३ वर्षपछि विमलको गोल

३ वर्षपछि विमलको गोल

काठमाडौं : अफ्रिकी राष्ट्र मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालले मौरिससलाई १–० गोलले पराजित गरेको हो।

नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए। विमलले खेलको ५५औं मिनेटमा निर्णायक गोल गरेका हुन्। तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरेका हुन्। अञ्जन विष्टको लामो पासमा अफसाइट बिट गर्दै विमलले गोल गरेका थिए। राष्ट्रिय जर्सीमा उनको यो नवौं गोल हो।

विमलले अन्तिम पटक सन् २०१९ मा बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपमा घरेलु टोली बंगलादेशविरुद्ध गोल गरेका थिए। विमलले अन्तिम पटक सन् २०१९ को नोभेम्बरमा म्यानमारविरुद्ध खेलेका थिए। केही समय प्रतिबन्ध र त्यसपछि चोटका कारण उनी तीन वर्ष राष्ट्रिय टोलीमा अटाउन सकेका थिएनन्। घुँडाको शल्यक्रिया गरेपछि विमल पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन्। मौरिससविरुद्ध विमलसँगै जगजित श्रेष्ठ र देवेन्द्र तामाङले पनि पुनरागमन गरेका थिए। जगजित पाँच वर्षपछि नेपालको जर्सीमा मैदान उत्रिएका हुन्। उनले पछिल्लो पटक सन् २०१७ मा २०१९ को एसियन कप क्वालिफयर खेलेका थिए। देवेन्द्र सन् २०१५ पछि राष्ट्रिय टोलीमा फर्किएका हुन्।

नेपालले करिब एक दशकपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकालेको हो। नेपालले सन् २०११ देखि कुनै पनि मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न सकेको थिएन। नेपालले लगातार २३ खेलको जितविहीन मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा पनि पूर्ण विराम लगाएको छ। यसैगरी दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले जित हात पारेको पनि पहिलो पटक हो। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पनि दशरथ रंगशालामा जित आत्मसाथ गरेको यो पहिलो पटक हो। 

नेपालले सुरुबाटै आक्रामक खेल पस्किएको थियो। मुख्य प्रशिक्षक अलमुताइरीले तीन स्ट्राइकरलाई मैदान उतारेका थिए। खेलको १४औं मिनेटमा सुमन लामाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको सशक्त प्रहार पोस्ट्माथिबाट बाहिरिएको थियो। ३२औं मिनेटमा सुमनको अर्को प्रहार पनि आकासिएको थियो। ४१औं मिनेटमा देवेन्द्र तामाङको हेड बलले पनि पोस्ट्को दिशा लिन सकेन। खेलको ४५औं मिनेटमा अञ्जन विष्टले सुनौलो अवसर खेर फालेका थिए। वान भर्सेस वानको अवस्थामा उनी चुकेका थिए। ७५औं मिनेटमा जगजित श्रेष्ठको फ्रिकिकमा अञ्जनको हेड बल पोस्ट्मा लागेर बाहिरिँदा नेपाल अग्रता दोब्बर बनाउनबाट चुकेको थियो।  

मौरिससले पनि केही राम्रा अवसर खेर फालेको थियो। २२औं मिनेटमा स्टेभन नाजिरको प्रहारलाई नेपालका गोलरक्षक किरण चेम्जोङले विफल पारेका थिए। ४६औं मिनेटमा फेर्नान्डो ज्याक्सनको प्रहार पोस्ट्मा लागेर फर्किकिँदा मौरिसस निरास बन्न पुगेको थियो। शनिबार नेपालका सुदीप गुरुङ र आकाश बुढा मगरले डेब्यु गरेका थिए। सुदीप र आकाश ‘ए’ डिभिजन क्लब सातदोबाटो युथ क्लबका खेलाडी हुन्। सुदीप ८५औं मिनेटमा सुरज ठकुरी र आकाश इन्जुरी समयमा तेज तामाङको स्थानमा मैदान छिरेका थिए। शनिबारको खेलमा विमल घर्तीमगर प्लेयर अफ दी म्याच चुनिए। नेपालले पहिलो पटक अफ्रिकी राष्ट्र मौरिसससँग मैत्रीपूर्ण खेल खेलेको हो। नेपाल र मौरिसससँगको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ।

खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीले उत्कृष्ट खेलेको बताए। ‘शारीरिक रुपमा मौरिसस उत्कृष्ट भए पनि टेक्निकल रुपमा हामी अगाडि रह्यौं’, अलमुताइरीले भने, ‘यो जितले खेलाडीको मनोबल निकै बढेको छ।’ मौरिससका मुख्य प्रशिक्षक मारिइ पास्कल टोनीले साढे दुई वर्षपछि मैदान उत्रिएका कारण तालमेलमा कमी देखिएको बताए। ‘शारीरिक रुपमा हामी राम्रो भए पनि गोल गर्न सकेनौं’, उनले भने, ‘हाम्रा चार महत्वपूर्ण खेलाडीले खेल्न नपाउँदा पनि समस्या भयो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.