बढ्यो घरेलु हिंसा

बढ्यो घरेलु हिंसा

काठमाडौं : सातदोबाटो बस्ने ३५ वर्षीया महिला ललितपुर प्रहरी परिसरको महिला सेलमा भेटिइन् । उनका श्रीमान्ले पछिल्लो केही वर्षदेखि राति घरमा नआउने, आउँदा मदिराले मातेर आउने, कुटपिट गर्ने, यातना दिने र घरखर्च पनि नदिने गर्न थालेपछि उनी प्रहरीमा आएकी थिइन् । अनुसन्धानका क्रममा उनका श्रीमान् एक युवतीको प्रेममा परेको र कमाएको रकम जति ती युवतीलाई दिने गरेको खुल्यो । यस्तै, लाखौं रुपैया खर्चेर दुई वर्षअघि विहे गरेकी सर्लाहीकी २१ वर्षीया युवती पटक–पटक दाइजोकै बहानामा कुटिन थालिन् । सामान्य परिवारकी ती युवतीलाई उनका श्रीमान्, सासू र देवरले कहिले सुन त कहिले मोटरसाइकल ल्याउन भन्दै यातना दिन्थे । 

महानगरीय प्रहरी वृत कालीमाटीस्थित महिला सेलमा विभिन्न खाले उजुरी लिएर आएकाहरू भीडभाड थियो । कोही लिभिङ टुगेदरमा बसेर विहेको प्रलोभन पारेर यौनशोषण गरेको भन्दै जाहेरी लिएर आएका थिए त कोही श्रीमान्ले घरबाट निकाला गरेको सुनाउँदै थिए । धेरैजसो जाहेरी पतीपत्नीबीचको घरायसी झगडा र घरेलु हिंसा नै थियो । तीमध्ये एक महिला श्रीमान्ले कुटपिट गर्ने गरेको र परस्त्रीसँग सम्बन्ध राखेको भन्दै महिला सेल प्रमुख अनु लामालाई बताउँदै थिइन् । 

लामाका अनुसार महिलाले जघन्य अपराध गरेका मुद्दा भने यो सेलमा दर्ता हुँदैन । उनले भनिन्, ‘खान लाउन नदिएको, मानसिक तनाव, कुटपिट र विहे दर्ता नगरिदिएको, नागरिकता नबनाइदिने, बच्चाको जन्मदर्ता नै नगरिदिने जस्ता मुद्दा लिएर पनि महिलाहरू आउने गर्छन् ।’ कालीमाटीको महिला सेलका अनुसार दैनिक १२–१५ वटा मुद्दा दर्ता हुन्छ । जसमध्ये आधाभन्दा बढी विवाहइत्तर सम्बन्धकै हुने गरेको गर्छन् । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले पछिल्लो समय महिलामाथि घरेलु हिंसाका घटना बढिरहेको बताइन् । ‘घरेलु हिंसा पूर्ण रूपमा निर्मूल पार्न सकिएको छैन ।’ उनले भनिन्, घरभित्रै आफ्नाबाट महिलामाथि हुने हिंसाको संख्या वृद्धि भइरहेको छ ।’

नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीका अनुसार पछिल्ला केही वर्षमा छोरा नपाएको बहानामा कुटपिट, हेला गर्ने, दाइजोको बहानामा यातना दिने, यौन शोषण गर्ने, वैवाहिक बलात्कार जस्ता घटनामा वृद्धि भएका छन् । समयसँगै महिलाको भूमिका परिवर्तन भए पनि लैंगिक रूपमा हुने विभेद र हिंसा घट्न नसकेको मानव अधिकार आयोगकी सदस्य लिलि थापा बताउँछिन् । सर्वोच्च अदालतले स्थापना गरेको नजीर पनि कार्यान्वयन हुन सकिरहेको छैन । महिलाको पक्षमा भएको कानुन अत्यन्तै राम्रो भए पनि कानुन कार्यान्वयनको पाटो भने महिलामैत्री हुन नसकेको उनले दाबी गरिन् । 

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा महिला तथा बालबालिकाविरुद्ध भएका अपराधको संख्या ५१ हजार २ सय ५८ छ । यही अवधिमा आव २०७५/७६ मा १४ हजार ७७४, आव २०७६/७७ मा ११ हजार ७३८ र आव  २०७७/७८ मा १४ हजार २३२ घरेलु हिंसाका घटना भएका छन् । त्यस्तै, २०७८ को साउनदेखि कात्तिकसम्म ४ महिनामा ६ हजार २ वटा घरेलु हिंसाका घटना भएको छ । 

यस्तै, राष्ट्रिय महिला आयोगका अनुसार महिला आयोगको टोल फ्रि नम्बर ११४५ मा पछिल्लो ५ वर्षमा १५ हजार ५४७ वटा महिला हिंसाका उजुरी प्राप्त भएको छ । जसमध्ये ५ हजार ५१५ वटा दर्ता भएका घटनाका समाधान भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.