२७ बैंकको नाफा ३४ अर्ब
काठमाडौं : लगानीयोग्य पुँजी अभावका बाबजुद वाणिज्य बैंकले राम्रै नाफा कमाएका छन्। चालू आर्थिक वर्षको ६ महिनामा बैंकहरूले समग्रमा ३४ अर्ब २० करोड ८५ लाख रुपैयाँ नाफा कमाएका हुन्। गत आवको सोही अवधिमा यो नाफा ३१ अर्ब ७ करोड ३१ लाख ८४ हजार थियो। यो औसत १०.१० प्रतिशत बढी हो। अपेक्षाअनुसार व्यवसाय नबढेपछि समग्र नाफा उत्साजहनक नभएको बैंकरहरू बताउँछन् ।
दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय प्रतिवेदनअनुसार बैंकको नाफा गत वर्षभन्दा ३ अर्ब १३ करोड ५३ लाख रुपैयाँ थपिएको हो। तर, सबै वाणिज्य बैंकले नाफा वृद्धि भने गर्न सकेनन्। यसबीच २१ वाणिज्य बैंकले नाफा बढाउन सफल भए भने ६ वटा बैंकको नाफा घटेको छ।
सर्वाधिक नाफा गर्नेमा तीन वटा वाणिज्य बैंक देखिएका छन्। यसमा ग्लोबल आईएमई, एनआईसी एसिया र नबिल बैंक अग्रस्थानमा छन्। यी बैंकले दुई अर्बभन्दा बढी नाफा गर्न सफल भएका छन्। ग्लोबल आईएमईले पुससम्म २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ।
यो गत वर्षभन्दा १५.०४ प्रतिशतले बढी हो। बंैंकले गत वर्षभन्दा ३४ करोड ८२ लाख ६६ हजार बढी नाफा थपेको छ। अहिलेको कमाइ पहिलो त्रैमासको लगानीको प्रतिफल भएको ग्लोबल आईएमईका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल बताउँछन्।
‘पहिलो त्रैमासमा कर्जा वृद्धि राम्रो भयो। यो त्रैमासमा त्यसको ब्याज आम्दानी पनि बढेका कारण कुल नाफा बढी देखिएको हो,’ उनले भने, ‘प्रतीतपत्र (एलसी) ग्यारेन्टी जस्ता गैरकोषमा लगानी बढी भएकाले यसबापत आम्दानी पनि राम्रै भयो। यसबीच बैंकले कर्जा असुली राम्रो गरेको छ।’ आम्दानीअनुसार खर्च मितव्ययी गरेकाले पनि नाफा बढेको हो।
‘बैंकहरूबीचको प्रतिस्पर्धाले गर्दा ऋणीहरूलाई ब्याजदर कम गरेका छांैं। यस्तोबेला बैंकले जथाभावी नाफा गर्ने कुरा पनि हुँदैन। समग्र कारणले नाफा बढ्यो,’ उनले भने। बैंकहरूले गरेको औसतमा यो नाफा उत्साहजनक नभएको उनको तर्क छ।
समग्रमा बढी नाफा गर्नेमा दोस्रो एनआईसी एसिया बैंक छ। एनआईसीले २ अर्ब ४० करोड २० लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको छ। गत आव २ अर्ब ६ करोड ५ लाख ३७ हजार कमाएको थियो। यो गत वर्षको तुलनामा १६.४७ प्रतिशतले बढेको हो । नबिल बैंकले २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ कमाएको छ। गत वर्ष २ अर्ब १ करोड ६० लाख रुपैयाँ कमाएको थियो। यो गतवर्षभन्दा नाफा ८.२० प्रतिशत बढी हो।
अन्य बैंकले दुई अर्बभन्दा कम नाफा कमाएका छन्। १२ बैंकले एक अर्बभन्दा माथि दुई अर्बभन्दा कम नाफा गरेका छन्। सबैभन्दा कम नाफा गरेको सिभिल बैंकले भने गत वर्षको तुलनामा सबैभन्दा बढी नाफा बढाएको छ। बैंकले १४८.४७ प्रतिशतले नाफा वृद्धि गरेको छ। ३० करोड ११ लाख रुपैयाँ नाफा थप गरेको हो। कोभिडका बाबजुद पनि अघिल्लो वर्षको कर्जावृद्धिले नाफा राम्रो भएको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनीलकुमार पोखरेल बताउँछन्। नाफा वृद्धि गर्नेमा सिद्धार्थ र सेञ्चुरी बैंक पनि छन्। ती बैंकले क्रमशः ७१.६८ र ५४.७७ प्रतिशत वृद्धि गरेका छन्।
यसपटक ६ वटा बैंकको नाफा भने घटेको छ। सन्राइज, प्रभु, नेपाल बंगलादेश र एभरेस्ट बैंकको नाफा वृद्धिमा संंकुचन आएको छ।