अग्लो स्थानमा म्यूजिक भिडियो छायांकन गरेर विश्व किर्तीमान
सोलुखुम्बु : नेपाली ५ यूवाले विश्व रेकर्ड कायम गरेका छन्। पत्रकारिता र कलाकारितामा लागेका ५ यूवाले विश्वकै अग्लो स्थानमा म्यूजिक भिडियो छायांकन गरेर गिनिज बुक अफ वल्ड रेकर्डमा नामदर्ज गरेका हुन्।
५०२० मिटरको उचाई सोलुखुम्बुको खारे(मेरा पिकजाने बाटो)मा पुगेर छायांकन गरेर गरिएको रेकर्ड दाबीलाई गिनिजबुकले मान्यता दिएको हो। गिनिजबुकको मान्यतासँगै यसअघि हाइएष्ट अल्टिच्यूड म्यूजिक भिडियो अन ल्याण्ड शिर्षकमा नेपाली यूवाहरु सञ्च बहादुर राई, पुस्कर नेपाल, पावल राई, लक्ष्मण कार्की र राजन खरेलको नाममा रहेको रेकर्ड ब्रेक भएको छ।
‘सुन्दर हिमाल’बोलको गीत बुद्धिराज राईले लेखेकाहुन् भने गीतमा डिआर अटुको संगीत र टेक नाछिरिङको स्वर रहेको छ। कोरस गायनमा माया गुरुङ र शिखर जंग श्रेष्ठले साथ दिएका छन्। स्थलगत रेकर्डिङ गरिएको गीतमा शिवराज जोशीको मादल, बाँसुरी डम्बर सिंह राई र किबोर्ड टेक नाछिरिङले बजाएका छन्। रेकडिष्टको भूमिका शिखर जंगश्रेष्ठ (गजरकोटे)ले निर्वाह गरेका छन्।
खारेमै सुट गरिएको म्यूजिक भिडियोको निर्देशन बुद्धिराज राईले गरेका छन्। निर्देशक राईसँगै मोडल तथा डान्सर सृजना किराँती, पत्रकार तथा गीतकार शिखर जंगश्रेष्ठ र पर्यटन व्यवसायी लक्ष्मण कार्की लगायतले अभिनय गरेका छन्।
गंगाराम राईको छायांकन रहेको भिडियो गाउँले इन्टरटेनमेन्टले पोष्ट प्रोडक्सन गरेको हो। गीत रेकर्डिङ र भिडियो छायांकनको काम १ सेप्टेम्बर सन् २०२१ मा सम्पन्न गरिएको थियो। रेकर्ड राखेको गीत र भिडियो केही दिनमै टेक नाछिरिङको यूटुव च्यानलबाट सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ।