घातक बन्दै ओमिक्रोन
रुघाखोकी, ज्वरो, टाउको र राति सुत्नै नसक्ने गरी जिउ दुख्ने गरेको छ तर पीसीआर गर्न वा रिपोर्ट आउन बाँकी छ भन्नेहरू अचेल यत्रतत्र भेटिन्छन्। देशभर सक्रिय संक्रमित ७२ हजारभन्दा बढी र उपत्यकामै ४७ हजारभन्दा बढी छन्। दुवै मात्रा खोप लगाएकाको पनि संक्रमण, जटिलता तथा मृत्यु देखिएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको सुनामी आउने चेतावनी विश्व स्वास्थ्य संगठनले डिसेम्बरमै दिइसकेको छ। फ्रान्सका प्रधानमन्त्री जँ कास्टेक्सले ओमिक्रोनको संक्रमण बिजुली चम्केको गतिमा रहेको बताएका छन्।
खुला सीमा भएकाले छिमेकबाटै दैनिक हजारौं ओहोरदोहोर गरिरहेका छन्। नेपालमा पनि हप्तामै संक्रमित सयबाट हजारतिर उकालो लागिरहेका छन्। स्कुल, कलेज गएर रमाउन मात्रै थालेका विद्यार्थी फेरि घरकै कोठामा सीमित हुन पुगेका छन्। स्वास्थ्यका जनशक्तिमा संक्रमण ह्वात्तै बढेको छ। अभावै अभावमा काम गरिरहेका सीमित जनशक्ति पनि क्वारेन्टाइन र आइसोलेसनमा छन्। त्यसैले अस्पतालका सेवामा प्रभाव परेको प्रष्टै देखिन्छ। इम्पेरियल कलेज लन्डनको कोभिड—१९ प्रतिक्रिया टोलीले भर्खरै गरेको अध्ययनमा ओमिक्रोन भेरियन्टले पुनः संक्रमणको जोखिम डेल्टाभन्दा ५.४ गुणा बढी र विगतमा संक्रमण भएकामा पुनः संक्रमणविरुद्ध सुरक्षा १९ प्रतिशतले कम
हुने देखाएको छ।
पहिलो लहरमा भाइरसले एकबाट अर्को दुईजना र दोस्रो लहरमा डेल्टा भाइरसले एक जनाबाट पाँचजनासम्म संक्रमित गराउँथ्यो। तेस्रो अर्थात् ओमिक्रोनले एकबाट १० जनालाई संक्रमित गराउने क्षमता राख्छ। त्यस्तै खोप नलगाउनेमा लगाएको व्यक्तिमा भन्दा १० गुणा बढी संक्रमण, अस्पतालमा भर्ना भएर गाह्रो बनाउने १७ गुणा र मृत्यु हुने संभावना २० गुणाले बढी हुन सक्ने सम्भावना रहेको देखिएको छ। दोस्रो डेल्टाबाट भन्दा ओमिक्रोनले भर्ना हुने दर ८० गुणा र मृत्यृ हुने सम्भावना १० गुणा कम देखिएको छ। डेल्टाभन्दा फोक्सोमा नभई श्वासनलीमा आक्रमण गर्ने ओमिक्रोन ७० गुणा तीव्र गतिले फैलिने गर्दा विस्तारै घातक देखिँदैछ। हाइफ्लो अक्सिजन, अक्सिजन कन्सेन्ट्रेटर खासै नभएको दोस्रो लहरबाट हाल ६ सय ९३ र क्यानुला ६ सय बढी छ। २५ अक्सिजन ट्यांकमा १९ वटा र १ सय ७ अक्सिजन प्लान्टमध्ये ८७ प्लान्ट आजसम्म सञ्चालनमा आइसकेका छन। विश्वमा २ सयभन्दा बढी देशमा संक्रमित ३० करोड बढी र मृत्यु ५५ लाखभन्दा बढीको भइसकेको छ।
आकलन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुसदेखि तेस्रो लहर आउने, माघको दोस्रोदेखि तेस्रो सातामा उत्कर्षमा पुग्ने आकलन गरेको छ। माघमा मात्रै डेढ लाखभन्दा बढी संक्रमित थपिने अनुमान छ। वैशाखसम्ममा सामान्य संक्रमित २ लाख ४० हजार, गम्भीर संक्रमित १५ हजार, मध्यम लक्षण भएका ४५ हजार पुग्नेछन्। यसलाई हाल रहेको स्रोत र साधनले पुग्नेछ। दोस्रो लहरको उत्कर्षमा दैनिक २० हजार सिलिन्डर माग भएकोमा १० हजार मात्र पुर्याउन सकिएको थियो। तथापि यस पटक दैनिक ४० हजार सिलिन्डर अक्सिजनको आपूर्ति गर्न सकिन्छ।
