सिरिजङ्गा लिपिको नाम परिवर्तन र थप गरिएको प्रति असन्तुष्टि
ताप्लेजुङ : परम्परागत सिरिजंगा लिपिमा थप लिपीहरू थपेर किराँत सिरिजंघा लिपि नामकरण गर्न लागिएको प्रति असन्तुष्टि जनाउँदै पूर्ववत् नाम नै राख्न माग गरिएको छ। सोमबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा सिरिजंगा लिपि बचाऔँ संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै पूर्ववत नै राख्न माग गरेका हुन्। साथै उनीहरुले सिरिजङ्गा लिपि समायोजन सम्बन्धी विज्ञ कार्यदलले बुझाएको प्रतिवेदनसमेत जलाएका छन्।
सहिद सिरिजंगाको त्याग र बलिदानले सुरुवात भएको लिपिलाई किराँत सिरिजंगा लिपिका नाममा समायोजन तथा नामकरण गर्ने भन्ने विज्ञ कार्यदलको प्रतिवेदनप्रति आपत्ति प्रकट गरेका हुन्। सिरिजंगा लिपिका बारेमा विभिन्न अभिलेख, लिखत तथा अभ्यासहरूमा सिरिजंगाको सम्मान गर्दै उनकै नामबाट लिपिको नाम राख्न उपयुक्त र सर्वस्वीकार्य हुने भएकाले नामको अघिपछि कुनै फुर्का र शब्दावली आवश्यक नरहेको संघर्ष समितिका पदम माबो लिम्बूले बताए।
नयाँ अक्षरहरु थप गर्ने र ‘किराँत’ शब्दलाई थप गरेर नामाकरण गर्ने काम आफूहरुलाई स्विकार्य नहुने उनले बताए। ‘किराँत सिरिजंगा लिपि समायोजनसम्बन्धी विज्ञ कार्यदलको प्रतिवेदन’ मा थपिएका स्वर र व्यञ्जन वर्णहरूप्रति असहमति जनाउँदै ती अक्षरहरू लेखन तथा पठनपाठन प्रक्रियामा अनुपयुक्त मात्रै होइन, पूर्ण असान्दर्भिक रहेको पनि उनीहरुको ठहर रहेको छ। यसरी सिरिजंगाले दिएको बलिदानीपूर्ण उच्च योगदानको मर्म र भावनाविपरीत राख्न लागिएको किराँत सिरिजंगा नामकरण उपयुक्त नहुने निष्र्कष निकाल्दै आन्दोलनका कार्यक्रम सुरु गरेको दाबी छ।
समय मै यो कदमलाई नरोके आगामी माघ १५ गते झापाको विर्तामोडमा बृहत भेलागरी थप आन्दोलनको कार्यक्रम घोषणा गरेर अघि बढ्ने माबोले जानकारी दिए। गत माघ १ गते किराँत याक्थुङ चुम्लुङको अगुवाईमा किराँत सिरिजङ्गा लिपि समायोजन सम्बन्धी विज्ञ कार्यदलले केही शब्दहरु थप गरेर आफ्नो प्रतिवेदन सार्वजनिक गरेको थियो।