कोही आएनन् खोज्न, खुलेन पहिचान

कोही आएनन् खोज्न, खुलेन पहिचान

बुटवल/ विराटनगर : रुपन्देहीको देवदहस्थित घोडाहा जंगलमा ‘हत्या’ गरिएको अवस्थामा एक महिला र बालिकाको शव भेटियो। शव भेटिएको चार दिन भयो। तर, पहिचान अझै खुलेको छैन। प्रहरीले सामान्य सुराकसमेत नपाउँदा अनुसन्धानमै अलमल छ।

घाँटी रेटिएको अवस्थामा भेटिएका शवको छेउमा एउटा धारिलो चक्कु थियो। शरीरमा लगाएका कपडा बाहेक उनीहरूको साथबाट कुनै कागजात भेटिएन। ‘न झोला, न मोबाइल। कपडा हेरेर मध्यम आर्थिक अवस्थाको परिवारसम्म होला भन्ने अनुमान छ,’ अनुसन्धानमा खटिरहेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले भने।

शरीरमा लगाएका कपडाको शैली हेर्दा तराई मूलका अझ भारतीय नागरिक हुन भन्ने अनुमान प्रहरीको छ। प्रहरी नायव उपरीक्षक केसी कसरी अपराधी पत्ता लगाउने हैरान भएको बताउँछन्। मोबाइल ‘ट्रयाकिङ’मा हत्या भएको स्थानमा सयौं फोनको ‘लोकेसन’ देखाउँछ। किनभने त्यो स्थान पूर्व–पश्चिम राजमार्गको छेउमै पर्छ। छेउछाउमा सीसीटिभी फुटेज हेर्दै घटनाको विश्लेषण गरिएको छ। राजमार्गमा रोकिएको बसका यात्रुहरू ओर्लिएर खुला शौच गर्न जाँदा माघ ११ गते बिहान साढे १० बजेतिर दुई शव देखिएका थिए। त्यसलगत्तै पुगेको प्रहरीले अहिलेसम्म गरेका सबै अनुसन्धान नतिजा शून्य छन्।

‘भारतीय नागरिक हुन् कि भन्ने अनुमानमा तस्बिरहरू सीमा क्षेत्र र भारतीय सुरक्षाकर्मीसम्म पुर्‍याएका छौं, तर अहिलेसम्म केही अत्तोपत्तो छैन, केसीले भने। प्रहरीले यी दुई शवलाई आमाछोरीको नाता रहेको अनुमान लगाएको छ। अन्दाजी ७ वर्षकी बालिका र ३४ वर्षकी महिलाको सँगै शव भेटिएकाले आमाछोरी हुन् कि भन्ने अनुमान गरिएको केसीको भनाइ छ। उनीहरूको आत्महत्या नभई हत्या नै भएको निष्कर्षमा भने प्रहरी पुगेको छ।

माघ ११ गते शव भेटिएपछि त्यसको १२ घण्टाअघि हत्या भएको अनुमान प्रहरीको छ। घटनास्थलमै आलो रगत देखिएकाले शव फ्याकेको नभई हत्या भएको निष्कर्षमा प्रहरी छ। राजमार्गदेखि नजिकै रातिको समयमा हत्या हुनुले घटनास्थलतर्फको भूगोल नबुझेको बाहिरी मुलुकको नागरिक हुनसक्ने प्रहरीको अर्काे अनुमान छ। सामान्य प्रमाणसमेत नभेटिएकाले सबै अनुसन्धान र खोजी अनुमानकै भरमा गर्नुपरेको उपरीक्षक केसीले बताए। 

प्रहरीले शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखेको छ। केही दिन आफन्त सम्पर्कमा आउँछन् कि भन्ने आँकलनले शवको पोष्टमार्टम पनि गरिएको छैन। एकाध दिनमै पोष्टमार्टम गरेर नाता प्रमाणितका लागि डीएनए परीक्षणमा पठाइने प्रहरीको भनाइ छ। सडकभन्दा २५ मिटर टाढाको दूरीमा भेटिएकी महिलाले रातो ब्लाउज र रातो ज्याकेट लगाएकी छन्। त्यस्तै बालिकाको शरीरमा नीलो पाइन्ट, गुलाबी रंगको लेडिज सेन्डल र पहेंलो छिर्केमिर्के सर्ट लगाएको देखिन्छ। उनले रातो टोपी पनि लगाएकी छन्। प्रहरीले उनीहरूका आफन्तको खोजीका लागि हुलिया सातै प्रदेशदेखि भारतसम्म पठाएको छ। तर, कतैबाट कुनै जानकारी आएको छैन। प्रहरीले नेपाल–भारत सबै ठाउँमा उनीहरूका तस्बिरसहित सूचना पठाएकाले केही दिनमै केही जानकारी आउनसक्ने आशा गरेको छ।

उखुबारीमा दुईवटा शव फेला
मोरङको धनपालथान–७ को उखुबारीमा दुई दिनमा २ वटा गाडिएको अवस्थामा शव फेला परेको छ। 

बुधबार गाडिएको खाल्डोबाट निकालेको शव नजिकै बिहीबार अर्को शव भेटिएको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बुधबार करिब ५० वर्षको पुरुषको शव नुन हालेर गाडेको अवस्थामा फेला परेको थियो।  

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार धनपालथान गाउँपालिका–७ कमलपुर नजिकै रहेको दिलीपप्रसाद सिंहको उखुबारीमा उखु काट्ने क्रममा स्थानीयले पुरेको अवस्थामा खाल्डो भेटाएका थिए। प्रहरीलाई खबर गरेपछि खाल्डो खनेर हेर्दा कपडासहित गाडेको अवस्थामा  ३५ वर्षको पुरुषको शव भेटिएको थियो।

बुधबार राति ९ बजे सो शव निकालेर पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको थियो। सोही राति १५ मिटरको दूरीमा अर्काे पनि खाल्डो भेटिएपछि बिहीबार उत्खनन गर्दा शव भेटिएको हो। बिहीबार भेटिएको शव सडेको हुनाले पहिचान हुने अवस्थामा छैन। नुन हालेर गाडेका कारण शव सडिसकेको प्रहरी उपरीक्षक जिसीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.