फ्लोरिडामा आप्रवासी चढेको डुंगा पल्टिँदा ३९ जना बेपत्ता
वासिङ्टन डिसीः अमेरिकाको फ्लोरिडामा डुंगा पल्टिँदा कम्तीमा ३९ जना बेपत्ता भएका छन्। फ्लोरिडाको एट्लान्टिक तटमा मानव तस्करीका लागि प्रयोग भएको डुंगा पल्टिएको बताइएको छ। अमेरिकी तटरक्षक(कोस्टगार्ड)का अनुसार, हराउनेहरु अधिकांश आप्रवासीहरु छन्।
केही दिनदेखि उनीहरुको खोजी कार्य भइरहेको अलजजीरामा समाचार छ। बेपत्ताहरुको खोजीका लागि पानी जहाज र विमान परिचालन गरिएको छ। उनीहरु क्यारेवियन मुलुक बहामासबाट डुंगा चढेर गैरकानुनी ढंगले अमेरिका प्रवेश गर्ने तयारीमा थिए।
अमेरिका छिराउने मानव तस्करहरुले ती आप्रवासीहरुलाई बहामासबाट ल्याएका हुन्। उनीहरु शनिबार बहामासबाट अमेरिकाका लागि डुंगा चढेका थिए। जिवितै उद्दार गरिएका एक व्यक्तिको तट रक्षकलाई दिएको जानकारी अनुसार डुंगामा सवार कसैले पनि लाइफ ज्याकेट लगाएका थिएनन्। डुंगमा ४० जना सवार थिए।