साँच्चै ओमिक्रोन भेरियन्टसँगै कोरोना महामारी समाप्त हुँदैछ?

साँच्चै ओमिक्रोन भेरियन्टसँगै कोरोना महामारी समाप्त हुँदैछ?

पेरिसः युरोपमा कोभिड-१९ महामारीको अन्तिम भेरियन्ट ओमिक्रोन नै हुनसक्ने विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले बताएको छ। ओमिक्रोनले विश्व कोभिड महामारीलाई नयाँ चरणमा प्रवेश गराएकाले यो नै अन्तिम भेरियन्ट हुन सक्ने डब्ल्युएचओले बताएको हो।

डब्ल्युएचओ युरोपका निर्देशक ह्यान्स क्लजले सो बताएका हुन्। ‘कोभिड महामारी सुरु भएको तीन वर्ष हुन लागि सक्यो। त्यसैले ओमिक्रोन भेरियन्ट नै यस महामारीको अन्तिम रुप हुन सक्छ,’ आगामी मार्च सम्म ६० प्रतिशत युरोपियन ओमिक्रो संक्रमित हुने बताउँदै उनले भनेका छन्।

ओमिक्रोन भेरियन्टले चरम रुप लिएको युरोपमा पछिल्लो समय संक्रमितको संख्या ओरालो लाग्दै गएको बताइएको छ। कोभिड-१९ विरुद्धको खोपका कारण पनि ओमिक्रोनले कम असर गरेको र चाडै महामारीको अन्त्य हुने संकेत देखा परेको उनले बताएका हुन्।

टोङ्गा ज्वालामुखीबाट ८४ प्रतिशत मानिस प्रभावित

वेलिङ्टनः टोङ्गा ज्वालामुखीका कारण करिब ८४ प्रतिशत त्यहाँका नागरिक प्रभावित बनेका छन्। समुद्रमुनीबाट विस्फोट भएको शक्तिशाली ज्वालामुखीपछि निस्केको खरानी र सुनामीका कारण करिब ८४ प्रतिशत नागरिक प्रभावित बनेका हुन्।

टोङ्गन सरकारले सोमबार करिब १ लाख ५ हजार जनसंख्यामध्ये ८४ प्रतिशत मानिस नम्रोसँग प्रभावित बनेको जानकारी दिएको हो।

गएको हप्ता सो क्षेत्रमा समुद्रमुनीबाट ज्वालामुखी विस्फोट भएको थियो। हिरोसिमा र नागासाकीमा खसालिएको आणविक बमभन्दा निकै शक्तिशाली मानिएको ज्वालामुखीको असर संसारभर परेको छ।

ज्वालामुखी विस्फोटपछि आएको सुनामीका कारण त्यहाँका विभिन्न गाउँ र भवनहरु भत्किएको बताइएको छ। विस्फोटसँगै निस्केको खरानीले टोङ्गा ढाकेको थियो। सो ज्वालामुखी विस्फोटका कारण तीन मानिसको मृत्यु भएको पुष्टि भएको थियो। ज्वालामुखीबाट प्रभावित टोङ्गामा तत्काल ठूलो मात्रामा राहत चाहिएको बताइएको छ।

अमेरिकामा १२५ सर्प जम्मा गर्ने मानिस मृत फेला

मेरिल्याण्डः अमेरिकाको मेरिल्याण्ड राज्यका एक मानिस मृत फेला परेका छन्। करिब १२५ वटा विषालु र कम विषालु सर्प जम्मा गरेका ४९ वर्षीय मानिस मृत फेला परेका हुन्।

प्रहरीले ती व्यक्तिलाई आफ्नै घरमा मृत फेला पारेका हुन्। मृत फेला परेका ४९ वर्षीय ती मानिसले खोजीका लागि अनौठा प्रजातिका सर्पहरु जम्मा गरेर ट्यांकीमा राखेको प्रहरीले जनाएको छ। मृतकको नाम गोप्य राखिएको मेरिल्याण्डस्थित चार्ल्स काउन्टी सरकारले जनाएको छ।

मेरिल्याण्डको रोग नियन्त्रण एवं रोकथाम विभागका अनुसार सो क्षेत्रमा वर्षेनि करिब ८ हजार मानिसहरुलाई विषालु सर्षले टोक्ने गरेको छ। उपचार नपाएमा विषालु सर्पको डसाइबाट कैयौं मानिसको मृत्यु हुने गरेको छ।

बुर्किना फासोका राष्ट्रपति सेनाको हिरासतमा

ओगाडोगुः बुर्किना फासोका राष्ट्रपति रोच काबोरे पक्राउपछि हिरासतमा परेका छन्। उनलाई त्यहाको सेनाले सोमबार पक्राउपछि हिरासतमा लिएको हो।

सोमबार बिहान राष्ट्रपति निवासनजिकै राष्ट्रपतिका सुरक्षाकर्मीहरुलाई गोली लागेको र उनीहरु रगतमा लतपतिएको अवस्थामा फेला परेको स्थानीय मिडियामा खबर छ। सैन्य कूको प्रयासमा सेनाले उनलाई पक्राउ गरी हिरासतमा लिएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।

आइतबार सेनाले बुर्किना फासोको राजधानी ओगाडोगु र राष्ट्रपति निवास आसपास क्षेत्रमा कैयौ राउन्ड हवाई फायर गरेको स्थानिय मिडियामा उल्लेख छ। त्यहाँको सेनाले देशमा सैन्य कूको प्रयास गरिरहेको बताइएको छ।

