कर्मचारी नै संक्रमित भएपछि रसुवा प्रशासनको सेवा स्थगित
नुवाकोट : महामारीकोरुपमा रहेको कोरोनाले कार्यालयकै कर्मचारी संक्रमित भएका छन्। कर्मचारी संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले सेवा प्रवाह स्थगित गरेको छ।
कार्यालयका अधिकांश कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण देखिएकाले अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए। हिमाली रसुवाको शान्ति सुरक्षा र विपद् प्रतिकार्य बाहेक अन्य सेवा चार दिनका लागि स्थगित गरिएको उनको भनाई छ।
नयाँ तथा प्रतिलिपि नागरिकता वितरण, राहदानी तथा ई–पासपोर्ट, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, सङ्घसंस्था दर्ता तथा नवीकरण र कार्यालयबाट हुँदै आएको मतदाता नामावली सङ्कलनका कार्य हाललाई स्थगित गरिएको कार्यालयले जनाएको छ। नुवाकोटको छिमेकी रसुवामा हाल ९९ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ।
हालसम्म रसुवामा १ हजार ४ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये १ हजार ३ सय ३५ जना निको भएका छन् भने दुई जनाको ज्यान गएको कार्यालयको तथ्याङ्क रहेको छ।