाँको तापक्रम माइनस १३ डिग्रीसेलसियस रहेको छ। प्रहरी सुरक्षाको लागि दुई फिटको हिउँमा गस्ती गरिरहेको छ ।
पाइपमा पानी जमेका कारण २० मिनेट टाढा मुहानको पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको प्रहरी चौकी खुम्जुङका इन्चार्ज प्रहरी हवलदार जय ढकालले बताए। 'हिउँ अत्याधिक परेको बेलामा त झन समस्या हुन्छ।' इन्चार्ज ढकालले भने, 'समस्या हुन्छ भनेर बस्न मिल्दैन, यहाँ गाउँबस्ती पनि छ, धेरैले गाउँछाडेर चिसो छल्न बाहिर गएका छन्, हाम्रो काम सुरक्षा दिने हो, राज्यले दिएको यो जिम्मेवारी त पुरा गर्नुपर्यो नि हजुर।'
खानाभन्दा सुरक्षा पहिलो प्रथमिकता
राज्यको हरेक निकायलाई आवश्यक पर्ने प्रहरी संगठन, जसको हिमाल, पहाड, तराईका फाँट या अन्य कुनै विपत्तिका घटना होस् त्यहाँ प्रहरीको उपस्थिति महत्वपुर्ण हुन्छ। प्रहरी कर्मचारी देख्नेबित्तिकै गलत सोच भएकाहरु समेत हच्कने गर्छन्।
कानुन कार्यान्वयनको सवालमा पक्राउ गर्नेदेखि अनुसन्धान गर्नेसम्म र नागरिकको जीउ ज्यानको सुरक्षा गर्ने, गाउँ समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने सम्ममा प्रहरीको भुमिका महत्वपुर्ण हुन्छ। तर ती प्रहरीको दैनिकी कसरी बित्छ भन्ने चाहि लुकेर रहेको विषय हो।
खुम्जुङ र ठमु प्रहरी चौकीका प्रहरी कर्मचारीको नाजिकको साप्ताहिक हाट नाम्चे हो। उक्त बजारसम्म पुग्नको लागि दुई घण्टासम्म हिड्नुपर्ने प्रहरी कर्मचारीको भनाई छ। अत्याधिक हिउँ परेका कारण दुई हप्तादेखि हाटसम्म पुग्न नसकिएकाले सोयाबिन र आलुको तरकारीमा खाना खानुपर्ने बाध्यता रहेको प्रहरी हवलदार जय ढकालको भनाई छ। खानामा नयाँ-नयाँ स्वाद लिन चाहेपनि नसकिने उहाँको भनाई छ। यस्तै कपडा धुनको लागि पानी तताउनुपर्ने बाध्यता रहेको उनले बताए।
आफूलाई आवश्यक पर्ने लत्ताकपडाको साथै ओड्ने ओछ्याउने समेत लैजान समस्या हुनेगरेको उनीहरुको भनाई छ। उक्त समस्यालाई मध्यनजर राख्दै वडा कार्यालयले म्याटिस लगायतको आवश्यक कपडा व्यवस्थापन गरिदिएकाले सहज भएको ढकालको भनाई छ। प्रहरी कर्मचारीको समस्यालाई मध्यनजर राख्दै स्थानीय सरकार संगको समन्वयमा आवश्यक सहयोग जुटाइदिनेगरेको प्रहरी नायव उपरीक्षक कवित कटवालले बताए।
वातावरण राम्रो भएमा मात्रै प्रहरी कर्मचारीले उत्कृष्ट काम गर्न सक्ने भएकाले जिल्लाको हरेक प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयमा समेत सोहीअनुसार व्यवस्थापनको काम गरिएको जनाइएको छ।