पाकिस्तानको सर्वोच्च अदालतलमा पहिलो महिला न्यायाधीश

इस्लामावादः पाकिस्तानको सर्वोच्च अदालतमा पहिलोपटक महिला न्यायाधीश नियुक्त भएकी छन्। न्यायाधीश आयशा मलिकले सोमबार सर्वोच्च अदालतको न्यायाधीशको सपथ खाएसँगै पाकिस्तानको अदालतले पहिलो पटक महिला न्यायाधीश पाएको हो।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गुल्झर अहमेदले सोमबार मलिकलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्। नवनियुक्त न्यायाधीश मलिकले हाभर्ड युनिभर्सिटीबाट आफ्नो उच्च शिक्षा पूरा गरेकी हुन्। उनी  पाकिस्तानको पूर्वी सहर लाहोरको उच्च अदालतमा विगत दुई दशकदेखि न्यायाधीशको रुपमा कार्यरत थिइन्।

हुथीको निशानामा साउदी अरबिया र युएई

दुबईः हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहारमा साउदी अरेबिया र युनाइटेड अरब एमिराट् (युएई) रहेको खुलेको छ। युएईको रक्षा मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिले यमनी हुथी विद्रोहिले साउदी अरेविया र युएईलाई क्षेप्यास्त्र आक्रमणको निशानामा राखेको खुलाएको हो।

‘हुथी विद्रोहीद्वारा विभिन्न मिसाइलहरु आबुधाबी र साउदी अरेवियाका विभिन्न क्षेत्रलाई लक्षित गरी प्रहार गरिएका छन्,’ युएईको रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि खतरासँग लड्न युएई तयार छ र राज्यलाई सबैखाले आक्रमणबाट जोगाउन आवश्यक सबै कदम चाल्न पछि हट्नेछैन।’

गत हप्ता आबुधाबीमा हुथी विद्रोहिले आक्रमण गरेको थियो। सो आक्रमणमा परी तीन नागरिकको ज्यान गएको थियो भने अन्य दुई नागरिक घाइते भएका थिए। सो क्षेप्यास्त्र प्रहारपछि हुथी समूहले दक्षिण साउदी अरबियामा गरेको अर्को क्षेप्यास्त्र प्रक्षेपण भने साउदीले नष्ट गरेको थियो।

युद्धको डरले अमेरिका र बेलायतले युक्रेनबाट आफ्ना कर्मचारी फिर्ता बोलायो

किभः अमेरिकी र बेलायती विदेश विभागले युक्रेनस्थित दूतावासमा कार्यरत आफ्ना कूटनीतिज्ञ एवं कर्मचारीका आफन्तहरुलाई फिर्ता बोलाएको छ। रुसले युक्रेनमाथि आक्रमण गर्ने खतरा रहेको भन्दै बेलायत र अमेरिकाले त्यहाँ रहेका कूटनीतिज्ञका परिवारलाई स्वदेश फिर्ता बोलाएको हो।

बेलायतको विदेश विभागले सोमबार युक्रेनमा रहेका आफ्ना कर्मचारी र अन्य सदस्यहरु फिर्ता बोलाइसकेको जनाएको छ। रुसले युक्रेनमाथि सैन्य हमला गर्ने योजना बनाएको भन्दै अमेरिकाले राजधानी किभमा रहेका आफ्ना अन्य कर्मचारीलाई समेत तत्काल युक्रेन छोड्न आदेश दिएको छ।

अमेरिकाद्वारा जारी एक विज्ञप्तिले रुसले युक्रेनमाथि हमला गर्ने योजनाको विवरण बाहिरिएको उल्लेख गरेको छ। सोही कारण बेलायतले पनि आफ्ना नागरिक र अत्यावश्यकबाहेकका कर्मचारीहरुलाई युक्रेनबाट बाहिरिन आह्वानसमेत गरेको छ।

यद्यपि, रुसले भने आफूले युक्रेनमाथि हमला गर्ने र कब्जा गर्ने अमेरिकाको दाबी अस्वीकार गर्दै आएको छ। अमेरिकाले उपलब्ध गराएको करिब ९० टन बराबरको हातहतियार सहायता सामग्री शनिबार युक्रेन पुगेको बीबीसीले जनाएको छ। युक्रेन सम्बन्धमा अमेरिका र रुसबीच चलेका कूटनीतिक वार्ता असफल बनेका छन्। रुसले युक्रेनमाथि हमला गरेमा रुसले त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी अमेरिकाले दिइसकेको छ।

तालिवान र पश्चिमा अधिकारीहरुबीच पहिलो वार्ता सुरु

ओस्लोः तालिवान सदस्य र पश्चिमा अधिकारीहरुबीच नर्वेको राजधानी ओस्लोमा वार्ता सुरु भएको छ। तालिवानले अफगानिस्तान नियन्त्रणमा लिएपछि उनीहरुबीच आइतबारदेखि पहिलोपटक वार्ता सुरु भएको हो।

करिब तीन दिनसम्म चल्ने वार्ताको पहिलो दिन तालिवान सदस्यले मानव अधिकारकर्मीहरुसँग भेटवार्ता गरेका छन्। सो भेटमा भएको छलफलबारे वास्तविकता सार्वजनिक नभए पनि अफगानिस्तानमा जारी मानवीय संकट र मानव अधिकारबारे उनीहरुबीच छलफल भएको बताइएको छ। संयुक्त राष्ट्रसंघले करिब ९५ प्रतिशत अफगान नागरिकले पर्याप्त खाना नपाएको बताउँदै आएको छ।

तालिवानलाई वार्तामार्फत् पुरस्कृत गर्न नहुने आलोचना गर्दै सयौंले युरोपका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन्। सोमबारको वार्तामा भने तालिवान र पश्चिमा अधिकारीहरुसँग छलफल हुने बताइएको छ। सोमबारको वार्तालाई महत्वका साथ हेरिएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.