मृत्युपछि जन्मकैद
दैलेख : जिल्लामा एक व्यक्तिको मृत्यु भयसकेपछि जन्मकैदको सजाय तोकिएको छ। कर्तव्यज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो।
अदालतले डुङ्गेश्वर गाउँपालिका–२ की त्यसबेला २५ वर्षीया डिलकुमारी बिकलाई हत्या गरेको कसूरमा ती व्यक्तिलाई उक्त सजाय तोकेको हो। जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले कसूरदार डुंगेश्वर गाउँपालिका–१ बेलपाटाका शेरबहादुर बिष्टलाई २० वर्ष जन्मकैद गरेको अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए। अदालतले विष्टलाई जीवित छँदा गरेको अपराधको भागीदार ठहर गरेको हो।
जीवित छँदा गरेको अपराधमा सजाय गर्नु परे पनि ‘अपराधीको मृत्युसँगै अपराध पनि मर्दछ’भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त अनुसार सजाय असुल गर्न नपर्ने ठहर्ने फैसलामा व्याख्या गरिएको छ। २१ वर्ष अघि ०५७ फागुन २६ गते बलात्कारपछि हत्या गरेको भन्ने आरोपमा ०७७ पुस ३ गते जिल्ला अदालतमा दर्ता भएको अभियोगमा मुद्दाको तहकीकात चलिरहेकै बेला बिष्टको ७५ वर्षको उमेरमा २०७८ जेठ २८ गते मृत्यु भएको थियो।
घटनाको भोलिपल्टदेखि नै फरार भएका बिष्ट सिकिस्त बिरामी अवस्थामा २०७७ असोजदेखि सुर्खेतमा बस्दै आएका थिए। सुर्खेतमा छन् भन्ने जानकारी पाएपछि उमेरले बुढो र बिरामी पनि भएकोले प्रहरीले फरारको सूचीमा राखेर अनुसन्धान गरेको थियो। उनी छिमेकी जिल्लामा बस्दै गरेका भन्ने जानकारी र घटनाको २० वर्ष पुग्न लागेको कारण जनाउँदै प्रहरीले मुद्दा जगाएर बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकील कार्यालयले २०७७ पुस ३ गते जिल्ला अदालतमा कर्तव्य ज्यान सम्वन्धी अभियोग दर्ता गराएको थियो।
घटना हुँदा ५४ वर्ष उमेरका बिष्ट त्यस लगतै फरार रहेका, सधैं मदिरा सेवन गरिरहने, महिलाहरुसँग जिस्किने स्वभाव भएका कारण बलात्कारपछि कसूरदार बिष्टले नै मृतक डिलकुमारी बिकलाई हत्या गरेको हुनसक्ने प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ। चुप्रा बजारमा चामल किनेर घर फर्किने क्रममा साँझ पानी पीउन भनी बाटोमा पर्ने उनै बिष्टको घरमा केही समय रोकिएकी डिलकुमारी तीन दिनपछि बिष्टको घर नजिकै सेरा खोल्सामा खिर्रोको रुखमा नाम्लोले झुण्ड्याएको अवस्थामा फेला परेकी थिइन्। घटनापछि बिष्टले नै हत्या गरेको भन्दै श्रीमान् जीतबहादुर बिकले प्रहरीमा जाहेरी दिएका थिए। हत्या गरिएको भनिएकी डिलकुमारी बिक उतिबेला २५ वर्षकी थिइन्।
प्रहरीले चासो नदेखाएको कारण कसूरदारलाई जीवित छँदै पक्राउ गरेर सजाय गर्न नपाएको डिलकुमारीका श्रीमान् जीतबहादुर बिक बताउँछन्। ‘कसूरदार मरिसकेपछि पनि कैद सजाय भएको सुन्दा अदालतप्रति धन्यवाद दिनैपर्यो तर ऊ जीवित छँदै कैद भएको भए कति खुशी हुन्थ्यौँ’, बुहारी राधा बिकले भनिन्।
मुद्दाको तहकीकात चलिरहेको बेला कसूरदारको मृत्यु भएको अवस्थामा पनि जीवित छँदा गरेको अपराधको सजायको भागीदार हुनुपर्ने भन्दै जाहेरवालाकातर्फबाट जिल्ला सरकारी वकिल कार्यालय दैलेखका सहायक जिल्ला न्यायाधिवक्ता रुक्मेडा पोखरेलले बहस गरेकी थिइन्। अपराध हुँदाको कानून अनुसार सजाय गर्नुपर्ने कानूनी अभ्यास अनुसार मुलुकी ऐन २०२० ज्यान सम्बन्धी महलको १३ (३) अनुसार २० वर्ष कैद गरिए पनि मुलुकी ऐनको १७६ नं. बमोजिम फैसला नहुँदै अभियुक्तको मृत्यू भए सजाय भोगिरहन नपर्ने उल्लेख गरिएको छ।