पहिलो लहरमा पूर्वाधार नै बनिसकेका थिएनन्। स्वास्थ्य संस्था भने तयारीमै जुटे। दोस्रो लहरमा अक्सिजन र बेडको अभाव निकै बढ्यो। दोस्रो लहरभन्दा तुलनात्मक रूपमा धेरै अर्थात् दुई गुणा नै स्रोतसाधन भए पनि जनशक्ति थपिएका छैनन्। संक्रमणको गति रोक्न सकिएन भने त्यो चाप फेरि स्वास्थ्य संस्थामा नै पर्ने हो। संक्रमणको समाधान अस्पतालमा नभई समुदायमा खोज्नुपर्छ। जनस्वास्थ्यका मापदण्ड पालना नगरेसम्म रोकथाम असम्भव छ। कोरोना महामारीको दोस्रो लहर जेठमा अक्सिजन, आईसीयु, शय्या, जनशक्ति र पूर्वाधारको अभाव देखियो। त्यसैमा सबैभन्दा बढी अक्सिजन अभाव बेहोरेका अस्पताललाई ओमिक्रोनको खतराको घण्टीले पुन झस्काउँदैछ।
बुस्टर मात्रा
सरकारले माघ २ देखि अग्रपंक्तिमा रहेकालाई र माघ १४ बाट ज्येष्ठ नागरिक र रोग प्रतिरोध क्षमता कम भएकालाई तेस्रो खोप अर्थात् बुस्टर डोज दिइरहेको छ। बुस्टर डोजले एन्टिबडीको तह उच्च हुने, भाइरसको मात्रा बढ्न तथा कोषहरूमा प्रवेश गर्न रोक्ने भएकाले ओमिक्रोनबाट ८५ प्रतिशत सुरक्षित रहने बेलायतका अनुसन्धानकर्ताले जनाएका छन्। लन्डनस्थित इम्पेरियल कलेजले गरेको अध्ययनमा दुई मात्रा खोप लगाएकामा एन्टिबडीको क्षमतामा २० देखि ४० प्रतिशतसम्म कमी आएकाले खोप ओमिक्रोनमा कम प्रभावकारी देखिएको छ। तसर्थ, बुस्टर लगाएको खण्डमा प्रभावकारिता ८० देखि ८५.९ प्रतिशत देखिएको छ। तर, डेल्टालगायतका अन्य भेरियन्टमा यस्तो प्रभावकारिता ९७ प्रतिशत छ। भाइरस घा“टीमा रहने भएकाले हाँच्छयु गर्दा बढी सर्छ। तर बुस्टर डोजले भाइरल लोड, संक्रमण, अस्पताल भर्ना र मृत्यृ कम गरेको छ।
सीमाबाट नछिरोस्
छिमेकी देशमा कोरोनाको डेल्टासँगै ओमिक्रोन भेरियन्टको संक्रमण दिनहुँ बढ्दैछ। भारत र नेपालबीचको खुला सीमा नाकामा दैनिक हजारौं व्यक्ति निर्वाध ओहोरदोहर गरिरहेका छन्। भारतसँग कर्णाली प्रदेशबाहेकका ६ वटै प्रदेशका करिब १ हजार ८ सय ८० किलोमिटर लामो खुला सिमाना छ। इलामको पशुपतिनगरदेखि सुदूरपश्चिमको गड्डाचौकीसम्मका नाकामा स्वास्थ्य मापदण्ड पालना नभएको देखिन्छ। जनस्वास्थ्य अभिलेख राख्ने गरेको पनि देखिँदैन। व्यवस्थित क्वारेन्टिन छैन न त होल्डिङ सेन्टर बनिसकेका छन्। सबैको स्वास्थ्य परीक्षण पनि गरिँदैन। सिधै सार्वजनिक यातायात चढेर घरमा मिसिन पुगेका छन्।
अन्तमा, आईसीयू भर्ना भएर आएका मजस्ता बिरामीलाई सोध्नुहोस्, अस्पताल पुग्नु के हो ? आफन्त र प्रियजन गुमाएकाको भनाइ सुनौं तब थाहा हुन्छ कोरोना संक्रमण कति पीडादायक छ कोरोना भनेर। तसर्थ ओमिक्रोनबारे जनतालाई आतंकित पार्ने नभई सचेत र सुरक्षित बनाउन जरुरी छ।