पुल जीर्ण हुँदा आवतजावतमा समस्या
नुवाकोट : झोलुङ्गे पुल जीर्ण हुँदा रसुवाको दक्षिणी भेगमा रहेका सर्वसाधारणलाई समस्या परेको छ। झोलुङ्गे पुलको तत्काल मर्मत गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन्। कालिका गाउँपालिका २ मा रहेको घुम्ती बजार–जिबजिबे सडकको डिल भासिएपछि धोबीखोलाको पुल खतरामा परेको हो। प्राकृतिक प्रकोपका कारण सो झोलुङ्गे पुल जोखिममा परेको हो।
दुई दशक अगाडिदेखिको पहिरोग्रस्त सो क्षेत्रमा वर्षायाममा पहिरो जाने समस्याले कालिका क्याम्पसका विद्यार्थी तथा जिबजिबे, ज्याङलाङ, सरसिउँ, घोर्मुलगायत गाउँका बासिन्दालाई आवतजावतमा कठिन पर्दै आएको छ।
एक सय १७ मिटर लामो सो झोलुङ्गे पुलको एकातर्फ भागमा जिबजिबे सडकको डिल भासिएपछि संरक्षणमा स्थानीय बासिन्दाले माग गरेका छन्। कुनामा लगाइएको टेवा पर्खालसमेत लडेका कारण ‘झोलुङ्गेपुल बचाऔँ अभियान’मा जुट्न उपभोक्तालगायत सम्बद्ध सबै पक्षसँंग आग्रह गरिएको स्थानीयवासीले बताए।
वर्षायाममा निरन्तर पहिरो गइरहनाले पार गर्न स्थानीय बासिन्दालाई प्रत्येक वर्ष तीन महिना सकस हुनाले दुई वर्ष अगाडि गाउँपालिकाले झोलुङ्गे पुल निर्माण गरेको थियो। लठ्ठा कसिएको स्थान दह्रो भएपनि माथिको पाखो बग्न थालेका कारण पुल पूर्ण जोखिम अवस्थामा रहेको स्थानीयवासी नारायणप्रसाद देवकोटाले बताए।
वर्षायाममा जिबजिबेदेखि यार्सा गाउँका १० हजारभन्दा बढी बासिन्दाले सो पुलबाट आवतजावत गर्छन्। पुल संरक्षणमा सहभागी भइदिनदिन स्थानीय तह, सामाजिक सङ्घसंस्था एवं सरोकार निकायसमेतमा आग्रह गरिएको स्थानीयवासी देवकोटाले बताए।
छिटो उपचार गराउनुपर्ने बिरामी वर्षायाममा काठमाडौँलानसमेत समस्या हुँदै आएकोे छ। हिउँदमा मोटर गुड्ने र वर्षायाम सुरू हुनासाथ पैदलमार्गीसमेत हिँड्न नसक्ने अवस्थाले बढीमात्रामा जिबजिबेबासी ठूलो मर्कामा परिरहेको अर्का स्थानीयवासी चिरञ्जीवी पौडेलले गुनासो गरे।