मदन भण्डारी राजमार्गमा एक दर्जन पक्की पुल बन्दै
सुर्खेत : पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्ग अन्तरगत सुर्खेत खण्डमा स्तरोन्नतिको काम अगाडि बढेको छ। यो राजमार्गको सुर्खेत खण्ड अन्तर्गत पूर्वी क्षेत्रमापर्ने धुलियाबिटदेखि भेडाबारीसम्मको सडकमा स्तरोन्नतिको काम सुरु भएको हो।
तर विवादका कारण जिल्लाकै पश्चिम क्षेत्रमा भने स्तरोन्नतिको काम सुरु हुन सकेको छैन। सुर्खेतमा राजमार्गले समेट्ने पूर्वी खण्डमा स्तरोन्नतिको काम सुरु भएसँगै पक्की पुल निर्माणको प्रक्रिया पनि अघि बढेको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार यो राजमार्ग अन्तरगत एक दर्जनभन्दा बढी अर्थात १५ वटा पक्की पुल बन्ने भएका छन्। राजमार्गको धुलियाबिटदेखि भेडाबारीसम्म १२ वटा र पश्चिम खण्डमा तीन वटा पुल निर्माण हुनेछन्।
सुर्खेतको पश्चिम खण्ड अन्तर्गत विद्यापुर खोला, गुटु खोला र बिउरेनी खोलामा तथा पूर्वी खण्डमा कल्याणको थोत्री खोला, खहरेखोला, गमखोला, चिङगाढ खोला, गंगटेखोला, करैखोला र रतु खोलालगायत विभिन्न खोलामा १२ वटा पुल निर्माण गर्न लागिएको मदन भण्डारी आयोजना निर्देशनालयका इन्जिनियर शिवशरण तिमल्सिनाले बताए। उनका अनुसार चालु आर्थिक वर्षमा सानाठूलागरी १५ वटा पक्की पुल बन्नेछन्। १५ वटै पुल निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढेको छ। १५ वटा पुलमध्ये अधिकांश ठूलाहुन् भने केही साना पनि छन्।
प्राविधिक हिसावले ठूला पुल निर्माण गर्न असम्भव देखिएका खोलामा मात्रै पुल निर्माण गरिनेछ। राष्ट्रिय राजमार्ग भएका कारण बाँकी क्षेत्रमा भने ठूला पुल बन्नेछन्। ‘सुर्खेत खण्डमा १५ वटा पुलको ठेक्का प्रक्रिया टुंगिन लागेको छ’ उनले भने, ‘बाँकी तीन वटा पुलको पनि छिट्टै ठेक्का हुन्छ।’ यो राजमार्गले सुर्खेतमा एक सय २९ किलोमिटर सडक समेट्छ। जसमध्ये जिल्लाको पूर्वमा ३५ किलोमिटर र पश्चिममा ९४ किलोमिटर पर्दछ। पूर्वमा धुलियाबिट–भेडाबारी–बोटेचौर सडकखण्ड र पश्चिममा बड्डीचौर–बेनीघाट सडकखण्ड पर्दछन्। यी दुबै सडक पुराना तर प्राथमिकतामा नपरेका सडक हुन्।
हाल धुलियाबिट–भेडाबारी–बोटेचौर सडकको स्तरोन्नति गर्न थालिएको छ। जसमा सडक नौ मिटर चौडाइसम्म कालोपत्रे गरिनेछ। हाल सडक औसत चार मिटर चौडाइको छ। स्तरोन्नति गर्दा झण्डै ५२ प्रतिशत सडक चौडा हुनेछ। सडकको स्तरोन्नति भएमा पूर्वका नागरिकलाई वीरेन्द्रनगर आउन सहज हुनेछ। २०३२ सालमा ट्याक खुलेको भेडाबारी सडक खण्ड ४६ बर्षसम्म स्तरोन्नति भएको छैन। पूर्वी खण्डमा करिव एक अर्ब रकममा तीन वटा निर्माण कम्पनी (कालीका, केएस र विधान्सी जेभी) ले स्तरोन्नतिको ठेक्का लिएका छन्। त्यस खण्डमा तीन चरणमा काम गर्ने तयारी भइरहेको छ। स्तरोन्नतिको काम अगाडि बढाउन आयोजनाले सुर्खेतमा कार्यालय राखेको छ।
यो राजमार्ग अन्तरगत सुर्खेतको पश्चिम खण्डको स्तरोन्नतिमा भने ढिलाइ भएको छ। प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईइ) हुन नसक्दाँ स्तरोन्नतिमा ढिलाइ भएको हो। ‘पश्चिम खण्ड अझै आइई भएको छैन’ मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका इन्जिनियर जितेन्द्र शाहले भने, ‘आइई तयार भएपछि मात्रै बाँकी काम सुरु हुन्छ।’ आयोजनाले पूर्व र पश्चिम खण्डमा एकैसाथ डीपीआर र आइई थालेको थियो। पश्चिम खण्डको डीपीआर निर्माणकै चरणमा स्थानीयले अवरोध गरेका थिए।
पञ्चपुरीको खम्बागाडे पलैटे, बराइँचे हुँदै बाबियाचौर जोड्नुपर्ने कि खम्बागाडे शिवधाम बाबियाचौर हुँदै बाबियाचौर जोड्नुपर्ने भन्ने विषयमा विवाद भएको थियो। यही विवादका कारण सुरुवातमै वातावरणीय प्रभाव मूल्यांकनको काम प्रभावित भएको थियो। २०५१ सालमा ट्याक खोलिएको पश्चिम खण्ड अहिलेसम्म कालोपत्रेसमेत हुन सकेको छैन।