कार्यसम्पादन समिति बनाउँदै कांग्रेस
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि केन्द्रीय कार्यसमितको तेस्रो बैठक बस्ने भएको छ। सभापति शेरबहादुर देउवाले शुक्रबार बस्ने बैठकमा कार्यसम्पादन समिति गठन गर्ने प्रमुख एजेन्डा अगाडि सार्ने सचिवालयले जनाएको छ। कांग्रेसले पहिलोपटक भर्चुअल माध्यमबाट केन्द्रीय समितिको बैठक गर्न लागेको हो। बैठकले कार्यसम्पादन समितिलाई पूर्णता दिने महामन्त्री गगन थापाले बताए।
कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय छ। मनोनित गर्न पाउने ३३ सदस्यमध्ये सभापति देउवाले १३ जना मात्र मनोनित गरेका छन्। अझै २० जना मनोनित गर्न बाँकी छ। सभापति देउवाले पदाधिकारीमध्ये कोषाध्यक्ष र पार्टीको प्रवक्ता पनि मनोनित गर्न बाँकी छ। कांग्रेसले १६ जिल्लाको जिल्ला अधिवेशन पनि स्थगित गरेको छ। अधिवेशन बाँकी रहेका जिल्लामा अधिवेशन गर्ने भन्ने एजन्डामाथि पनि छलफल यस बैठकमा हुने पार्टी उपसभापति धनराज गुरूङले बताए।
लामो समयदेखि भातृसँगै शुभेच्छुक संस्थाको पनि अधिवेशन भएको छैन। कांग्रेसका एक नेताले भातृ संस्थाहरू नेपाल तरूण दल, नेविसंघ, मुस्लिम संघलगायतका सभापतिहरू पार्टीको केन्द्रीय सदस्यमा पनि निर्वाचित भएका छन्। कांग्रेसको विधानअनुसार केन्द्रीय सदस्य भएपछि भातृ संस्थाका पद स्वतः खारेज हुन्छन्।
गुरुङका अनुसार स्थानीय तहको चुनाव पहिला गर्ने कि संसदीय चुनाव भन्ने विषयमा पनि कांग्रेसभित्रै विचार बाझिएको छ। सभापति देउवा र डा. शेखर कोइराला पक्षका नेता वैशाखमै स्थानीय तह निर्वाचन हुनुपर्ने बताएका छन्।
अर्कोतिर सत्तागठबन्धनका नेता भने स्थानीय निर्वाचन ऐन र संविधानको व्यवस्था बाझिएकोले ऐन संशोधन गर्दै स्थानीय तह चुनाव पर धकल्ने तयारीमा छन्। त्यस्तै, महाधिवेशनमा सहभागी भएका र सहभागिता नै नजनाएका कांग्रेसका शीर्ष नेताहरूलाई समेत समेटेर कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेको छ। देउवाले कार्यसम्पादन समितिमा शीर्ष नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. नारायण खड्का, विजयकुमार गच्छदार, प्रकाशशरण महतलगायतका नेतालाई कार्यसम्पादन समितिमा देउवाले समेट्ने भएका छन्। कांग्रेसको विधानअनुसार कार्यसम्पादन समितिमा पदाधिकारी १४ जना, पार्टीका प्रवक्ता र सभापतिले समावेशी सिद्धान्तमा आधारित भएर केन्द्रीय कार्यसमितिका ३१ जना सदस्यलाई मनोनीत गर्न प्रस्ताव गर्ने व्यवस्था छ।
के हो कार्यसम्पादन समिति ?
केन्द्रीय समितिको बैठक बस्न नसक्ने अवस्थामा तात्कालीन निर्णय कार्यसम्पादन समितिले गर्छ। संसदीय दलका विषय कार्यसम्पादन समितिसँग छलफल गर्नेछ। कांग्रेसभित्रका झन्डै ५० विभागहरूको काम समीक्षा गर्छ। केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठकबीचमा कार्यसमितिले गर्नुपर्ने काम केन्द्रीय कार्यसम्पादन समितिले गर्नेछ। त्यसो त समितिले गरेका निर्णयहरू समितिबाट अनुमोदन हुनुपर्ने विधानको व्यवस्था छ।