चन्दा उठाएर खर्च बुझाएपछि बलको डिस्चार्ज
सिन्धुली : मरिण गाउँपालिका-१ बेतपानी सिन्धुलीकी सुनमायाँ बलको उपचार खर्च चन्दा उठाएर तिरेपछि मंगलबार डिस्चार्ज भएकी छिन्। सिन्धुली अस्पतालमा उपचारका क्रममा भएको खर्च अस्पताललाई बुझाउन नसक्दा बल समस्यामा परेकी थिइन्। आर्थिक अवस्था कमजोर भएकी बलको दुईसाता अघि गोठालो जाँदा भिरबाट लडेर देव्रे हात भाँचिएको थियो।
गाउँमै काम्रो बाँधेर बसेकी बलको हात पाकेर झर्ने अवस्था भएपछि स्थानीयको पहलमा सिन्धुली अस्पतालमा उपचारका लागि ल्याइएको थियो। उनको सिन्धुली अस्पतालका डाक्टर सविर खड्काको पहलमा अप्रेशन गरिएपनि उपचारमा लागेको झण्डै ८० हजार रुपैयाँ खर्च तिर्न नसक्दा डिस्चार्ज हुन सकेको थिएन।
अस्पताल प्रशासनले उपचार राम्रो गरेपनि उपचार खर्च नबुझाई डिस्चार्ज हुन नदिएपछि गौमति माध्यमिक विद्यालय सिन्धुलीका शिक्षक अमृत घिसिङको पहलमा चन्दा संकलन गरेर बुझाइएको हो।
शिक्षक घिसिङको पहलमा ५५ हजार ९ सय ५ रुपैयाँ सहयोग रकम पीडित बललाई अस्पतालमै पुगेर सोमबार हस्तान्तरण गरेपछि अस्पतालले मंगलबार डिस्चार्ज गरेको हो।
‘अस्पतालमा उपचार खर्च अभावमा रहेकी ५५ वर्षीया महिलाको चित्कार सुनेपछि मैले फेसबुकमा सहयोगको अपिल गरेको थिए। त्यसैलाई हेरेर १३ जना मनकारीहरुबाट सहयोग जम्मा भएको रकम अस्पतालका डाक्टरसहिको उपस्थितीमा बुझाएका हौं। अहिले पीडितको उपचार पनि राम्रो भएको छ। उहाँको अहिले डिस्चार्ज पनि भएको छ,’ घिसिङले भने।
बललाई अस्पतालकै कर्मचारीहरुलेसमेत सहयोग गरेका छन्। सुरुमा मैले सहयोगको आह्वान गर्दा अस्पताल प्रशासनबाट बाहिर यस्तो कुरा नलेख्न भनेर दबावसमेत आएको थियो।
आफूले सहयोग पाएपछि पीडित बल भने निक्कै खुसी भएकी छिन्। ‘मरिण गाउँपालिकाले १० हजार रुपैयाँ सहयोग गर्छु भनेको भएपनि पाईन्। तर गरिवको लागि हेरीदिने भगवान हुँदा रहेछन्। मलाई सहयोग गर्ने सबै भगवान जत्तीकै हुनुभयो,’ बलले भनिन्।
उता सिन्धुली अस्पतालका डाक्टर सविर खड्काले व्यक्तिगत जोखिममै पीडित महिलाको उपचार गरेको बताए। ‘हामीले पैसा जम्मा गर्न अनुरोध गरेऔं तर पैसा छैन् भनेपछि उपचार गर्दै गर्छौं पैसा खोज्न भनेर सबै सामान आफ्नो रिक्समा जम्मा गरेर अप्रेशन गरेका थियो। अहिले राम्रो भयो,’ उनले भने।