उखुबारीमा गाडिएको अवस्थामा शव फेला
विराटनगर: मोरङको धनपालथान ७ स्थित उखुबारीमा दुई दिनमा दुई वटा गाडिएको अवस्थामा शव फेला परेको छ। बुधबार गाडिएको खाल्डोबाट निकालेको शव नजिकै बिहीबार अर्को शव भेटिएको हो।
मोरङ प्रहरीका अनुसार करिब ५० वर्षको पुरुषको शव नुन हालेर गाडेको अवस्थामा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले धनपालथान गाउँपालिका-७ कमलपुर नजिकै रहेको दिलीपप्रसाद सिंहको उखुबारीमा बुधबार उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो भेटाएका थिए।
प्रहरीलाई खबर गरेपछि प्रहरीले खाल्डो खनेर हेर्दा कपडासहित गाडेको अवस्थामा ३५ वर्षको पुरुषको शव भेटिएको थियो। बुधबार राति ९ बजे सो शव निकालेर पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको थियो। सोही राति १५ मिटरको दूरीमा अर्को पनि खाल्डो भेटिएपछि बिहीबार उत्खनन गर्दा शव भेटिएको हो।
प्रहरीका अनुसार शव सडिसकेको हुनाले पहिचान हुने अवस्थामा छैन। नुन हालेर गाडेका कारण शव सडिसकेको प्रहरी उपरीक्षक जिसीले बताए। 'दुवै शवको प्रकृति हेर्दा हत्या गरेर गाडिएको हुनसक्छ,' उनले भने। घटनास्थलमा संघीय प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर ल्याएर घटनास्थलमा थप अनुसन्धान सुरु भएको बताइएको छ।
घटनास्थल बस्तीबाट करिब ५ सय मिटर टाढा पर्छ। एकान्त र उखुबारीको बीचमा भएका कारणले हत्याराले शव गाड्न सहजै सो स्थान प्रयोग गरेको प्रहरीको अनुमान छ। पोस्टमार्टम रिपोर्टपछि घटनाको गहन अनुसन्धान गर्ने प्रहरी जनाएको छ। हालसम्म स्थानीय वा कतै कुनै उजुरी नआएको बताइएको छ।